रामचन्द्र रायमाझी
पाल्पा । पछिल्लो समय जिल्लामा संक्रमित हुने भन्दा कोरोनाबाट निको हुनेहरूको संख्या बढ्दै गएको छ । जिल्ला स्वास्थ्य कार्यालयले बुधबार सार्वजनिक गरेको तथ्यांक अनुसार पछिल्लो तीन दिनमा कोरोनाबाट ३८ जना व्यक्ति निको भएका छन् भने २१ जना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालयलाई गत माघ ४ गतेदेखि माघ ७ गतेसम्मको प्राप्त विवरण अनुसार जिल्लाका विभिन्न स्थानीय तहका ३८ जना संक्रमितले कोरोना जितेका हुन् । गत शनिबार स्वास्थ्य कार्यालयले सार्वजनिक गरेको तथ्यांक अनुसार २८ जनाले कोरोना जितेका थिए भने ११ जनामा संक्रमण पुष्टि भएको थियो । यसरी स्वास्थ्य कार्यालयको पछिल्ला केही तथ्याड्ढहरुलाई हेर्दा पनि संक्रमण हुने भन्दै निको हुनेहरुको संख्या बढ्दै गएको प्रष्ट हुन्छ ।
स्वास्थ्य कार्यालयका अनुसार बुधबार तानसेन नगरपालिका भित्रका २० जना संक्रमितले कोरोना जितेका छन् । यस्तै माथागढी गाउँपालिकाका ३ जना, रामपुर नगरपालिकाका ४ जना, रैनादेवी छहरा गाउँपालिकाका, रिब्दीकोट गाउँपालिकाका एक/एक जना र बगनासकाली गाउँपालिकाका ९ जना संक्रमित कोरोनामुक्त भएका हुन् । योसंगै पाल्पामा कोरोना संक्रमणमुक्त हुनेको संख्या एक हजार ८ सय १४ पुगेको स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताए । अहिलेसम्म जिल्लाको माथागढी गाउँपालिकाका ९३ जना, रामपुर नगरपालिकाका २ सय ५७ जना, पूर्वखोला गाउँपालिकाका २ सय ५९ जना, रैनादेवी छहरा गाउँपालिकाका एक सय दुई जना, रम्भा गाउँपालिकाका ९० जना, बगनासकाली गाउँपालिकाका १ सय ३४ जना, तिनाउ गाउँपालिकाका ७१ जना, रिब्दीकोट गाउँपालिकाका ७१ जना, निस्दी गाउँपालिकाका १ सय १७ जना र तानसेन नगरपालिकाका ६ सय २० जना कोरोनामुक्त भएका छन् ।
यस्तै बुधबार पछिल्लो तीन दिनमा पाल्पामा थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । १५ पुरुष र ६ जना महिलामा संक्रमण देखिएको छ । तानसेन नगरपालिकाका ९ पुरुष र ३ महिला गरी १२ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । यस्तै माथागढी, रामपुर, रम्भा र निस्दीका एक÷एक जना, बगनासकालीका ५ जनामा पनि संक्रमण देखिएको छ । योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या एक हजार ८ सय ९० पुगेको छ । समग्रमा हेर्दा संक्रमितको दर निको हुनेहरुको संख्या भन्दा ७६ ले बढी देखिए पनि पछिल्ला दैनिक तथ्याड्ढहरुलाई हेर्दा संक्रमण हुने भन्दा निको हुनेहरुको संख्या बढी देखिएको छ ।
जिल्लामा परीक्षणको दर घटेकाले पनि संक्रमणको दरमा कमी आएको हो । अहिलेसम्म जिल्लामा १२ हजार ९ सय ८३ जनाको पिसिआर परीक्षण गरिएको छ । जसमा ११ हजार ९३ जनामा नेगेटिभ र एक हजार ८ सय ९० जनामा पोजेटिभ देखिएको छ । कोरोनाका कारण अहिलेसम्म ३४ जनाको मृत्यु भएको छ । अहिले कुल सक्रिय संक्रमितको संख्या ४२ पुगेको छ । जिल्लामा अहिलेसम्म १ हजार ८१ जना समुदायस्तरका व्यक्तिहरुमा कोरोना संक्रमण देखिएको छ । ति मध्ये महामारीको अग्रभागमा रहेर काम गर्दै आएका ८५ जना स्वास्थ्यकर्मी रहेका छन् ।