पाल्पा, केपी शर्मा ओली नेतृत्वको सरकारले असंवैधानिक भएर गरेको संसद विघटनविरुद्ध प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका भातृ तथा शुभेच्छुक संस्थाहरुले तेस्रो चरणको आन्दोलन अन्तर्गत सोमबार ७७ वटै जिल्लामा विरोध प्रदर्शन गरेका छन् । काँग्रेसका १३ वटै भ्रातृसंस्थाले विरोध प्रदर्शन गरेका हुन् ।
पाल्पा र गुल्मी पनि सरकारको असंवैधानिक कदमका विरुद्ध काँग्रेसका शुभेच्छुक तथा भातृसंस्थाहरुले प्रदर्शन गरेका छन् । पाल्पामा नेपाली काँग्रेसको शुभेच्छुक संस्था नेपाल राष्ट्रिय मगर संघको आयोजनामा तानसेनमा प्रदर्शन भएको हो । प्रदर्शन पछि कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली काँग्रेसका जिल्ला सचिव तथा युवा नेता अजयमान कर्मचार्यले नेपाल कम्युनिष्ट पार्टीको विवादसँग जोडेर प्रतिनिधिसभा विघटन गरिनु दुःखद् भएको बताएका छन् । ‘संविधानमा संसद् विघटनको व्यवस्था नै छैन, व्यवस्थामा नै नभएको कुरा सरकारले गरेको छ’, उनले भने, ‘संविधानको रक्षक राष्ट्रपतिबाट पनि गलत कामको समर्थन भएको छ ।’ प्रमुख प्रतिपक्षी दलको हैसियतले काँग्रेसले आफ्नो नेतृत्वमा बनेको संविधान माथि बलत्कार भइरहेको हेरेर बस्न नसक्ने सचिव कर्मचार्यको भनाइ छ । कार्यक्रममा नेपाल राष्ट्रिय मगर संघका जिल्ला सभापति झमनराज मगर, नेपाली काँग्रेस पाल्पाकी कानुनी सल्लाहकार लालकुमारी राना, नेपाल महिला संघकी नेतृ विजया कार्की, नेपाल तरुणदलका जिल्ला सभापति मेजर सिं केसी, नेपाल भूतपूर्वक सैनिक संघका जिल्ला सभापति विष्णु गाहा, आदिवासी जनजाती संघका जिल्ला सभापति कृष्ण राना लगायतले वर्तमान सरकारको असंवैधानिक कदमको विरोध गरेका थिए ।
नेपाली काँग्रेस गुल्मीले पनि तम्घासमा बिरोध प्रर्दशन गरेको छ । नेपाली काँग्रेसका सम्पूर्ण भातृ संगठनहरूको संयुक्त आयोजनामा भएको विरोध प्रर्दशनको सभालाई सम्बोधन गर्दै नेपाल मगर संघका केन्द्रीय उपाध्यक्ष श्रीप्रसाद भलामीले संविधानको रक्षाका लागि लोकतन्त्रको हिमायती,प्रजातन्त्रको पर्याय नेपाली काँग्रेस सडकमा आउनु परेको बताए । नेपाली कांग्रेस क्षेत्रिय सभापति भगतसिङ खड्काले संविधानको रक्ष ागर्ने दायित्व काँग्रेसको काँधमा आएको बताए । काँग्रेस नेता प्रेम पुन तथा नेपाल दलित संघका जिल्ला अध्यक्ष लुम बहादुर सुनारले जनताले पाँच वर्षका लागि दिएको अभिभारा सरकारलाई पूरा गर्न आग्रह गरे । नेपाल महिला संघका जिल्ला अध्यक्ष लक्ष्मी पाण्डेको सभापतित्व रहेको कार्यक्रमको सञ्चालन नेपाल बिद्यार्थी संघका कार्यवाहक जिल्ला सभापति राम्जी पन्थीले गरेका थिए ।