रामचन्द्र रायमाझी
पाल्पा, विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले सन् २०१० अर्थात् वि.सं. २०६६ माघ ५ गते नेपाललाई कुष्ठरोग निवारण भएको घोषणा गर्यो । नेपालमा कुष्ठरोग जनस्वास्थ्यको समस्याका रूपमा छैन भनेर एक दशक अघि नै घोषणा गरिए पनि अझै धेरै जिल्लाहरुमा यो रोग हट्न सकेको छैन । रोग निवारणको घोषणा भएको लामो समयपछि पाल्पा भने कुष्ठरोग निवारणको चरणमा पुगेको छ ।
विगतका वर्षहरुको तुलनामा पाल्पामा कुष्ठरोगीहरुको संख्यामा कमी हुँदै गएको जिल्ला जनस्वाथ्य कार्यालयका प्रमुख विश्वनाथ न्यौपानेले बताए । उनले भने,‘पाल्पा अहिले कुष्ठरोग निवारणको चरणमा छ कुष्ठरोग अन्त्य पनि भइनसकेको र विकराल समस्या पनि छैनन् ।’ गत वर्ष कुष्ठरोगीको संख्या १५ रहेको जिल्लामा त्यो संख्या घटेर अहिले १३ मा पुगेको प्रमुख न्यौपानेले बताए । यसरी गत वर्ष र अहिलेको तथ्याड्ढ हेर्दा पाल्पामा कुष्ठरोगीको संख्या घट्दै गएको देखिन्छ । गत वर्षका १५ जना भने औषधी प्रयोगपछि निको भएका छन् । नेपाल सरकारले कुष्ठरोगको उल्मूलनको लागि बहुऔषधि उपचार पद्दति लागू गरेपनि जिल्लामा कुष्ठरोग निवारणको अवस्थामा पुगेको स्वास्थ्य कार्यालयका प्रमुख न्यौपानेले बताए ।
कार्यालयले हरेक वर्ष कुष्ठरोगीहरु देखिएका क्षेत्रमा वा समुदायमा पुगेर सचेतनाका कार्यक्रम, उपचार, परामर्श गर्ने गरेको जनाएको छ । कुष्ठरोग प्रभावितहरू प्रति जागरुकता देखाउने उद्देश्यले सन् १९५४ देखि यो रोग विरुद्ध दिवस समेत मनाउन थालिएको छ । यस वर्षको दिवस आज विभिन्न कार्यक्रमगरि नेपालमा पनि मनाइदैछ । ‘कुष्ठरोगीसँग भेदभाव नगरौँ, कुष्ठरोगीलाई माया गरौँ, कुष्ठरोगी प्रति हुने भेदभाव अन्त्य गरौँ’ भन्ने नारा सहित ६८ औँ विश्व कुष्ठरोग दिवस मनाउन लागिएको हो । कुष्ठरोगका विरुद्ध सर्वसाधारणमा जनचेतना फैलाउने उद्देश्यले देशका विभिन्न जिल्लाहरुमा ¥याली तथा अन्य कार्यक्रमहरु आयोजना गरिंदैछ । स्कुलहरुमा हाजिरी जवाफ, वक्तृत्वकला, निवन्ध लेखन जस्ता प्रतियोगितात्मक क्रियाकलापहरु गरिन्छन् । यद्यपी यस वर्ष कोरोना महामारी जोखिमका कारणले यस्ता कार्यक्रम, ¥यालीहरु र भेलाहरु भने कमै मात्रमा हुने देखिएको छ । नेपालबाट पनि कुष्ठरोग निवारणको घोषणा गरिएको भए पनि निवारणको स्थितिबाट थप न्यूनीकरणतर्फ उन्मुख हुनु तथा कुष्ठरोगको कारण अपांगता, असहाय तथा विपन्न भएकालाई समुचित व्यवस्थापन गर्दै जानु अहिलेको चुनौती बनेको छ । नेपालमा १७ जिल्लाबाट अझै यो रोग हट्न सकेको छैन । उदयपुर, रुपन्देही, महोत्तरी, बर्दिया, रौतहट, मोरङ, नवलपरासी पश्चिम, सिरहा, कपिलवस्तु, अछाम, कैलाली, झापा, सर्लाही, पर्सा, बाँके, बारा र धनुषामा कुष्ठरोग जनस्वास्थ्यको समस्याका रूपमा छ । आर्थिक वर्ष ०७५÷७६ मा मात्रै तीन हजार दुई सय ८२ बिरामी पत्ता लागेका थिए । सोही समयमा दुई हजार नौ सय २१ बिरामीले कुष्ठरोगको औषधी खाइरहेका छन् । रोग उन्मूलन अभियानअन्तर्गत बिरामीको घर समुदायमा पुगेर उनीहरूलाई पनि उपचार, परामर्श गर्ने सरकारको योजना भए पनि अहिले रोकिएको छ। बिरामीमाथि हुने सामाजिक भेदभावका कारण पनि रोग नियन्त्रण चुनौतीपूर्ण हुँदै गएको हो ।
के हो कुष्ठरोग ?
कुष्ठरोग माइक्रोब्याक्टेरियम लेप्री जीवाणुले गर्दा हुने दीर्घरोग हो । यो रोगले मुख्यतः छाला, आँखा र स्नायुमा असर गर्छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार यो रोग शरीरमा धेरै ढिलो गरी फैलिनुका साथै रोगका लक्षण प्रकट हुन पाँचदेखि २० वर्षसम्म लाग्न सक्छ । कुष्ठरोग सरुवारोग भए पनि धेरै कम सर्ने रोग मध्येमा पर्ने चिकित्सकहरू बताउँछन् । धेरै दिनदेखि उपचार नगराएका संक्रमित रोगीको सम्पर्कमा आए मात्र यो रोग सर्ने सम्भावना रहेको हुन्छ ।
कुष्ठरोगका लक्षण : शरीरको कुनै पनि भागमा लाटो वा फुस्रो दाग देखा पर्नु, विस्तारै उक्त दागमा रौं झरेर जानु, पसिना नआउनु र नचिलाउनु यस रोगका लक्षण हुन् । स्नायुमा असर पर्दा हातखुट्टा लगातार झमझम हुने गर्छन् । छालाको नमुनाबाट लिएको तन्तुको रस जाँच गर्दा यो रोगका किटाणु देखा पर्छन् । यस्ता लक्षण देखापरेमा तत्काल नजिकैको स्वास्थ्य संस्थामा गई परीक्षण गराई चिकित्सकको सल्लाहबमोजिम नियमित औषधी सेवन गरेमा कुष्ठरोग पूर्ण रूपमा निको हुन्छ र अंगभंग हुनबाट बच्न सकिन्छ । यस रोगको औषधी नेपालका सबै अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकीमा निःशुल्क पाइन्छ ।