पाल्पा । पछिल्लो २४ घण्टामा थप ७ सय ४८ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई प्राप्त विवरण अनुसार देशका विभिन्न अस्पताल तथा आइशोलेसन सेन्टरबाट ७ सय ४८ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका हुन् । यो सहित हालसम्म कोरोना जित्नेको संख्या २ लाख ५३ हजार १ सय ७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार निको हुनेको दर ९७ प्रतिशत हो ।
यस्तै शुक्रबार थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १८ सय ६४ पुगेको मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा थप ४ सय २६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएको छ । १ सय ५३ महिला र २ सय ७३ पुरुषमा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सहित कोरोना संक्रमितको संख्या २ लाख ६१ हजार १९ पुगेको छ । मन्त्रालयका अनुसार गत २४ घण्टामा ५ हजार २ सय २५ स्वाब नमूना परीक्षण गरिएकोमा ४ सय २६ जनामा कोरोना संक्रमण देखिएको हो । कोरोनाका गम्भीर २ सय ३४ जना आइसीयुमा र ३५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । देशभर सक्रिय संक्रमितको संख्या भने ६ हजार ४८ रहेको छ । यस्तै अहिले ३ सय ६७ जना क्वारेन्टिन र ६ हजार ४८ आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।