Shittalpati
पाल्पाली ढाका प्रवद्र्धनलाई   संस्कृतिको अङ्गसँग जोडौं : मूख्य मन्त्री पोखरेल

रामचन्द्र रायमाझी

पाल्पा, प्रदेश पाँचका मुख्य मुन्त्री शंकर पोखरेले पाल्पाली ढाका प्रवद्र्धनका लागि नेपाली संस्कृतिसँग जोड्नु पर्ने बताएका छन् । तानसेनमा ढाका उद्योग पुर्नस्थापना र प्रवद्र्धनका लागि सार्वजनिक निजी साझेदारी कार्यक्रमको शुभारम्भ गर्दै मुख्य मन्त्री पोखरेलले ढाका प्रवद्र्धनका लागि ढाकाबाट निर्मित पोशाकहरुलाई संस्कृतिको अङ्गसँग जोड्नुपर्ने बताएका हुन् । उनले पाल्पाली युवा युवतीहरुले विवाह गर्दा ढाकाका पोशाकहरुलाई अनिवार्य प्रयोग गर्ने व्यवस्था गराउन सके ढाकाको प्रवद्र्धनमा महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरे ।

मुख्य मन्त्री पोखरेलले भने‘ तानसेन नगर सरकारले हरेक वर्ष विशेष कार्यक्रमको आयोजना गरी जिल्लामा जन्मिएका पाँच वर्ष भन्दा मुनिका बच्चाहरुलाई ढाकाबाटा निर्मित कपडाहरु लगाईदिई सम्मान गरोस्,जसले ढाकाको प्रचार–प्रसार भई प्रवद्र्धनमा सहयोग पुग्दछ ।’ ढाकालाई संस्कृतिसँग जोडी जिल्लाको आर्थिक विकाससँगै पाल्पाली ढाकालाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन स्थानीय सरकार, निजी संघ संस्थाहरुलाई मुख्य मन्त्री पोखरेलले संकल्प, अठोट, र अभियानका रुपमा अगाडि बढाउन आग्रह गरे । उनले समय अनुसार फेसनमा परिवर्तन आउने भएकाले उद्योगी व्यवसायीहरुले ढाकाको ब्राण्डमा पनि समय सापेक्षा परिवर्तन गर्दै लैजान सक्नुपर्नेमा जोड दिए ।

मुख्य मन्त्री पोखरेलले भने‘सीप परियोजनाबाट सीप सिकेर सधै श्रमिक बन्ने मात्र होइन उद्यमी बन्ने सोचका साथ अगाडि बढ्नुहोस्, जसले रोजगारसँगै आर्थिक समृद्धिको दिशालाई पहिल्याउने छ ।’ ढाका उद्योगमा बालबालिकाहरुलाई श्रमिकका रुपमा नराख्न उद्योगी व्यवसायीहरुलाई उनले आग्रह गरे ।

जिल्लामा यदाकता पाल्पाली ढाकाको नाममा बाहिरबाट ल्याएर ढाका विक्री हुने गरेको प्रति संकेत गर्दै मुख्य मन्त्री पोखरेलले बाहिरबाट ल्याएर पाल्पाली ब्राण्डको पहिचान नगुमाउन ढाका व्यवसायीहरुलाई आग्रह गरेका छन् । उनले भने ‘ढाकाको उत्पादन कम भए वा अभाव भएमा नबेच्नुहोस् केही हुँदै तर बाहिरबाट उत्पादन भएको ढाका ल्याएर पाल्पाली ढाकाको पहिचान नगुमाउनु होस् ।’ पाल्पाली ढाकाको आफ्नै पहिचान र ब्राण्ड रहेकाले अन्तर्राष्ट्रिय स्तरमा ढाकाको बजार विस्तार गर्न नसकिने मुख्य मन्त्री पोखरेलले बताए । घरमै बसी उद्योगसँग जोडिएर आयआर्जन गर्न सकिने भएकाले परियोजनमा आवद्ध हुन तानसेनका महिलाहरुलाई उनले आग्रह गरे ।

मन्त्री पोखरेलले पाल्पाबाट सुरु भएको यो अभियान प्रदेश पाँचका सबै जिल्लाहरुमा पु¥याउने गरी प्रदेश सरकार अगाडि बढेको बताए । ढाका उद्योग पुर्नस्थापना र प्रवद्र्धनका लागि तानसेन नगरपालिकाका नगरप्रमुख अशोक कुमार शाही, पाल्पा ढाका एसोसियसनका अध्यक्ष पूर्णमाया महर्जन र युके एड सीप परियोजना टोली प्रमुख बलजित बोहोराले संयुक्त रुपमा समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।

कार्यक्रममा युके एड सीप परियोजना टोली प्रमुख बलजित बोहोरा, डिफीड नेपाल डेपुटी प्रमुख नेथेनल र तानसेन नगरपालिकाका नगर प्रमुख अशोक कुमार शाहीले सीपबाट प्राप्त ज्ञानलाई व्यवहारमा उतारी आर्थिक समृद्धि भित्र्याउन सके मात्र तीन संस्थाहरु बीच समझदारी पत्रमा गरेको हस्ताक्षरले सार्थकता पाउने बताए । जिल्ला समन्वय समितिका कार्यवाक सभापति मिरा मरासीनी, पाल्पा ढाका एसोसियसन तथा तानसेन ६ का वडा अध्यक्ष सागरमान महर्जन लगायतले खस्कदो अवस्थामा रहेको पाल्पाली ढाकाको प्रवद्र्धन र पुर्नस्थापनाका लागि सरकारी तथा निजी संघस.स्थाहरुसँगको समझदारीले महत्वपूर्ण टेवा पुग्नेमा विश्वास व्यक्त गरे । तानसेन नगरपालिकाका वातावरण तथा सरसफाई शाखाका प्रमुख शंकर भण्डारीको सञ्चालनमा कार्यक्रम भएको थियो ।

 

 

प्रकाशित मिति: बुधबार, माघ २९, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update