Shittalpati
कुष्ठ रोगको समयमै उपचार गरौं

आज विश्व कुष्ठरोग दिवस विभिन्न कार्यक्रम गरी मनाइदै छ । कुष्ठरोग प्रभावितहरू प्रति जागरुकता देखाउने उद्देश्य अनुसार सन् १९५४ देखि विश्वभरबाट यो रोग विरुद्ध मनाउन थालिएको हो । नेपाल सरकारले सन् २०१० मा नेपालबाट कुष्ठरोग निवारण भएको घोषणा गरे पनि नेपालमा कुष्ठरोगीको संख्या बढ्दो क्रममा छ ।
१७ जिल्लाबाट अझै यो रोग हट्न सकेको छैन । उदयपुर, रुपन्देही, महोत्तरी, बर्दिया, रौतहट, मोरङ, नवलपरासी पश्चिम, सिरहा, कपिलवस्तु, अछाम, कैलाली, झापा, सर्लाही, पर्सा, बाँके, बारा र धनुषामा कुष्ठरोग जनस्वास्थ्यको समस्याका रूपमा छ । रोग निवारणमा सरकारले प्राथमिकता नदिँदा संसारकै सबैभन्दा पुरानो मानिएको यो रोगका बिरामी घट्नुको साटो बढिरहेका छन् । यो आफैमा दुःखद् हो । विश्व स्वास्थ्य संगठनका अनुसार प्रति १० हजार जनसंख्यामा एक जना पनि बिरामी नहुनुलाई जनस्वास्थ्य समस्या नभएको मानिन्छ । तर नेपालमा भने कुष्ठ रोगीको संख्या धेरै छ । प्राथमिकतामा नपर्दा सन् २०२० सम्म देशबाट कुष्ठरोग उन्मूलन गर्ने सरकारको रणनीति असफल भएको छ ।

नेपालमा कुष्ठरोगको कारण अपांगता, असहाय तथा विपन्न भएकालाई समुचित व्यवस्थापन गर्दै जानु अहिलेको चुनौती हो । तर कुष्ठरोग समयमै पत्ता लगाई उपचार गरेमा कुरूप तथा अङ्गभङ्ग हुनबाट जोगिनुका साथै रोग निको हुनेमा सन्देह छैन । कुष्ठरोग बहु औषधी उपचार विधिबाट निको हुने रोग हो । यसको नियन्त्रण र उल्मूलनतर्फ स्वास्थ्यकर्मी, यससँग सम्बद्ध संघसंस्था, समाजसेवी क्रियाशील रहँदै आए पनि लक्ष्यमा पुग्न अझै धेरै गर्न बाँकी छ । त्यसैले यस रोगलाई हेलचक्राईंको रूपमा नहेरी कार्यक्रम विस्तार गर्दै थप प्रतिफलउन्मुख बनाउन आवश्यक छ । कुष्ठप्रभावित आर्थिक, मानसिक र शारीरिक रूपले अझै पीडित छन् । कुष्ठरोगको न्यूनीकरण तथा प्रभावितप्रतिको भेदभावको अन्त्य आजको आवश्यकता हो । यस रोगको औषधी नेपालका सबै अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकीमा निःशुल्क पाइन्छ । कुष्ठरोगको एक मात्रा औषधीले ९९ प्रतिशत किटाणु निष्क्रिय पार्ने भएकाले औषधी सेवन गरिसकेका बिरामीबाट यो रोग अरूलाई सर्दैन । यसर्थ यस्ता खालका विरामीहरुको समयमै उपचार गरी कुष्ठप्रभावित व्यक्तिलाई समाजमा आदर सम्मानका साथ स्थापित गराउन जरुरी छ ।

प्रकाशित मिति: आइतबार, माघ १८, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update