श्रीधर पाण्डे
पाल्पा ।
कक्षा चारमा पढ्थें । पढाउने क्रममा सरले भगवान हुँदैनन् भन्नुभयो । चुपचाप सुनिरहे तर मनभरी असहमति थियो । सरले जस्तोसुकै नयाँ कुरा भन्दा, नयाँ जानकारी दिँदा मनमा उत्सुकता हुन्थ्यो, रमाइलो लाग्थ्यो तर त्यो पटक रमाइलो लागेन, मात्र मौन असहमति थियो, एउटा कट्टर मौन असहमति ।
सरले भनेको कुरामा किन ? कसरी ? भन्ने आँट थिएन । सरसँग बोल्ने त टाढाको कुरा थियो, कतै खेलेको बेला सरलाई देख्यौ भने पनि सातो जान्थ्यो, घरभित्र गएर लुक्थ्यौं । धेरै बेरपछि, सायद सर जानुभयो होला भन्ने अनुमान लगाईसकेपछि धेरै आँट गरेर बाहिर निस्कन्थ्यौं । त्यस्तो मानसिकता र वातावरणमा हुर्किएको म, अब सरले नै भनेको कुरामा किन ? कसरी ? कसरी भन्न सक्थे । मात्र चुपचाप सुने । चुपचाप बसिरहे । चुपचाप असहमति जनाए ।
भगवान छैनन् भन्ने कुरा मान्न पनि कसरी सक्थे ? कसरी सहमत हुन सक्थे ? धर्म मेरो चेतनाको आधार थियो । जीवनशैलीको आधार थियो । सबैभन्दा ठूलो कुरा, धर्म मेरो विश्वास बनिसकेको थियो । एउटा बलियो अनि कट्टर विश्वास थियो । एउटा जानकारीले त्यो कट्टर विश्वास भत्किन सम्भव थिएन । एउटा धार्मिक परिवारमा जन्मेको म । बुवाले हरेक दिन पूजापाठ गर्नुहुन्थ्यो, प्रत्येक दिन गीता तथा अन्य धार्मिक पुस्तकहरु पनि पढ्नुहुन्थ्यो । बुवालाई जति देखे सम्पूर्ण रुपमा धार्मिक गतिविधि गरेको नै देखें । बुवा विहान उठेदेखि साँझ सुत्ने बेलासम्म पूर्ण रुपमा धार्मिक क्रियाकलाप गर्नुहुन्थ्यो । आमाको लागि पनि धर्म नै सबथोक थियो र अझै पनि त्यत्तिकै नै छ । पूर्ण धार्मिक वातावरणमा हुर्किएको म, जहाँ हरेक दिन विहान घण्टीको आवाज गुञ्जिन्छ, शंखको आवाज सुनिन्छ, अगरबत्ति र धुपको सुगन्ध घरको कुना–कुनामा फैलिन्छ, भगवानका नाम र मन्त्रहरु उच्चारित हुन्छन्, गुञ्जिन्छन् । मेरो चेतना अवचेतना सबै धर्मले आकार दिएको थियो । म भित्र धर्मको प्रभाव कस्तो थियो होला म वर्णन गर्न पनि सक्दिन् । म ५ वर्षको हुँदा मेरो व्रतबन्ध भएको थियो । व्रतबन्धको बेला बुवा आमा अनि आफन्तहरुले व्रतबन्ध पछि हरेक दिन विहान नुहाउनु पर्छ र चोखो कपडा लगाएर जप गर्नु पर्छ अनि जप नगरी पानीको थोपा पनि मुखमा पार्न हुँदैन भन्नुभएको थियो । मैले पनि ति कुराहरुलाई जस्ताको तस्तै पालना गरे । म सधै उठेर नुहाउथे, शुद्ध कपडा लगाएर जप गर्थे । यति नगर्दासम्म पानीको थोपा पनि मुखमा पार्दिनथे । कतिपय आफन्तहरुले अझै पनि मलाई यस सम्बन्धी किस्सा सुनाउनुहुन्छ । कसैको पुजाआजा, विवाह तथा अन्य कार्यमा उहाँहरुको घर जादा मैले नुहाएको छैन भने दुध, चिया, पानी केही पनि पिउदिनथे रे । सबै जनाले पिउँदा पनि म एक्लैले नपिई बस्थें । पण्डित तथा अरु ठूलाहरुले चिया र दुध ननुहाएपनि पिउनु हुन्छ भन्नुहुन्थ्यो । आफुले पनि पिउने बताउनु हुन्थ्यो । तर यो सब सुनिसकेपछि पनि म मान्दिनथे । धर्म र भगवानप्रति यति धेरै विश्वास थियो कि एकचोटी विश्वास गरे भनी त्यो कुरा बदल्न सजिलो थिएन ।
