Shittalpati
आमहडतालले पाल्पा पनि ठप्प

पाल्पा, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहको नेपाल बन्दको असर पाल्पामा पनि परेको छ । जिल्लाको सदरमुकाम तानसेन पूर्णरुपमा बन्द भएको छ । प्रचण्ड–नेपाल समूहका कार्यकर्ता बिहानैदेखि बजारका चोक चोकमा छन् । उनीहरुले सरकारले संसदीय सुनुवाइबिनै संवैधानिक निकायमा नियुक्ति गरेको भन्दै विरोध प्रदर्शन गरेका छन् । जिल्लामा दुधका गाडी, एम्वुलेन्स र मोटरसाइकल मात्र फाट्टफुट्ट चलेका छन् ।

बन्दका कारण जिल्लाबाट बाहिने र भित्रिने छोटो तथा लामो दुरीका सवारी साधन पनि चल्न सकेका छैनन् । जिल्लाका ग्रामीण क्षेत्रमा भने अन्य दिनहरु भन्दा गाडीहरु न्यून मात्रमा चलेका छन् । जिल्लाका शैक्षिक संस्थाहरु पूर्णरुपमा बन्द छन् । देशका विभिन्न ठाउँहरुमा झडपसँगै अप्रिय घटनाहरु घटे पनि पाल्पामा अहिलेसम्म त्यस्तो केही नभएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

गृहमन्त्रालयले निर्धक्क भएर यातायात व्यवसाय, उद्योगधन्दा तथा पेशा व्यवसाय सञ्चालन गर्न आग्रह गरेको छ । दैनिकरुपमा सञ्चालित उद्योग, पेशा, व्यवसाय सञ्चालनमा कुनै बाधा अवरोध पुग्न नदिने गरी सुरक्षा निकायबाट आवश्यक सुरक्षा व्यवस्था मिलाइएको मन्त्रालयले बुधबार विज्ञप्तिमार्फत जनाए पनि आम नागरिकले भने उद्योग, व्यवसाय खोल्न सकेका छैनन् ।

मन्त्रालयले नेपालको संविधान र प्रचलित कानूनविपरीत शान्ति सुरक्षामा खलल् पुग्ने, सार्वजनिक तथा निजी सम्पत्तिको तोडफोड, आगजनी, सर्वसाधारण नागरिकले प्रयोग गर्ने यातायात सञ्चालनमा अवरोधलगायत ध्वांसात्मक एवं अवाञ्छित गतिविधि नगर्न सम्बद्ध पक्षसँग अनुरोध गरेको छ ।

शान्ति सुरक्षामा खलल् पुग्ने गरी तोडफोड, आगजनी र जबर्जस्तीलगायतका अवाञ्छित गतिविधि गरेको पाइएमा संलग्न हुनेउपर कानूनी कारवाही गरिने मन्त्रालयले चेतावनी दिए पनि नागरिक ढुक्क भएर पेशा व्यवसाय खोल्न सकेका छैनन् । जसले गर्दा बन्द सफल भएको आन्दोलनरत पक्षले दावी गर्दै आएको छ । सरकारले संसदीय सुनुवाइबिनै संवैधानिक निकायमा नियुक्ति गरेको भन्दै उक्त पार्टीले त्यसको विरोधमा आज बन्द आह्वान गरेको हो ।

 

प्रकाशित मिति: बिहीबार, माघ २२, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update