Shittalpati
पाल्पामा काठ चोरी निकासी बढ्दो, काठ तस्करहरु वन कार्यालयको निसानामा

रामचन्द्र रायमाझी
पाल्पा, पछिल्लो समय पाल्पामा अवैध सालको काठ चोरी निकासी बढ्दै गएको छ । बजारमा काठको माग अत्याधिक बढ्दै गएपछि अवैध काठको चोरी निकासी बढेको हो । वन क्षेत्रमा काठ चोरी निकासी बढेसँगै डिभिजन वन कार्यालय पाल्पाले गस्तीलाई तीव्रता दिएको छ । तस्करको निसानामा चुरे र सिमा नाका क्षेत्रका वनहरु पर्दै गएपछि डिभिजन वन कार्यालयले तस्कारलाई नै निसानामा राखेर गस्तीलाई तिव्रता दिएको हो ।

कार्यालयले जिल्लाको रैनादेवी छहरा गाउँपालिकाको सत्यवती र बल्ढे·ढी क्षेत्रका विभिन्न सामुदायिक मा सालका काठहरु चोरी निकासी भइरहेको सूचना थाहा पाएपछि गस्तीलाई केही दिन अघिदेखि अगाडि बढाउँदै आएको थियो । सवडिभिजन वन कार्यालयका सहायक वन अधिकृत प्रदेशी चौधरीको नेतृत्वमा गएको गस्ती टोलीले सालका काठ चोरी निकासी गर्ने समूहलाई पक्राउ गर्न सफल भएको छ । बुधबार बिहान १ः३० बजेको समयमा गस्ती टोलीले सत्यवती र बल्ढेङ्गढी क्षेत्रका विभिन्न सामुदायिक वनमा सालका काठ काट्दै गरेको अवस्थामा पाँच जनालाई पक्राउ गर्न सफल भएको हो । चन्द्राकार सामुदायिक वन क्षेत्रमा सालको काँचो रुख कटान गरी चिरान गर्दै गरेका सैनामैना नगरपालिकाका पाँच जनालाई पक्राउ गरिएको वन कार्यालयका रेञ्जर यमलाल पोखरेलले बताए । उनका अनुसार टाचा निशाना नलागेको गोलिया र चिरान काठ, आरा, बन्चरो र बन्दोबस्तीका सामानहरु सहित उनीहरुलाई पक्राउ गरिएको हो । उनीहरुले पाल्पाको वनबाट काठ काटेर बाँसगढी, रामापुर नाका हुँदै रुपन्देहीका फर्निचरहरुमा पुर्‍याउने गरेको पाइएको छ । वन कार्यालयले अवैध काठ चोरी निकासीमा संलग्न २ जना फर्निचर मालिकलाई समेत पक्राउ गरेको छ । उनीहरूलाई काठ चोरी निकासीमा संलग्न रहेको प्रमाण भेटेपछि पक्राउ गरिएको पोखरेलले बताए । उनले भने ‘गस्तीमा रैनादेवी छहरा सब डिभिजन वन कार्यालय, तिनाउ सबडिभिजन वन कार्यालय, डिभिजन वन कार्यालय रुपन्देही, चिदीपानी सामुदायिक वन उपभोक्ता समूह र चन्द्राकार सामुदायिक वन उपभोक्ता समूहका व्यक्तिहरुको सामूहिक प्रयासबाट उनीहरुलाई पक्राउ गर्न सफल भएका हौं ।’ पक्राउ परेका सात जना विरुद्ध वन कसुर सम्बन्धी मुद्दा चल्ने कार्यालयका प्रमुख मोहन पौड्यालले बताए । केही समय सालको काठमा गरिएको प्रतिवन्धका कारण बजारमा काठको अभाव हुँदै जाँदा माग बढेकाले पाल्पामा काठ चोरीनिकासी बढ्दै गएको पौड्यालले बताए । वनमा चोरी निकासी बढ्दै गएपछि नियमित रूपमा वनभित्रको विभिन्न क्षेत्रमा गरिने गस्तीलाई तीव्र बनाइएको उनले जानकारी दिए ।

वनमा चोरी निकासी भएको जानकारी भएसँगै तत्काल पुग्ने गरी कार्यालयमा कर्मचारी तयारी अवस्थामा राखिएको पौड्यालको भनाइ छ । वन पैदावर कटानी, चोरी निकासी, वन्यजन्तुको शिकार हुने क्रम बढ्न थालेपछि वन क्षेत्रमा निगरानी बढाइएको हो । स्थानीय प्रशासन, जनपथ प्रहरी, सशस्त्र प्रहरी बलको सहयोगसमेत लिँदै गस्तीलाई बलियो बनाइएको छ । वन उपभोक्ता समूह र वन समूहलाई समेत चनाखो रहन आग्रह गरिएको छ । प्रमुख पौड्यालले भने ‘बजारमा काठको माग बढ्दै गएको मौका छोपेर काठ तस्करी हुन थालेको छ, नियन्त्रण गर्न हामी चनाखो छौँ ।’ केही समय सालको काठ काट्न प्रतिवन्ध लगाइएको थियो । त्यसो भएकाले पनि बजारमा काठको माग बढेको मौकामा काठ चोरी बढ्दै गएको हो । अहिले भने सरकारले सालको काठ फुकुवा गरेको छ । फुकुवा भएपनि जिल्लामा काठ तस्कर भने रोकिएको छैन । वन तस्कर आफ्ना बन्दोबस्तीका समानसहित वनमा पुग्ने गरेका छन्् । उनीहरूले हरिया रूख फँडानी गरेर त्यसलाई गोलिया बनाई निकासी गर्ने गरेको पाइन्छ । केही दिनअघि बल्ढेङ्गढीस्थित जामुने सामुदायिक वनमा १९ वटा सालका काँचो रुख काटिएको थियो । यस्तै जिल्लाको रामपुर नगरपालिका ५ सुन्दर टोलबाट पनि ठूलो परिणाममा अवैध सालको चिरान काठ बरामद गरिएको थियो । त्यसलाई रोक्नका लागि वन कर्यालयले वन क्षेत्रमा गस्ती बढाएको हो । जिल्लामा ७ सय ६ सामुदायिक र १ सय २९ कबुलियती वन छन् । जिल्लाको कुल क्षेत्रफल मध्ये ५२ प्रतिशत वनले ढाकेको छ ।

प्रकाशित मिति: बुधबार, माघ २१, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update