त्यस्तै, उमेर साल त याद छैन तर सानो थिए । माघेसंक्रान्ति हो या कात्र्तिके द्ववादशी वा बैसाखेसंक्रान्ति स्पष्ट सम्झना छैन । रिडी मेलामा गएको थिए, साँझपख घर फर्कने बेलामा टिका पसलमा भगवान शिवजीको फोटो देखे । एकैछिन् हेरिरहे, थाहा थिएन किन ? तर शिवजी प्रति अनौठो र सुन्दर कनेक्सन महसुस हुन्थ्यो । केही बेरसम्म त्यो फोटो हेरिरहे । मनमा मिठो आनन्द महशुस भईरहेको थियो । त्यो फोटोको भाउ सोधे । सायद पाँच रुपैयाँ थियो होला, स्पष्ट याद छैन, पैसा निकालेर दिए, पसलेले गोलो गरि बेरेर रबरले बाँधेर फोटो दिनुभयो । हातमा शिवजीको फोटो थियो । अनि मनमा शुन्दर प्रसन्नता खेलिरहेको थियो । अनि मेरा पाइलाहरु घरतिर बढे । घरमा आमाबुवा भारतको गया जाँदा त्यहाँदेखि ल्याएको गायत्रिको फोटो पुजा गर्ने ठाउँमा किला ठोकेर झुण्ड्याइएको थियो जसमा गायत्री मन्त्र र त्यसको अर्थ लेखिएको थियो । त्यहि फोटोको छेउमा रिडीबाट ल्याएको शिवजीको फोटो पनि किला ठोकेर अढ्याए । हेर्दा त्यो एउटा फोटो थियो तर मलाई स्वयं भगवान नै घरभित्र भएको आभास भएको थियो । घरभित्र स्वयं भगवान नै उपस्थित भएको महशुस भएको थियो । म एकदमै खुसी थिए । बच्चाबेलाको त्यो ‘म’ लाई फर्केर हेर्दा अहिले पनि अचम्म लाग्छ ।
थाहा थिएन किन ? कसरी ? भगवान र धर्म मेरो लागि सम्पूर्ण विश्वास थियो । मेरो विश्वास, विचार, चेतना, अवचेतना धर्म र भगवानको कण–कणले बनेको थियो । भगवान छैनन् भनेर कुनै किताव लेखिदैमा वा विद्यालयमा पढाउदैमा वा कसैले बताउदैमा त्यति सजिलै बदलिदैनथ्यो । कमजोर हुदैनथ्यो । भत्किदैनथ्यो । समाज र संस्कारले जुन कुरा सिकाउँछ त्यो कुनै पुस्तक वा विश्वविद्यालयले सिकाउन सक्दैन ।
त्यो दिन स्कूलमा सरले भगवान हुँदैनन् भन्दा केहि बोल्न त सकिन, तर्क गर्न पनि सकिन तर अर्को दिन विहान पूजा गर्दा भगवान शिवजीको फोटोतिर फर्किइ दुई हात जोडी मनमनै भनेको थिए, ‘म तपाईलाई खोज्ने छु र भगवानको प्रमाण दिनेछु र संसारको सामु तपाई हुनुहुन्छ भनेर कुनैदिन भन्नेछु ।’ अनि सुरु भयो एउटा अनौठो यात्रा “भगवानको खोजी”को ।
