Shittalpati
लक्ष्मी सहकारीद्वारा मृतक शेयर सदस्यको परिवारलाई राहत रकम

पाल्पा, लक्ष्मी बचत तथा ऋण सहकारी संस्था तानसेनले मृत्यु भएका शेयर सदस्यको परिवारलाई राहत रकम प्रदान गरेको छ । सहकारीले शेयर सदस्य तानसेन टक्सारटोल निवासी रामकुमारी दमेनीको उपचारका क्रममा एक महिना अघि मत्यु भएपछि उनको परिवारलाई दश हजार राहत स्वरुप रकम प्रदान गरेको हो । सहकारीले सदस्यहरुको दुःखमा सहकारीसंगै भएको प्रत्याभूति दिलाउन मृतक सदस्यकाहरु छोराहरु शुकलाल र दिपक दर्जीलाई राहत रकम प्रदान गरेको छ । सहकारीका अध्यक्ष हरि रायमाझीले उक्त राहत रकम परिवारलाई प्रदान गरेका हुन ।

राहत रकम प्रदान गर्दै अध्यक्ष रायमाझीले मृत्युलाई रोक्न नसकिए पनि मृत्युपछिको परिवारको पीडा कम गर्न मृत्यु राहत कोषमार्फत रकम प्रदान गरिएको बताए । उनले दैविक विपदका साथै घटनामा परेकालाई सधैँ सहयोग गर्ने कार्यलाई निरन्तरता दिदै जाने बताए । राहत रकम बुझेपछि मृतकका छोराहरु शुकलाल र दिपकले दुःखको अवस्थामा पनि सहकारीले देखाएको सहयोग र सद्भावले आफुहरु एक्लो नभएको महशुस गराएको बताए । रामकुमारीले लक्ष्मी सहकारीमा २०७० फागुन २२ गते शेयर सदस्यको रुपमा सदस्यता लिएकी थिईन । सहकारीले विभिन्न समयमा दुर्घटनामा परी मृत्यु भएका शेयर सदस्यका परिवारलाई बीमा रकम समेत हस्तान्तरण गर्दै आएको छ । वित्तीय सेवा प्रदान गर्दै आएको सहकारीले समय–समयमा सामाजिक कार्यहरु समेत गर्दै आएको छ ।

प्रकाशित मिति: मंगलबार, माघ २८, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update