Shittalpati
कक्षा १२ को नतिजा सार्वजनिक

भक्तपुर, राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमी परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को परीक्षाफल सार्वजनिक गरेको छ । आज सोमबार सार्वजनिक गरिएको नतिजानुसार छ हजार ९ सय १६ जनाले ३.६१ देखि ४ जिपिए, ३८ हजार ४ सय ८० जनाले ३.२१ देखि ३.६० जिपिए, एक लाख नौ हजार ३ सय १२ जनाले २.८१ देखि ३.२० जिपिए(स्तरीकृत अङ्क) ल्याएका छन् ।

त्यसैगरी ५२ हजार ४ सय २७ जनाले २.०१ देखि २.४०, सात हजार १ सय ६४ जनाले १.६१ देखि २.०, ३ सय ३३ जनाले १.२१ देखि १.६०, चार जनाले ०.८१ देखि १.२० र १८ हजार ८ सय ८९ जनाले ० देखि ०.८० स्तरीकृत अङ्क ल्याएको बोर्डका सदस्य सचिव दुर्गा अर्यालले जानकारी दिए । परीक्षामा नियमिततर्फ तीन लाख १० हजार ३ सय १६ र ग्रेडवृद्धितर्फ ९१ हजार ९ सय तथा आंशिकतर्फ ३१ हजार ५५ गरी कुल चार लाख ३३ हजार २ सय ७१ जना सहभागी थिए । आंशिकतर्फ एक जनाको परीक्षा रद्द गरिनुका साथै कुल ११ हजार ४ सय ९० जनाको परीक्षा स्थगन गरिएको छ । आंशिकतर्फ २५ हजार २ सय ८८ विद्यार्थी उत्तीर्ण भएका छन् ।

बोर्डले कोरोनाका कारण निर्धारित वार्षिक तालिकाभन्दा ढिला गरी मङ्सिर र संक्रमित परीक्षार्थीको पुस महिनामा परीक्षा सञ्चालन गरेको थियो । कक्षा ११ को प्राप्ताङ्क नभएका र कक्षा १२ को आन्तरिक मूल्याङ्कनको अङ्क प्राप्त नभएका परीक्षार्थीको सम्बन्धित विषयको परीक्षाफल स्थगन गरिएको अर्यालले जानकारी दिए । परीक्षा स्थगन भएका परीक्षार्थीको विवरण बोर्डको बेबसाइटमा हेर्न सकिने छ ।
गत वैशाख ८ गतेदेखि सञ्चालन हुनुपर्ने कक्षा १२ को परीक्षा कोभिड– १९ का कारण पूर्णाङ्क घटाएर गत मङ्सिर ९ गते देखि सञ्चालन गरिएको थियो । कक्षा १२ को परीक्षा ४० प्रतिशत पूर्णाङ्कको मात्र थियो । बाँकी ६० प्रतिशतमध्ये ४० प्रतिशत मूल्याङ्कन कक्षा ११ को नतिजा र २० प्रतिशत आन्तरिक मूल्याङ्कनका आधारमा गरिएको बोर्डले जनाएको छ ।–रासस

 

 

प्रकाशित मिति: सोमबार, माघ १९, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update