भगवान यति बलियो र कट्टर विश्वास बनिसक्नु भएको थियो कि त्यहि विश्वासले ११ वर्षे मलाई भगवानको खोजीमा डोर्यायो । भगवानको खोजीमा निस्किएको सुनसान र मौन यात्रा, केही थाहा थिएन मात्र एउटा विश्वास थियो यदी साच्चिकै भगवान हुनुहुन्छ भने कुनै न कुनै प्रमाण त पक्कै भेटिन्छ । यो संसारमा यदि कसैले प्रत्यक्ष रुपमा भगवान देखेको भए भगवानको अस्तित्व त्यत्तिकै प्रमाणित हुन्थ्यो विवाद नै हुँदैनथ्यो । भगवानको अस्तित्व माथि नै प्रश्न उठ्ने थिएन । धार्मिक ग्रन्थमा पनि तर्कपूर्ण प्रमाण भेटिएको भए भगवानको अस्तित्व माथि प्रश्न उठ्ने थिएन । भगवान नै देखेको कुरा न कतै लेखिएको थियो, न त कसैले भनेको थियो । उहाँ मात्र एउटा विश्वास हुनुन्थ्यो । धार्मिक ग्रन्थमा हुनुन्छ भन्दैमा वा मन्दिरमा हुनुहुन्छ भन्दैमा प्रमाणित हुने कुरा पनि थिएन किनकी त्यो सबै त सबैले नै देखेका थिए । मेरो अगाडि जस्तै सबैको अगाडि स्पष्ट थिए ती प्रमाणहरु । मैले जिद्दी गर्दैमा पनि भगवानको अस्तित्व प्रमाणित हुने कुरा थिएन । स्वयम् भगवान नै उभिनु पथ्र्यो । सबैको अगाडि । अनि मात्र प्रमाणित हुन्थ्यो भगवानको अस्तित्व । स्कूलको पढाई सक्काए, प्लस टु को पढाई सक्काए । त्यो अवधिमा भगवानको बारेमा जति पढें, जति सुनें त्यति नै भगवानको अस्तित्वमाथि प्रश्न थिए । भगवानको अस्विकार गरिएको थियो । अधिकांशले भगवानको अस्तित्वलाई एउटा अन्धविश्वास र भ्रम मानेका थिए । भगवानको अस्तित्वलाई अस्वीकार गर्ने ती अधिकांश तर्कहरुमा भगवानको अस्तित्वलाई थोरै धेरै स्वीकार गर्ने केही धमिला तर्क र विचारहरु सुन्थेँ, पढ्थेँ जसले भगवानलाई भेट्ने आशा अनि विश्वास मर्न दिएको थिएन । ती धमिला तर्कहरुमा एउटा बालकृष्ण समको “इच्छा’’ कविता पनि थियो । बालकृष्ण सम जसले भौतिकतावादी साहित्य रचना गर्नुहुन्थ्यो, भगवान मान्नुहुन्नथ्यो, भगवानको अस्तित्वलाई स्वीकार गर्नुहुन्नथ्यो, त्यस्ता व्यक्तित्वले जीवनका पछिल्ला दिनहरुमा भगवानको अस्तित्वलाई स्वीकार गरेको उहाँको “इच्छा’’ कवितामा आभाष हुन्थ्यो । यस कवितामा उहाँले भगवान शिवजीलाई “महेश“ भनी सम्बोधन गर्नुभएको छ । मृत्यु पछिका साक्षीका रुपमा भगवान शिवलाई व्यक्त गर्नु भएको छ । जसले के विश्वास दिन्थ्यो भने मान्छे जतिसुकै धर्म र भगवानमाथि प्रश्न उठाएपनि कुनै न कुनै दिन भगवानलाई बुझ्छ अनी स्वीकार गर्छ । यस्तै कुराले मेरो विश्वासलाई कमजोर हुन दिएको थिएन । यहि सोच्थें कि, मानिसहरु पनि कुनै न कुनै दिन भगवानको अस्तित्वलाई बुभ्mने छन् र स्वीकार गर्ने छन् । त्यस्तै कतिपय वैज्ञानिकहरुले पनि भगवानको अस्तित्व स्वीकार गरेको कुरा सुन्थें । डाक्टरहरुले पनि विरामीको उपचार गर्दा भगवानको पनि भरोसा गर्छन् भन्ने सुन्थे जसले मनलाई भगवानको अस्तित्वको प्रमाण भेटिन्छ भन्ने कुरामा ढाडस दिन्थ्यो । अधिकांश समय म भगवानकै बारेमा सोच्थें कुनै न कुनै दिन त पक्कै भगवानको केहि न केहि प्रमाण भेटिएला भन्ने सोच्थें । यसैगरी मेरा हरेक दिनहरु जान्थे ।
