Shittalpati
आन्तरिक पर्यटनको विकासमा जुटौं

विश्वभर फैलिएको कोभिड–१९ का कारण नेपालको पर्यटन व्यवसाय धराशायी भएको छ । लामो समयसम्म बन्द निजी क्षेत्रहरु लकडाउनपछि करिब–करिब सबै खुलेका छन् । होटल तथा रेष्टुरेण्ट, धार्मिक, पर्यटकीय स्थलहरु खुले पनि पर्यटनले भने अझै पनि गति लिन सकिरहेको छैन । बाह्य पर्यटनका कारण नेपालमा पर्यटन क्षेत्र फस्टाएको भएपनि अहिले कोभिडका कारण शून्य जस्तै छ । अब कोरोना महामारीको अन्त्य हुने निश्चित नभएकाले पर्यटनको विकासतर्फ लाग्न आवश्यक छ । पहिलो कुरा त बाह्य पर्यटन धराशायी बनेकाले यसको विकासका लागि विशेषतः आन्तरिक पर्यटनलाई बढावा दिनुपर्दछ । अब यहाँका युवायुवतीहरू विदेश होइन, स्वदेश घुम्न लालायित हुनु जरुरी छ । यस्तो भएमा आन्तरिक पर्यटन चलायमान भई नेपाली अर्थतन्त्रमा परिणाममुखी परिवर्तन आउनेछ ।

मुलुकको दिगो आर्थिक विकासको लागि गैरउत्पादन क्षेत्रमा खर्चिने धनराशी र निष्क्रिय रुपमा छरिएर रहेका पूँजिलाई एकीकृत गरी उत्पादनमूखी क्षेत्रमा लगानी गरी रोजगारीका लागि खाडी धाउन विवस श्रमिकलाई स्वदेश फर्काउनु अपरिहार्य छ । त्यसको लागि देशमा उद्योग, व्यापार, व्यवसाय तथा रोजगारीको अवस्था सिर्जना गरी मुलुकलाई आत्मनिर्भर बनाउन आन्तरिक पर्यटन भरपर्दो माध्यम हुन सक्छ । वर्तमान परिस्थितिमा निजी तथा साझेदारीमा खोलिएका ग्रामीण होमस्टेको विकास गर्नुपर्छ । यसो गर्न सकेमा आन्तरिक पर्यटकहरूबाट पनि धेरै आम्दानी हुन सक्छ । नेपालमा विविध धार्मिक, सामाजिक र सांस्कृतिक परम्परा हुनाले यही विविधता हेर्नका लागि पर्यटकहरू आकर्षित हुन्छन् । पर्यटनबाट फाइदा लिन ग्रामीण पर्यटन र होमस्टे सञ्चालका आधारशिला खडा गर्न जरुरी छ । सरकारले निजीस्तरबाट सञ्चालनमा आएको होमस्टे, रिसोर्ट र ग्रामीण क्षेत्रमा खोलिएका होटलहरूलाई सहुलियत ऋण प्रदान गर्नुका साथै करमा समेत छुट दिएर उनीहरूको व्यापारिक मनोबल बढाउनु जरुरी छ । यसो हुन सके मात्र आन्तरिक पर्यटनको विकास गर्न सकिन्छ ।

प्रकाशित मिति: सोमबार, माघ ५, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update