तानसेन । तानसेन नगरपालिका ३ असनटोलमा नेवारी भोजको आयोजना हुने भएको छ । नेवार समुदायका खानाका परिकारलाई प्रचार–प्रसार गर्ने सोंचका साथ टोल विकास संस्थाको आयोजनामा पुस २६ गते शनिवार नेवारी भोज अर्थात् नेवाःध्वेय, आयोजना हुने भएको हो ।
‘संस्कृतिको जगेर्ना हाम्रो दायित्व, सुन्दर तानसेन बनाउने हाम्रो कर्तव्य’, भन्ने नाराका साथ नेवारी खानाका परिकार र नेवारी भोजको परम्परालाई निरन्तरता दिन एक दिवसीय भोज आयोजना गरिएको शुक्रबार आयोजित पत्रकार सम्मेलन कार्यक्रममा जानकारी गराइएको छ । कार्यक्रममा बोल्दै टोल विकास सस्थाका अध्यक्ष अनुजा बज्राचार्यले खाना महोत्सवले नेवारी खानाको प्रचार–प्रसार र नेवारी संस्कृतिको जगेर्ना गर्न सहयोग पुग्ने धारणा व्यक्त गरिन् । उनले भनिन् ‘तानसेन बजार नेवारी संस्कृतिको प्रचुर सम्भावना बोकेको ठाउँ हो, यसको प्रचार–प्रसार र साँस्कृतिक तथा रहन सहन, भेषभुषालाई प्रचार गर्नुका साथै नेपाल भ्रमण वर्ष सन् २०२० को प्रचार–प्रसारमा पनि यो कार्यक्रम सहयोगी बन्ने छ ।’ टोल विकास संस्थाका सल्लाहकार, मदनलाल बज्राचार्यले नेवारी कला शैलीमा बनेको पुरानो साँस्कृतिक घरको बैगलमा सबेर नेवारी परिकारको स्वाद लिने र साँस्कृतिक कार्यक्रम, परम्परागत भेषभुषाका साथ संगीतमयी वातावरणको आनन्द लिएर यो कार्यक्रममा सहभागिता जनाउन सकिने जानकारी दिए । कार्यक्रम पाल्पाली सेठ प्रताप प्रधानको असनटोलमा रहेको ऐतिहासिक घरको वैगलमा आयोजना हुने र हालसम्म तीनसय भन्दा धेरै सहभागीले सो भोजमा सहभागिता जनाउन नाम दर्ता गरी सकेको समेत पत्रकार सम्मेलन मार्फत जानकारी दिईएको छ ।