पाल्पा । माछापुच्छ्रे बैंकले जिल्लाको रिब्दीकोट गाउँपालिका ७ मैनादीमा रहेको प्रभात माध्यमिक विद्यालयलाई आर्थिक सहयोग गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बाल उद्यान तथा खेलकूद सामग्रीका लागि पाँच लाख आर्थिक सहयोग गरेको हो ।
शुक्रबार काठमाडौंमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा, उपकार्यकारी प्रमुख सन्तोष कोइरलाले संयुक्त रुपमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डुलबहादुर कुंवरलाई पाँच लाखको चेक हस्तान्तरण गरेका थिए । चेक हस्तान्तरण गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत शर्माले विद्यार्थीहरुको शैक्षिक विकास सँगसँगै खेलकुद क्षेत्रको विकासमा समेत टेवा पुग्ने भएकाले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत आर्थिक सहयोग गरिएको बताए । विद्यालय व्यवस्थापन समितका अध्यक्ष कुंवरले बैंकले विद्यालय प्रति देखाएको सहयोग र सद्भावको प्रशंसा गर्दै धन्यवाद व्यक्त गरे । विद्यालयले समय सापेक्ष शिक्षा प्रदान गर्दै आएकाले अझ शिक्षा र खेलकुद क्षेत्रलाईलाई गुणस्तरीय र प्रभावकारी बनाउन बंैकले प्रदान गरेको आर्थिक सहयोगले महत्वपूर्ण भूमिका खेल्नेमा अध्यक्ष कुंवरले विश्वास व्यक्त गरे । नेपाल राष्ट्र बैंकका गभर्नर डा.चिरञ्जीवी नेपालको पहलमा सहयोग प्राप्त भएको विद्यालयले जनाएको छ । विद्यालयले जिल्लामै विगत चार वर्षदेखि कृषि तर्फको प्राविधिक शिक्षा सञ्चालन गर्दै आएको छ । जिल्लामै राम्रो नतिजा दिन सफल भएको विद्यालयमा मावि तर्फ दुई सय जना र प्राविधिक धारतर्फ ४० जना विद्यार्थीहरुले अध्ययन गर्दै आएका छन् ।