Shittalpati
ढाका कपडा सिलाएर आत्मनिर्भर बन्दै पाल्पा रामपुरका महिला

रासस

रामपुर, पाल्पाको रामपुरका महिला ढाका कपडा सिलाएर आत्मनिर्भर बन्दै गएका छन् । रामपुर बचत तथा ऋण सहकारीले ढाका कपडा सिलाई तालिम दिएपछि अहिले महिला आत्मनिर्भर हुन थालेका हुन् । सहकारीले तालिम दिएपछि बेझाड बजारमा रेखादेवी श्रेष्ठले पसल नै राखेर ढाका कपडा सिलाउदै आएकी छन् । उनले महिला तथा पुरुष, बच्चाका विभिन्न ढाका कपडा सिलाउने गरेको बताईन। बेरोजगारी भएर बसेका महिलालाई सहकारीबाट तालिम पाएपछि रोजगार बनाएको उनको भनाइ छ । ढाका कपडा सिलाएर उनले अहिले मासिक २० हजार आम्दानी गर्दै आएकी छन् । यसैबाट घरखर्च, छोराछोरीको पढाई खर्च चलेको छ । सहकारीले दुईपटक गरी २० जना महिलालाई चार महिनाको तालिम उपलब्ध गराएपछि महिला व्यवसायमा अग्रसर भएर लागेका छन् । पहिलादेखि नै सिलाइकटाइको काम गर्दै आएकी इन्दु परियारले पनि ढाका कपडाको तालिम पाएपछि पेशालाई व्यावसायिक तवरले अगाडि बढाएकी हुन् ।

तालिमपश्चात् अहिले व्यावसायिक रुपमा पसल सञ्चालन गरी आफू मात्र नभई चारजनालाई रोजगारीसमेत दिएको परियारको भनाइ छ । सहकारीले व्यावसायिक बनाउन रामपुरका २० महिलालाई ढाका कपडा सिलाइ तालिम तथा एक–एकवटा मेशिनसमेत उपलब्ध गराएको सहकारीका अध्यक्ष राजुप्रसाद श्रेष्ठले बताए । व्यवसाय गर्न सोच बनाएका तर सीप नपाएर बेरोजगार बनेका महिला सहकारीमार्फत सीपमूलक तालिम पाएपछि उत्साहका साथ व्यवसायमा लागेका छन् । रामपुरमा नै ढाका कपडाका विभिन्न उत्पादन हुन थालेपछि अहिले माग बढ्दो रहेको यसमा संलग्न महिला बताउँछन् । सदरमुकाम तानसेनबाट ढाकाको कपडा खरिद गरी महिलाले व्यवसाय चलाउने गरेका छन् । रामपुर क्षेत्रमा विशेषगरी झोला, हाते पर्स, आस्कोट, चोलीहरु, बच्चाका लागि दौरा सुरुवालको बढी माग आउने गरेको छ । रामपुर घुम्न आएका व्यक्तिले ढाकाको कपडाबाट उत्पादित सामान कोसेलीका रुपमा लैजाने गरेका छन् । पाल्पा, स्याङ्जा, तनहुँ र नवलपरासीको सङ्गमस्थल रहेको रामपुर बजारमा ढाका कपडाबाट उत्पादित सामग्री विशेष आकर्षणका रुपमा रहेको छ ।

प्रकाशित मिति: बुधबार, माघ २९, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update