Shittalpati
लुम्बिनी खोप अभियान : ३९ हजारलाई लगाइँदै

लुम्बिनी, लुम्बिनी प्रदेशमा पनि बुधबारदेखि कोभिडविरुद्धको खोप अभियान शुरु भएको छ । प्रदेशमा पहिलो चरणमा ३९ हजारभन्दा बढी व्यक्तिलाई कोभिड विरुद्धको खोप लगाउने तयारी सरकारले गरेको छ । पहिलो चरणमा यो खोप स्वास्थ्यकर्मी, सफाइकर्मी, एम्बुलेन्स र शव वाहनका चालकहरुलाई लगाउन थालिएको छ ।

खोप अभियानको बुधबार लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा मुख्यमन्त्री शंकर पोखरेलले शुभारम्भ गरेका छन् । लुम्बिनी प्रादेशिक अस्पतालमा पहिलो खोप अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.राजेन्द्र खनालले लगाएका छन् । उनले सर्वसाधारणमा खोपप्रतिको आशड्ढा हटाउने सन्देशका लागि आफूले नै पहिलो खोप लगाएको बताए । सो खोपको दोस्रो डोज पुनः २८ दिनपछि लगाइने उनले बताए । डा. खनालका अनुसार लुम्बिनी प्रादेशिक अस्पतालका अधिकांश स्वास्थ्यकर्मी र सफाइकर्मीलाई यो खोप लगाइने छ । अस्पतालका अन्य स्वास्थ्यकर्मीहरुले पनि खोप लगाएका छन् । लुम्बिनी प्रदेशमा सरकारले ३९ हजार ४ सय ९५ जनाको लागि आठ हजार ७ सय ६८ भायल खोप आएको लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी डा.पुष्पराज पौडेलले जानकारी दिए । त्यसमध्ये सबैभन्दा बढी रुपन्देहीका लागि ३३ हजार ४ सय २० डोज छुट्याइएको छ । यो खोपको बुधबार एकै दिन प्रदेशअन्तर्गत तराईका छ जिल्लाका आठवटा खोप केन्द्रहरुमा शुभारम्भ गरिएको समेत उनले जानकारी दिए । प्रदेशका पहाडी जिल्लामा भने माघ १७ गतेबाट शुभारम्भ गरिने छ । लुम्बिनी प्रदेश अन्तर्गत शुरु गरिएका केन्द्रहरुमा रुपन्देहीको लुम्बिनी प्रादेशिक अस्पताल र भीम अस्पताल भैरहवा, बाँकेको भेरी अस्पताल नेपालगञ्जमा, दाङको राप्ती प्रादेशिक अस्पताल र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र अन्य जिल्लामा भने सम्बन्धित जिल्लाका जिल्ला अस्पतालहरुमा केन्द्र तोकेर खोप सेवा शुरु गरिएको डा.पौडेलले जानकारी दिए ।

खोपका बारेमा सर्वसाधारणमा रहेको आशड्ढा हटाउन नै स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीलाई खोप दिइएको समेत उनले बताए । उनले पहिलो खोप लगाएको २८ दिनमा दोस्रो मात्राको खोप लगाउनुपर्ने बताए । लुम्बिनी प्रदेशमा मंगलबार सम्मको तथ्याड्ढ अनुसार २७ हजार १८ जनामा कोरोना संक्रमण देखिएको यसमध्ये २६ हजार १ सय ४ जना निको भएर घर फर्किएका छन् भने हाल ५ सय २९ जना उपचाररत रहेको मन्त्रालयको तथ्याड्ढमा उल्लेख गरिएको छ । –रासस

प्रकाशित मिति: बुधबार, माघ १४, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update