वि.सं.२०६६ मंसिर महिनाको एकदिन साझँपख घरबाट डुल्न निस्किएको थिए । मस्तिष्कमा भगवानको अस्तित्वको प्रश्न खेलिरहेको थियो । अचानक भगवानको बारेमा एउटा अनौठो प्रश्न उठ्यो । वषौंदेखि मनमा रहेको भगवानको अस्तित्वको प्रश्नले उत्तर पाएको महशुस भएको थियो ।
‘‘हाम्रो भगवान किन अमेरीका जानु भएको छैन’’ यहि एउटा अनौठो प्रश्न थियो । तर मेरो लागि यो प्रश्न भन्दा पनि उत्तर थियो भगवानको खोजीको ।
मैले थाहा पाउने बेलादेखि सुनेका भगवानका कथाहरुमा भगवानलाई सम्पूर्ण ब्रह्माण्डको सृष्टिकर्ता भनि वर्णन गरिएको थियो तर ति कथाहरुमा भगवानले भारत र नेपालका स्थानहरुमा मात्र जीवन बिताएको कुरा उल्लेख थियो । नेपाल र भारतका ठाउँहरुको वर्णन गरिएको थियो । किन यी भन्दा अरु ठाउँहरु उल्लेख गरिएन ? के ब्रह्माण्ड भित्र अमेरीका, युरोप वा संसारका अन्य कुनै महादेश तथा देशहरु पदैनन् र ? ब्रह्माण्ड घुम्दा मेरो भगवान किन अमेरीका जानु भएन ? किन ती ठाउँहरु उल्लेख भएन । अनि निष्कर्ष निकाले यी त कथाहरु हुन, काल्पिनक कथाहरु र भगवानहरु लेखकद्वारा सिर्जित पात्रहरु । अनि हामी धर्मग्रन्थमा उल्लेखित तिनै पात्रहरुलाई भगवान मानिरहेका थियौं । सयौं वर्षदेखि । हजारौं वर्षदेखि ।
धार्मिक ग्रन्थमा उल्लेख गरिएका ति स्थानहरु धेरै हिन्दु धर्म महत्व राख्ने नदि किनार र त्यसको सेरोफोरोका छन् । सम्भव तः ऋषीमुनिहरु नदि किनारमा आफ्ना यात्राहरु गर्नुहुन्थ्यो र तिनै यात्राका क्रममा पुगेका स्थानहरुलाई वा अरुबाट सुनेका वा वर्णन गरिएका स्थानहरुलाई उल्लेख गरेर ती धार्मिक कथाहरु सिर्जना गर्नुभयो । र तिनै कथाहरु धर्मका आधार स्तम्भ बने, सम्पूर्ण सृष्टिको कारण भगवानलाई मानियो र त्यहा उल्लेखित नीति र उपदेश अनुसार समाज निर्देशित भयो, सामाजिक संस्कारहरु बने, नीति बने । धर्म नै समाजको मार्गदर्शक बन्यो अनि भगवान हरेक अस्तित्वको कारण ।
धर्म र भगवान एउटा आस्था र विश्वास मात्र होइन व्यक्ति र समाजको मार्गदर्शक पनि हो । दैनिक मानविय गतिविधिहरु चार्डपर्व रितिरिवाज सामाजिक सम्बन्ध,शिक्षा, विज्ञान, मनोविज्ञान आदि इत्यादी सबैलाई धर्मले आकार दिएको छ । यतिसम्म कि, एउटा नास्तिकको जीवन पनि धर्म अनुरुप नै चलेको हुन्छ । उ मन्दिर नगएको हुन सक्छ, पूजा गर्ने कुरामा विश्वास नगर्न सक्छ तर उ सामाजिक हुनुका कारणले धर्मद्वारा स्थापित सामाजिक नीति अनुरुप उसले जीवन जीउने हुनाले पनि उसमा अप्रत्यक्ष रुपमा धर्मको प्रभाव हुन्छ ।
भगवानको खोजीको यात्रामा धर्मगन्थमा उल्लेखित भगवान र धर्मको यथार्थता त बुझे तर सम्पूर्ण सृष्टिकर्ता भगवानलाई मानेको मेरो लागि ब्रह्माण्डको अस्तित्वको कारण एकाएक अनुत्तरित बन्न पुग्यो । मनमा एउटा प्रश्न उब्जियो, बह्माण्ड कसरी बन्यो ? कसरी अस्तित्वमा आयो ?
