Shittalpati
हिमालय माविले मनायो ५९ औं वार्षिक उत्सव, खत्री सहित पाँच शिक्षक सम्मानित

गुल्मी । हिमालय माविले ५९ औं वार्षिककोत्सव तथा अभिभावक दिवस मनाएको छ । विद्यालयले विविध कार्यक्रमहरुको आयोजना गरी वार्षिककोत्सव मनाएको हो । वार्षिक उत्सवका अवसरमा विद्यालयले सेवा निवृत्त र उत्कृष्ट कार्यसम्पादन गरेका शिक्षकहरुलाई सम्मान गरेको छ । कार्यक्रममा विद्यालय स्तरीय परीक्षाहरु कुशल व्यवस्थापनका साथै परिस्कृत ढङ्गबाट सञ्चालन गरेको भन्दै विद्यालयले शिक्षक एवं परीक्षा संयोजक मन बहादुर खत्रीलाई सम्मान गरेको हो । खत्रीले विद्यालयमा सञ्चालित परीक्षाहरुलाई व्यवस्थित र स्तरीकरण गर्दै शैक्षिक गुणस्तर वृद्धिमा इटा थप्ने काम गर्दै आएका छन् ।

त्यस्तै गरी विद्यालयले सेवा निवृत्त पूर्व प्रधानाध्यापक एवं शिक्षक मिनबहादुर कुँवर र पूर्व शिक्षक लक्ष्मण केसीलाई सम्मान सहित विदाइ गरेको छ । कार्यालय सञ्चालन र लेखा, कृषि, अंग्रेजी र गणित विषयमा उत्कृष्ट नतिजा ल्याउन सफल शिक्षकहरुलाई पनि विद्यालयले सम्मान गरेको हो । सम्मानित हुनेहरुमा मणिराज दवाडी, भुवन श्रेष्ठ, गंगाराम भण्डारी र बालकृष्ण बस्नेत रहेको विद्यालयले जनाएको छ ।

कार्यक्रममा प्रमुख अतिथि तथा इस्मा गाउँपालिकाका अध्यक्ष लक्ष्मण विष्टले सम्मानित शिक्षकहरुलाई बधाई तथा शुभकामना व्यक्त गर्दै गुणस्तरी शिक्षाका लागि असल शिक्षकहरुको भूमिका महत्वपूर्ण रहने बताए । उनले वर्तमान आवश्यकता व्यसायिक र प्राविधिक शिक्षा रहेको भन्दै त्यसतर्फ ध्यान दिन विद्यालयलाई आग्रह गरे । कार्यक्रममा विशिष्ट अतिथी इस्मा गाउँपालिका १ हस्तिचौरका वडा अध्यक्ष चुरा बहादुर खत्री,३ का वडा अध्यक्ष तोयनाथ शर्मा सापकोटा, कृष्ण रायमाझी, नाराण कुँवर, चाम कुमार सुनार, बैकुण्ठ कुँवर ,गुणाखर अर्याल, पुर्व प्रधानाध्यापक मिन बहादुर कुँवर लगायतले आ–आफ्ना धारणा राखेका थिए । सोही अवसरमा रत्न बहादुर बस्नेत अक्षय कोष, स्वर्गीय लोक बहादुर कुँवर स्मृति अपाङ्ग अक्षय कोष, चुरा बहादुर खत्री असहाय अक्षयकोषबाट विद्यार्थीहरुलाई छात्रवृत्ति समेत वितरण गरिएको थियो ।

कार्यक्रममा शिक्षक डालिमा कुँवर र विद्यार्थी कल्पना घर्तीको नेतृत्वमा सचेतना मुलक नाटक प्रस्तुत गरिएको विद्यालयले जनाएको छ । प्रधानाध्यापक दधिराम पन्थीले प्रधानाध्यपकको प्रतिवदेन, लेखापाल प्रेम खत्रीले आर्थिक प्रतिवेदन कार्यक्रममा प्रस्तुत गरेका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष द्रोण बहादुर कुँवरको अध्यक्षता,सहायक प्रधानाध्यापक जगत बहादुर खत्रीको स्वागत,शिक्षक मन बहादुर खत्रीको सञ्चालनमा कार्यक्रम भएको थियो ।

.

 

 

 

प्रकाशित मिति: मंगलबार, माघ २८, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update