आज विश्व सिमसार दिवस हो । सिमसार र पानी भन्ने नाराका साथ सन् २०२१ को सिश्व सिमसार दिवस मनाइदैछ । विश्वको पर्यायवरणमा सिमसारको भूमिका अत्यन्त महत्वपूर्ण छ । तर पछिल्लो समय नेपालका धेरैजसो सिमसार क्षेत्रहरु लोप हुने क्रममा छन् । सिमसार क्षेत्र तालका र पानीका स्रोतहरु हुन् । यिनै पानीका स्रोतहरु प्राकृतिक र मानवीय गतिविधिका कारण सुक्दै र विनास हुँदै गएका छन् । सिमसार क्षेत्रका मुलको पानी, वर्षायामका खोला, खहरेखोलाको पानी सिमसार क्षेत्रमा छानिएर सफा हुँदै तालमा पुग्छ । यसैले सिमसार क्षेत्रलाई तालको मृगौला पनि भनिन्छ । नेपालले सिमसार क्षेत्रको महत्वलाई आत्मसाथ गर्दै विसं २०५९ सालमा सिमसार संरक्षण नीतिलाई २०६९ सालमा परिमार्जन र स्वीकृती दिएको छ तथापी सिमसार क्षेत्रहरु जोखिम मै छन् । दलदल प्रांगारिक माटो भएको जमिन वा पानी सहितको प्राकृतिक वा कृत्रिम, स्थायी वा अस्थायी, छ मिटरभन्दा कम गहिराईको न्यून छालयुक्त समुन्द्रसहितको क्षेत्र नै सिमसार क्षेत्र हो ।
यसैगरी पानी कहिल्यै नसुक्ने, धाप, दलदल, सिम घोल, ताल, तलाउ, पोखरी, दह, बाढक्षेत्र, जलाशय, कुण्ड, सिंचित धानखेत, जलक्षेत्रको घाँसे मैदान वा जंगललाई पनि सिमसार भनिन्छ । सिमसार क्षेत्रको संरक्षण हुन नसक्दा पछिल्लो समय जलवायु परिवर्तनको प्रभाव, पानीका स्रोत सुक्दै जानु, दीगो रुपमा पानीको राम्रो प्रयोग हुन नसक्नु लगायतका कारण बढ्दो रुपमा देखिदै आएका छन् । मानव सभ्यताको विकास नै पानीबाट भएको हो । अर्कोतर्फ, सिमसार जैविक विविधताको घर हो, जहाँ चराचुरुङ्गीदेखि विभिन्न प्रजातिका जलचरको बासस्थान हुन्छ । सिमसार नासिंदा जैविक विविधताको घर पनि नष्ट हुन्छ र वातावरणमा खलल पुग्छ । त्यसको प्रत्यक्ष असर मानव जीवनमा पर्दछ । सिमसार सुरक्षाबाट वातावरण संरक्षण मात्र नभई आर्थिक फाइदा पनि लिन सकिन्छ । अहिले विश्वभर पर्या–पर्यटनको विकास भएको छ । त्यसैले पनि सिमसारको संरक्षण गर्न आवश्यक छ । अब विश्व सिमसार दिवसको अवसरमा एक दिन संरक्षणका कुरा गरेर पुग्दैन । ३ सय ६५ दिन नै सिमसारको संरक्षण गर्ने योजना बनाएर लाग्नुपर्दछ । संरक्षण, सम्वद्र्धन र उपयोगितालाई एकीकृत रुपमा अघि बढाए मात्रै सिमसारको अस्तित्व बचाउन सकिन्छ । तसर्थ सिमसार संरक्षणका लागि तीनै तहका सरकार, गैर–सरकारी संघ–संस्थाहरु एक जुट हुन जरुरी छ ।