मसँग उत्तर थिएन ब्रह्माण्डको अस्तित्वको कारणको अनि रहस्यको तर जान्ने उत्सुकता भने धेरै नै थियो । धर्मग्रन्थमा उल्लेखित भगवानहरुलाई ब्रह्माण्डको अस्तित्वको कारण मानेको थिए, सृष्टिकर्ता मानेको थिए । अब त्यो एउटा काल्पनिकता थियो भने विज्ञानले उत्तरको खोजी गरिरहेको थियो । एउटा ठोस निष्कर्ष दिएको थिएन, तर म भित्र भने ब्रह्माण्डको रहस्य जान्ने तिव्र इच्छा थियो ।
तर यो सबै जान्नको लागि न मसँग त्यस्तो सबै प्रविधि थियो न यी कुराहरुको पहुँच न त विज्ञानको विद्यार्थी नै थिए तर पनि ब्रह्माण्डको अस्तित्वको कारण जान्ने इच्छा भने तिव्र थियो ।
एकाएक यस्तो लाग्यो सायद उत्तर धेरै सामान्य हुनुपर्छ । र कारण पनि मेरै वरीपरी छ । किनकि म मेरो वरीपरीको ठाउँ पनि ब्रह्माण्डाको एउटा अंश हो, अनि रहस्य पनि यहि नै छ । आफ्नो वरीपरीको प्रकृतिको रहस्य बुझ्न सके भने सायद ब्रह्माण्डको रहस्य बुझ्न सक्छु जस्तो लाग्यो ।
अनि सुरु भयो एउटा चेतनाको यात्रा ।
मैले म आफु तथा जीवहरुलाई नियाल्न थालें जन्मदेखि मृत्यु सम्मलाई नियाल्थें, जन्मभन्दा पहिला तथा मृत्यु पछिको अवस्थालाई नियाल्थें, ती कुराहरुलाई विश्लेषण गर्थे, निष्कर्ष निकाल्थें । सबैभन्दा सजिलोसँग मैले एउटा मानिसको अस्तित्वलाई बुभ्mन सक्थें । एउटा मानिस पूर्ण मानिसको अस्तित्वको रुपमा आएको थिएन, ऊ एउटा भु्रणबाट क्रमिक विकास हुँदै, विभिन्न शारीरिक तथा मानसिक परिवर्तन हुँदै मृत्युसम्म पुग्थ्यो । जहाँ उसको शरीरको अन्त्य हुन्थ्यो । माटोमा उत्पादित तथा अन्य खाद्य वस्तुले उसको शरीर बनेको थियो । माटोबाट खाद्यवस्तु बनेका थिए, त्यही खाद्यवस्तुबाट पाइने पदार्थबाट शरीरका अंग बनेका थिए र त्यही खाद्यपदार्थबाट पाइने शक्तिबाट शरिर सञ्चालित हुन्थ्यो । मृत्युपछि त्यो शरिर त्यही पदार्थ बनेर माटोमा मिल्थ्यो अनि त्यही पदार्थबाट अरु विरुवा तथा जीवहरुले आफुलाई विकास गरिरहेका थिए ।
यहाँ एउटा जीव र जीवनको अन्त्य भइरहेको थियो भने पदार्थ र शक्ति एउटा अवस्थाबाट अर्को अवस्थामा परिवर्तन भइरहेका थिए । निरन्तर एउटा अन्त्यहिन परिवर्तन चलिरहेको थियो, पदार्थको र शक्तिको । एउटा जीव र जीवनलाई त केही हदसम्म बुझे तर ब्रह्माण्डको सृष्टिको प्रश्न जस्ताको तस्तै थियो ।
स्कूलमा पढ्दा ८८ वटा आकाश गंगाहरु छन् भन्ने पढेको थियो त्यस्तै पृथ्वी सूर्यबाट उछिट्टिएको एउटा टुक्रा हो भन्ने पनि पढेको थिए । त्यस्तै ताराहरु पनि सूर्य जस्तै हुन् भन्नि पढेको थिंए । यी कुराहरु भन्दा अरु ब्रह्माण्डको बारेमा केही थाहा थिएन तर ब्रह्माण्डको अस्तित्वको बारेमा बुभ्mने रहर जस्ताको तेस्तै थियो । मेरो मष्तिष्कमा हर क्षण मात्र ब्रह्माण्ड कसरी बन्यो होला भन्ने प्रश्न हुन्थ्यो । ब्रह्माण्डको अस्तित्व के होला भनेर सोचिरहन्थे । पृथ्वी कसरी सूर्यको टुक्रा होला ? भन्ने सोच आइरहन्थ्यो ।
