Shittalpati
बर्डफ्लूबाट जोगिन उच्च सर्तकता

पछिल्लो समय भारतका विभिन्न स्थानमा बर्डफ्लू संक्रमण पुष्टि भएको छ । भारतमा बर्डफ्लू देखिएपछि नेपालमा पनि त्यसको संक्रमण देखिने सम्भावना प्रवल रहेको विज्ञहरुले बताउँदै आएका छन् । भारतमा बर्डफ्लू संक्रमण पुष्टि भएसँगै विशेषगरी तराईका क्षेत्रमा उच्च सतर्कता आपनाउन कृषि तथा पशुपन्छी मन्त्रालयले आग्रह पनि गरेको छ । मन्त्रालयले मातहतका सातवटा सीमा नाका कार्यालयलाई पत्र पठाउँदै उच्च सतर्कता अपनाउन निर्देशन दिएको छ । नेपालमा यसको उच्च जोखिम रहेकाले पनि मन्त्रालयले कुखुराजन्य वस्तुको आयातमा रोक लगाउँदै उच्च सतर्कता अपनाउन नाकामा रहेका क्वारेन्टाइन कार्यालयलाई तत्काल निर्देशनको दिएको हो । मन्त्रालयको यो कदमलाई मुक्तकण्ठले प्रशंसा गर्नुपर्दछ । रोग लाग्नु भन्दा पहिले नै सावधानी अपनाउनु आफैमा महत्वपूर्ण र जायज पनि हो ।

नेपालमा भारतको हिमाञ्चल प्रदेशबाट बर्डफ्लू भित्रने सम्भावना उच्च रहेको छ । संक्रमणलाई ध्यानमा राख्दै केही समय हिमाञ्चलसँगै भारतबाट भित्रिने कुखुराजन्य प्रजातिका वस्तुको आयातमा रोक लगाइएको थियो । तर खुला सीमानाका हुँदा सीमाभन्दा बाहिरबाट समेत कुखुरा भित्रने सम्भावना उच्च रहेकाले पनि नेपालमा यसको जोखिम अत्यन्त उच्च देखिन्छ । एभियन इन्फ्लुएन्जा वा एभियन फ्लुलाई बर्डफ्लु भनिन्छ । यो रोग विशेष गरी चरा प्रजातिबाट फैलिने गर्दछ । संक्रमित वा मरेको कुखुराको सम्पर्कमा रहँदा मानिसलाई सर्ने खतरा बढी हुन्छ । बर्डफ्लूमा एच फाइभ एन वान नामक भाइरस हुने गर्दछ । यसबाट जोगिन नियमित साबुन पानीले हात राम्रोसँग धुने, आफ्नो वरिपरीको वातावरण सफा राख्ने, बिरामी तथा मरेका कुखुरा तथा चराचुरुङ्गीबाट टाढा रहने, प्रत्यक्ष सम्पर्क भएका बिरामी व्यक्तिहरू तथा चराहरू नजिक देखिए वा आफूलाई बिसञ्चो महससु भएमा छिटो उपचारको लागि नजिकको स्वास्थ्य संस्थामा जानु पर्दछ । बच्चाहरूलाई मृत वा बिरामी पन्छीबाट टाढा राख्नुपर्दछ । कम्तीमा पनि हातमा पञ्जा, मुखमा मास्क वा रुमाल तथा एप्रोन लगाएर मात्र मासुको काम गर्दा यस रोगको जोखिम कम गर्न सकिन्छ । मासु काटिसकेपछि हात राम्रोसँग साबुन पानीले सफा गर्ने, मासु तयार गर्दा प्रयोग गरिएका भाँडाकुँडा, औजार, अचानोलाई राम्रोसँग सफा गरी निर्मलीकरण तथा निसंक्रमण गर्न जरुरी छ । कुखुराको मासु राम्ररी पकाएर खानु पर्दछ । कम्तीमा ७० डिग्री सेल्सियस तापक्रममा मासु पकाउँदा बर्डफ्लूको भाइरस मर्छ । तसर्थ यि कुरामा उच्च सर्तकता अपनाउन सके यसको जोखिमबाट बच्न सकिन्छ ।

प्रकाशित मिति: आइतबार, पुस २६, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update