पाल्पा । जिल्लामा थप एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । तानसेन नगरपालिका–३ बसन्तपुर बस्दै आएकी ६० वर्षीया महिलाको कोरोनाका कारण मृत्यु भएको हो ।
श्वासप्रश्वासमा समस्या र अत्यधिक ज्वरो आएरपछि तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उपचारका गराइरहेकी ति महिलाको शनिबार मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिए । उनको शनिबार स्वाब परीक्षणका लागि पाल्पा पिसिआर प्रयोगशाला पठाइएको थियो । रिपोर्ट भने आइतबार मात्र आएको थियो । योसँगै तानसेनमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ८ पुगेको छ । अहिलेसम्म जिल्लाका तानसेन सहित ९ स्थानीय तहका ३२ जनाको कोरोनाबाट मृत्यु भएको हो । स्वास्थ्य कार्यालयको तथ्यांक अनुसार तानसेन तथा तानसेन भित्रका अस्पतालमा ९ जना, माथागढीका ३ जना, रामपुरका ४ जना, पूर्वखोलाका ४ जना, रैनादेवी छहराका १, बगनासकालीका ७, तिनाउका २ र रिब्दीकोटका १ जनाको कोरोनाका कारण मृत्यु भइसकेको छ । १० स्थानीय तहमध्ये निस्दीमा भने कोरोनाको कारण मृत्यु भएको तथ्याड्ढ छैन ।
यस्तै जिल्ल्लामा शनिबार र आइतबार गरी थप ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । तानसेन नगरपालिकाभित्रका २ जना, माथागढीका १ जना, रामपुरका २ जना र बगनासकालीका ३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ । योसंगै पाल्पामा संक्रमितको संख्या १ हजार ८ सय २९ पुगेको छ । तिमध्ये १ हजार ७ सय २५ जना निको भएका छन् । हाल ७२ जना सक्रिय संक्रमित छन् । त्यस्तै समुदायस्तरका १ हजार २० जना र ८५ जना स्वास्थ्यकर्मीमा संक्रमण देखिएको स्वास्थ्य कार्यालयको तथ्याड्ढमा छ ।