२०६७ जेठ ६ गते बिहिबार बिहान ७ बजेतिर एक्कासी मनमा एउटा अनौठो तर्क आयो, सायद ब्रह्माण्डमा रहेका ग्रह, उपग्रह, तारा तथा सबै आकाशिय पिण्ड तथा वस्तुहरु पनि जसरी पृथ्वीका जीवहरु पदार्थ र शक्तिबाट निरन्तर बनिरहेका छन् त्यस्तै गरि ब्रह्माण्डमा रहेका सम्पूर्ण तारा, ग्रह, उपग्रहहरु पनि ब्रह्माण्डमा फैलिएको पदार्थबाट निरन्तर बन्ने र विनास हुने क्रम नै ब्रह्माण्डको अस्तित्वको रहस्य होला भन्ने निष्कर्ष निकाले । अनि फेरी अर्को निष्कर्ष निकाले,पृथ्वी सूर्यको टुक्रा नहुन पनि सक्छ । अन्य तरिकाबाट अस्तित्वमा आएको पनि हुन सक्छ । यो निष्कर्ष नै सम्पूर्ण आकाश गंगा, सूर्य, ग्रह, उपग्रहको सृष्टि तथा अस्तित्वको उत्तर थियो । सम्पूर्ण सृष्टिको अस्तित्वको कारण भेटिएकोमा एकदमै खुसी थिए । तर यस उत्तरसँग पनि अर्काे प्रश्नको जन्म भयो । सम्पूर्ण ब्रह्माण्डमा फैलिएका सम्पूर्ण कुराहरु त निरन्तर बनिरहेका छन् विनाश भैरहेका छन् तर त्यो निर्माण गर्ने शक्ति र पदार्थ कहाँबाट आयो, कसले बनायो ? मेरा अगाडि फेरी यी प्रश्नहरु उभिइरहेका थिए ।
यस्तो लागिरहेको थियो, एउटा चुचुरोमा पुगेर, अब त गन्तव्यमा आइपुगियो भनेर सोच्दासोच्दै अगाडि फेरी अर्को चुचुरो आफुतिर फर्केर उभिइरहेको थियो । अनि फेरी सुरु भयो चेतनाको अर्को यात्रा ।
फेरी हर समय आफु वरीपरी भएका हरेका कुराहरुलाई नियाल्न थालें, विश्लेषण गर्न थालें । निरन्तर सृष्टि र अन्त्य भेट्थे तर सृष्टिको कुनै उद्गम भेट्न सकेको थिइन । २०७३ सालको चैत्र तिर यत्तिकै बसिरहेको थिए, ब्रह्माण्डका गतिविधिहरु नियालिरहेको थिए विश्लेषण गरिरहेको थिए । अचानक समय स्थिर भएको महशुस भयो, मेरो अगाडि एकदमै अनौठो र नयाँ अनुभुति भइरहेको थियो । सधै अघि बढिरहेको लाग्ने समय स्थिर थियो, ब्रह्माण्डीय गतिविधि भइरहेका थिए, घटनाहरु घटिरहेका थिए तर समय स्थिर थियो । समय भूतकालबाट भविष्यतिर गइरहेको थिएन । मात्र घटनाहरु घटिरहेका थिए र तिनै घटनाका विगत थिए । समय स्थिर थियो । समयको बारेमा एउटा निष्कर्ष निकालें, “समय घटनाक्रमद्वारा सृजित भ्रमात्मक नतिजा हो ।” सोच्दै नसोचेको समय एकाएक परिभाषित हुन पुग्यो तर ब्रह्माण्डको उद्गम भने अझै भेटिएको थिएन ।
२०७३ साल चैत्र १६ गते बुधबारको दिन कोठामा केटाकेटीहरुलाई ट्यूसन पढाइरहेको थिए । केटाकेटीहरुले लेखिरहेका थिए, म भित्र बह्माण्डकै अस्तित्वको कुरा खेलिरहेको थियो । सोच्दासोच्दै केही भेटेजस्तो महशुस भयो । केटाकेटीको पेन्सील र कपी लिए, कपीमा केर्न थाले । केटाकेटीले हेरिरहेका थिए । ब्रह्माण्डको सबैकुराको रहस्यको उत्तर मेरा सामुन्ने थियो । भगवानको खोजिमा हिडेको एउटा मौन यात्राले एउटा निष्कर्ष पाएको अनुभुति भैरहेको थियो ।
बह्माण्ड एउटा स्वतस्फूर्त अनन्त अस्तित्व हो । जसको न सुरुवात छ न त अन्त्य नै । केटाकेटीले किन कोर्नु भएको भनेर सोधेका थिए, मैले एकदमै महत्वपूर्ण कुरा हो भने अनि मोबाइलको क्यामेरा अन गरे, कपीमा केरेको चित्रको फोटो खिचे अनि फेसबुकमा अपलोड गरे ।
