पाल्पा, पाल्पामा थप २५ जना संक्रमित कोरोनामुक्त भएका छन् । जिल्ला स्वास्थ्य कार्यालयलाई गत माघ ११ गतेदेखि माघ १७ गतेसम्मको प्राप्त विवरण अनुसार जिल्लाका विभिन्न स्थानीय तहका २५ जना संक्रमित कोरोनामुक्त भएका हुन् । स्वास्थ्य कार्यालयका अनुसार शनिबार तानसेन नगरपालिका भित्रका १४ जना संक्रमितले कोरोना जितेका छन् । यस्तै माथागढी गाउँपालिकाका ४ जना, रामपुर नगरपालिकाका २ जना, बगनासकाली गाउँपालिकाका २ जना,रम्भा गाउँपालिकाका, तिनाउ गाउँपालिकाका र रिब्दीकोट गाउँपालिकाका एक/एक जना कोरोनामुक्त भएका हुन् ।
यो संगै पाल्पामा कोरोना संक्रमणमुक्त हुनेको संख्या एक हजार ८ सय ३९ पुगेको स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताए । अहिलेसम्म जिल्लाको माथागढी गाउँपालिकाका ९७ जना,रामपुर नगरपालिकाका २ सय ५९ जना, पूर्वखोला गाउँपालिकाका २ सय ५९ जना, रैनादेवी छहरा गाउँपालिकाका एक सय दुई जना, रम्भा गाउँपालिकाका ९१ जना, बगनासकाली गाउँपालिकाका १ सय ३६ जना, तिनाउ गाउँपालिकाका ७२ जना,रिब्दीकोट गाउँपालिकाका ७२ जना, निस्दी गाउँपालिकाका १ सय १७ जना र तानसेन नगरपालिकाका ६ सय ३४ जना कोरोनामुक्त भएका छन् ।
यस्तै शनिबार पछिल्लो एक हप्तामा पाल्पाका थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १५ महिला र ५ जना पुरुषमा संक्रमण देखिएको हो । तानसेन नगरपालिकाका २ पुरुष र १२ महिला गरी १४ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । यस्तै माथागढीका ३, पूर्वखोला, रैनादेवी छहरा, रिब्दीकोटका एक÷एक जनामा संक्रमण देखिएको छ । योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या एक हजार ९ सय २० पुगेको छ । अहिलेसम्म जिल्लामा १३ हजार ३८ जनाको पिसीआर परीक्षण गरिएको छ । जसमा ११ हजार १ सय ३८ जनामा नेगेटिभ र एक हजार ९ सय जनामा पोजेटिभ देखिएको छ । कोरोनाका कारण अहिलेसम्म ३५ जनाको मृत्यु भएको छ । अहिले कुल सक्रिय संक्रमितको संख्या ४६ पुगेको छ । जिल्लामा अहिलेसम्म १ हजार १ सय ११ जना समुदायस्तरका व्यक्तिहरुमा कोरोना संक्रमण देखिएको छ । ति मध्ये महामारीको अग्रभागमा रहेर काम गर्दै आएका ८५ जना स्वास्थ्यकर्मी रहेका छन् ।