इमान सिं राना
पाल्पा(रामपुर).कालिका आधारभूत विद्यालय रामपुर नगरपालिका ४ देविस्थानमा एकै दिन ४४ वटा अक्षयकोष स्थापना भएको छ । विद्यालयका अभिभावक, समाजसेवी एवं शिक्षा प्रेमीहरुले विद्यालय सञ्चालनमा सहजता ल्याउनुका साथै विद्यार्थीहरुको सुविधाका लागि अक्षयकोष घोषणा गरेका हुन् । जस मध्ये अधिकांशले आफ्ना पुर्खाहरुको स्मृतिमा र केहीले आफ्नो नाममा अक्षयकोष स्थापना गरेका छन् । ५ हजारदेखि ५५ हजार ५ सय ५५ राशीको अक्षयकोषहरुबाट ८ लाख बढीको अक्षयकोष स्थापना भएको छ । आफ्ना पुर्खाहरुको नाममा अक्षयकोष घोषणा गर्दै रामपुर नगरपालिका ४ का वडा अध्यक्ष एक बहादुर नेपालीले रामपुर नगरपालिकाका शिक्षा क्षेत्रको विकासका लागि ऐन संशोधन गरेर अघि बढेको बताए । कालिका आधारभुतले गरेको प्रगतिको प्रशंसा गर्दै उनले वडाले पनि आवश्यक सहयोग गर्ने बताए ।
कार्यक्रममा रामपुर ४ का वडा सदस्य मकबुल मियाँ, पार्वती परियार, शिक्षक अभिभावक संघका अध्यक्ष टेकबहादुर क्षेत्री, पूर्व प्राधानाध्यापक तथा अक्षयकोषदाता कृष्णप्रसाद पंगेनी, दिल बहादुर कौसी, अस्गर अलिमिया, अभिभावक सूर्यप्रसाद श्रेष्ठ लगायतले अक्षयकोषले विद्यालयको क्रियाकलाप सञ्चालनमा थप सहज हुने बताएका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बसन्तराम ठाडाले अक्षयकोष दाताहरुलाई धन्यवाद ज्ञापन गर्दै कार्यविधी निर्माण गरेर विद्यालय सञ्चालन, विद्यार्थीहरुको प्रोत्साहन तथा सहयोगका लागि सदुपयोग गरिने बताए ।
विद्यालयको शैक्षिक तथा भौतिक अवस्थाको बारेमा जानकारी गराउँदै प्रधानाध्यापक सोमबहादुर सेनले विभिन्न संस्था र व्यक्तिहरुको सहयोगले थप सहयोग र हौसला मिलेको बताए । कार्यक्रमको अवसरमा शैक्षिक सत्र २०७६ अन्तर्गतका त्रैमासिक तथा अर्धवार्षिक परीक्षाहरुमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो । स्थायी नियुक्ती लिएका शिक्षकहरुलाई स्वागत समेत गरिएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बसन्तराम ठाडाको अध्यक्षता,प्रधानाध्यापक सोम बहादुर सेनको स्वागत, शिक्षक रामबहादुर रानाको सञ्चालनमा कार्यक्रम भएको थियो । अक्षयकोष दाताहरुलाई फुलमालाले सम्मान समेत गरिएको विद्यालयले जनाएको छ ।