Shittalpati
आज राष्ट्रिय योग दिवस मनाइँदै

पाल्पा, छैटौं राष्ट्रिय योग दिवस आज देशभर मनाइँदै छ । ‘गरौँ योग डटेर, कोभिड जान्छ हटेर’ भन्ने नाराका साथ देशभर विभिन्न कार्यक्रम गरी दिवस मनाउन लागिएको हो । प्रत्येक वर्षजस्तै यस वर्ष पनि सरकारले विभिन्न जनचेतनामूलक कार्यक्रमसहित योग दिवस मनाउने तयारी गरेको हो । त्यसका लागि सरकारले बजेटसमेत छुट्टयाएको छ ।

मन्त्रिपरिषद्को विसं २०७२ साउन २८ गतेको बैठकले माघ १ गते राष्ट्रिय योग दिवस मनाउने औपचारिक निर्णय गर्दै यसको संयोजन गर्ने जिम्मेवारी शिक्षा मन्त्रालयलाई सुम्पेको थियो । यसअघि विसं २०३६ देखि उत्तरायण शुरु हुने दिन पारेर नेपालमा डा. हरिप्रसाद पोखरेलको सक्रियतामा योगको क्षेत्रमा काम गरेका संस्थाको सहभागितामा विश्व योग दिवस मनाउन थालिएको थियो ।

वैदिक कालमा हिमालयको काखमा ऋषिमुनिले अध्ययन अनुसन्धान गरी प्रतिपादन गरेको योग नेपालमै लुप्तप्रायः बनेको थियो । यही क्षेत्रबाट पुनर्जागरण गर्न दिवस घोषणा गरी जनचेतना जगाउने काम शुरु भएको हो । प्राचीनकालमा योग, ध्यान र आयुर्वेदका माध्यमबाट मानसिक शान्ति एवं स्थिरता र आरोग्यताको प्राप्ति हुन्थ्यो । आधुनिक युगको प्रभावमा यसलाई चटक्क बिर्सिएका नेपाली युरोप र अमेरिकामा उपचार र सुख शान्तिका लागि बढी प्रयोगमा आउन थालेपछि योगतिर आकर्षित हुन थालेका हुन् ।

प्रकाशित मिति: बिहीबार, माघ १, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update