पाल्पा । जिल्लामा थप एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । तानसेन नगरपालिका–३ की ७८ वर्षीया महिलाको कोरोनाका कारण विहीबार मृत्यु भएको हो । स्वास्थ्यमा समस्या आई लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार गराइरहेकी ति महिलामा गत पुस २९ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनको माघेसंक्रान्तिका दिन विहान मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओम प्रकास पन्थीले जानकारी दिए । योसँगै तानसेनमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १० पुगेको छ । अहिलेसम्म जिल्लाका तानसेन सहित ९ स्थानीय तहका ३३ जनाको कोरोनाबाट मृत्यु भएको छ ।
स्वास्थ्य कार्यालयको तथ्यांक अनुसार तानसेन तथा तानसेन भित्रका अस्पतालमा १० जना, माथागढीका ३ जना, रामपुरका ४ जना, पूर्वखोलाका ४ जना, रैनादेवी छहराका १, रम्भाका १ जना, बगनासकालीका ७, तिनाउका २ र रिब्दीकोटका १ जनाको कोरोनाका कारण मृत्यु भइसकेको छ । १० स्थानीय तहमध्ये निस्दीमा भने कोरोनाको कारण मृत्यु भएको तथ्याड्ढ छैन ।
यस्तै शुक्रबार पाल्पामा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तानसेन नगरपालिकाका भित्रका २ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी पन्थीले जानकारी दिए । योसँगै पाल्पामा एक हजार ८ सय ६० जना कोरोना संक्रमित पुगेका छन् । अहिले जिल्लामा कोरोनाका कुल सक्रियसंक्रमितको संख्या एक सय १५ पुगेको छ । जिल्लामा अहिलेसम्म १ हजार ४९ जना समुदायस्तरका व्यक्तिहरुमा कोरोना संक्रमण देखिएको छ । ति मध्ये महामारीको अग्रभागमा रहेर काम गर्दै आएका ८५ जना स्वास्थ्यकर्मी रहेका छन् । अहिले सम्म पाल्पामा कोरोना संक्रमणमुक्त हुनेको संख्या एक हजार ७ सय ६२ पुगेको छ ।