भगवानको खोजीको यात्रामा भगवानको यथार्थता र ब्रह्माण्डको अस्तित्वलाई त बुझ्न सके तर सभ्यता र समाजलाई दिशा निर्देशन गरेको धर्म पनि नकार्न मिल्ने विषय थिएन । यो विषय नकारात्मक वा सकारात्मक भन्दा पनि यथार्थपरक विश्लेषण गर्नुपर्ने विषय लाग्यो जसले धर्मको कदर गर्न सकोस् स्पष्ट व्याख्या गर्न सकोस् । धर्म के हो ? धर्मग्रन्थमा उल्लेखित भगवानको यथार्थता के हो ? यी प्रश्नको स्पष्ट र तर्कपूर्ण विश्लेषण आवश्यक लाग्यो ।
भगवानको खोजिको यात्रामा भगवान र धर्म सम्बन्धि मेरो धारणा त बदलियो तर यी विषयका धेरै कुराहरु थाहा थिएन । संसारमा अहिले ४२ सय भन्दा बढी धर्महरु छन् र फरक फरक भगवानहरु । कतिपयले यी धर्म र भगवानलाई विना तर्क विश्वास र अनुसरण गरेका छन् भने कतिपयले नकारात्मक ढंगबाट ब्याख्या विश्लेषण गर्ने गरेका छन् । कतिले सम्पूर्ण सृष्टिको कारक भगवानलाई मानेका छन् भने कतिले पाखण्ड र अन्धविश्वास जस्ता संज्ञा दिएका छन् । धर्म र भगवानको विषयमा धेरै किसिमका व्याख्या, नकारात्मक वा सकारात्मक व्याख्या भएपनि धर्म र भगवानको यथार्थता विश्लेषण गर्दा के बुभ्mन सकिन्छ भने, जब मानिस चेतनशिल हँुदै गयो ब्रह्माण्ड र प्रकृतिका विषयमा उ भित्र उत्सुक्ता पनि बढ्न थाल्यो । हरेक सृष्टिको कारण खोज्न थाल्यो । आकाशबाट पानी परिरहेको थियो, उसले कारण जान्न खोज्यो आकाशमा चम्किला कुराहरु देख्यो तिनीहरुको अस्तित्वको कारण जान्न खोज्यो । प्रकृति र ब्रह्माण्डका विषयमा उसमा कयौं प्रश्नहरु उब्जिए तर उ सँग उत्तर थिएन । प्रत्येक क्षण यहा अनगिन्ती गतिविधि भइरहेका थिए । तर उ सँग यी सबको कारण थिएन । चेतनाको प्रारम्भीक अवस्थामा मानिससँग यो सबै जान्न न त प्रविधी थियो न त अरु कुनै उपाय । अनि उसले सोच्यो यो सबै सृष्टि गर्न सक्ने, सम्पूर्ण ब्रह्माण्डलाई सञ्चालन गर्न सक्ने कोही त हुनुपर्छ जसलाई सबै थाहा छ, जो सर्वज्ञाता छ, जो सबैभन्दा शक्तिशाली छ पक्कै पनि कोही त छ । अनि जन्म भयो भगवान । भगवान ः मानवीय चेतनाको उत्सुक्ताको एउटा उत्तर । अनि उहाँ नै (भगवान) सम्पूर्ण सृष्टि र ब्रह्माण्डको अस्तित्वको कारण बन्नुभयो । जो सर्वज्ञाता हुनुहुन्छ, जो सबैभन्दा शक्तिशाली हुनुहुन्छ, जो हरेक कारणको उत्तर हुनुहुन्छ ।
मानविय जिज्ञासा र उत्सुक्ताले ने भगवानको जन्म दिएको हो । भगवान नै सृष्टिकर्ता भन्ने तर्क कति तथ्यपरक छ वा छैन त्यो एउटा विषय भयो तर भगवान नै सम्पूर्ण सृष्टिकर्ता भन्ने उत्तर मानविय जिज्ञासाले जन्माएको एउटा उत्तर चाहिं पक्कै हो । र आजको विज्ञान पनि मानविय जिज्ञासाको नै उपज हो, वरदान हो । आजको विज्ञान र प्राचिन धर्मले दिएका उत्तरमा के समानता छ भने दुबै मानविय जिज्ञासाका परिणाम हुन । मानविय चेतना प्रकृति र सृष्टिका कारणहरु जान्न जिज्ञासु हो भन्ने दरिलो प्रमाण हो । विज्ञान र धर्म दुबैले नै ब्रह्माण्डको अस्तित्व र सृष्टिको कारणको उत्तर दिएका छन् । विज्ञान जस्तै धर्म पनि उत्तरको खोजि हो । सृष्टिका कारणको खोजी हो ।
