Shittalpati
पाल्पामा ४ सय ६५ जनाले लगाए कोरोना विरुद्धको खोप

पाल्पा, जिल्लामा बिहीबारदेखि कोरोना विरुद्धको खोप अभियान सुरु भएको छ । देशका अन्य जिल्लामा बुधबारदेखि सुरु गरिएको भए पनि पाल्पामा भने बिहीबार देखि सुरु भएको हो । लुम्बिनी प्रदेश सरकारले पाल्पा जिल्लालाई माघ १७ गतेदेखि खोप लगाउन निर्देशन दिए पनि पछि माघ १५ गतेदेखि नै सञ्चालन गर्न परिपत्र गरेको थियो । सोही बोमोजिम जिल्ला स्वास्थ्य कार्यालयले खोप अभियान अगाडि बढाएको छ ।

जिल्लामा बिहीबार र शुक्रबार गरी ४ सय ६५ जनाले खोप लगाएको जिल्ला स्वास्थ्य कार्यालय सूचना अधिकारी ओमप्रकाश पन्थीले बताए । माघ १५ गते जिल्ला अस्पतालमा भएको खोप कार्यक्रममा अस्पतालका निमित्त सुपरिटेन्डेन डाक्टर जगदिश कुँवरले पहिलो खोप लगाएका थिए । पहिलो खोप लगाउन पाउँदा खुशी लागेको उनले बताए । उनले भने ‘आफूलाई कुनै पनि समस्या भएनन्, निर्धक्क भएर सबैले खोप लगाउँदा हुन्छ ।’ खोप लगाइसकेपछि कोरोना भाइरस संक्रमण हुने सम्भावना न्यून हुने र यदि संक्रमण भइहाले पनि कडा लक्षण नदेखिने उनले बताए ।

जिल्लामा पहिलो दिन बिहीबार ५० जनाले कोरोना विरुद्धको खोप लगाएका थिए । जिल्ला अस्पताल, लुम्बिनी मेडिकल कलेज, प्रभास र युनाईटेड मिशन अस्पताल तानसेनमा गरी ५० जनाले खोप लगाएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी पन्थीले जानकारी दिए । त्यस्तै दोस्रो दिन शुक्रबार ४ सय १५ जनाले खोप लगाएका छन् । दोस्रो दिन रामपुरमा समेत खोप लगाइएको थियो । अस्पतालका स्वास्थ्यकर्मी, कर्मचारी, एम्बुलेन्स चालक, नगरपालिकाका सरसफाईकर्मी लगाएतले खोप लगाएका हुन् । पाल्पाका लागि २ हजार २ सय जनालाई पुग्ने गरी खोप प्राप्त भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, माघ १७, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update