सृष्टिको कारण के ? विज्ञानले अझै सम्म स्पष्ट र ठोस उत्तर दिन सकेको छैन जब कि धर्मले भगवानलाई सृृष्टिको कारण मान्नुभएको छ । सृष्टिको कारण भगवान नै हुनुन्छ भन्ने धर्मको तर्कमा तथ्य र तर्क बलिया छन् वा छैनन् त्यो एउटा कुरा भयो तर धर्मले एउटा उत्तर दिएको छ । तर विज्ञानले भन्दैमा मान्दैन । जसलाई तर्क र कारण चाहिन्छ । प्रयोगद्वारा सिद्ध हुनु पर्छ । विज्ञानले उत्तर दियो भने कारण पनि दिन्छ, सिद्ध पनि गर्छ । विज्ञान ब्रह्माण्ड र सृष्टिको विषयमा उत्तरहिन भएको होइन, उसले कारण खोजिरहको छ ।
त्यस्तै धर्मले भगवानको विषयमा मात्र उल्लेख गरेको छैन । यसमा आधुनिक विश्वका विभिन्न अन्य पक्षहरु पनि उल्लेख गरिएको छ । आधुनिक विज्ञान (खगोल शास्त्र, राजनितिक शास्त्र, समाजशास्त्र, दर्शनशास्त्र, मनोविज्ञान, अध्यात्म, भौतिक विज्ञान, जीव विज्ञान आदिका) आधारहरु धर्ममा भेटिन्छन् । मानिसले गर्न हुने, गर्न नहुने सम्पूर्ण कार्य र आचरणहरु (धर्म निती, धर्माेपदेश) धार्मिक शास्त्रमा उल्लेख गरिएको छ । जसले मानिसलाई सामाजिक बनाएको छ भने मानव समाजलाई व्यवस्थापन र व्यवस्थित गरेको छ । कतिपय धार्मिक नीतिहरु अझै पनि उस्तै ढंगबाट पालना र अनुशरण गरिएका छन् भने कतिपय नितीहरु समयसापेक्ष परिवर्तन भएका छन् । परिमार्जन गरिएका छन् । तिनै नितीहरु आधुनिक विश्वका संविधान तथा निती नियमका आधार स्तम्भ हुन् ।
यसैगरी आकाशिय पिण्ड (ग्रह, उपग्रह, सूर्य आदिलाई) परिभाषित गरेको खगोलशास्त्र (ज्योतिष शास्त्र) पूर्ण रुपमा सान्दर्भिक छ । सूर्य र उपग्रहको अवस्था तथा अन्य खगोलिय गतिविधिको अनुमान अहिले पनि स्पष्ट र तर्कपूर्ण छन् । त्यसैगरी मानविय प्रवृत्ति (मानोविज्ञान) लाई धर्मशास्त्रमा स्टष्ट ढंगबाट वर्णन गरिएको छ । मानविय दर्शन पनि धर्ममा नै भेटिन्छन् । गहन र विश्लेषणात्मक ढंगबाट अध्ययन गर्ने हो भने धर्म र आधुनिक विज्ञान फरक होइनन्, परस्पर असम्बन्धित विषय होइनन् । धर्म त आधुनिक विज्ञानको आधार स्तम्भ हो । सम्पूर्ण विज्ञानको जननी हो । यी दुई विषय विरोधाभाष होइनन्, मानवीय चेतनाका क्रम हुन् । धार्मिक विश्वास होस् वा आधुनिक विज्ञान, दुवैले ब्रह्माण्डको सृष्टिको विषयमा तर्क गरेका छन् । आजको विज्ञान र सयौं, हजारौ वर्ष पुराना धर्म दुबैले आफ्ना अवलोकन बुझाई र विश्लेषणका आधारमा निष्कर्ष दिएका छन् । आजको अवलोकन र सयौं, हजारौं वर्ष पहिलेको अवलोकनमा धेरै अन्तर छ । त्यतिखेर मानिसहरु जतिसम्म आँखाले देख्थे त्यति नै अवलोकन गर्थे, टाढा टाढा जान सक्दैनथे भने आजको अवलोकन माइस्क्रोस्कोपिक देखि टेलिस्कोपिक छ । जसले आँखाले नदेख्ने अणु, क्वार्क देखि लाखौं करोडौं प्रकाश वर्ष टाढाका खगोलिय संरचना अवलोकन गर्न सक्छ निष्कर्ष दिन सक्छ । अवलोकनमा आएका यस भिन्नताले पक्कै पनि नतिजाहरु फरक देखिन्छ नै तर पनि धर्म र विज्ञान मानविय चेतनाका प्रमाण हुन, क्रम हुन । धर्म आधुनिक विज्ञानको जजनी हो । प्रारम्भिक अवस्था हो । धर्म आधुनिक मानव समाजको विभिन्न पक्षहरुको आधार स्तम्भ हो भने भगवान मानविय चेतनाको उत्सुक्ताको उत्तर ।