पाल्पा । पाल्पामा २ हजार ५ सय बढीले कोरोना विरुद्धको खोप लगाएका छन् । माघ १५ गतेदेखि सञ्चालन भएको खोप अभियानमा बिहीबारसम्ममा जिल्लाका २ हजार ५ सय ४३ जनाले कोरोना विरुद्धको खोप लागाएका हुन् । बिहीबार ३ सय २० जनाले लगाएसँगै जिल्लामा कोरोना विरुद्धको खोप लगाउनेको संख्या २ हजार ५ सय ४३ पुगेको जिल्ला स्वास्थ्य कार्यालय सूचना अधिकारी ओमप्रकाश पन्थीले बताए । उनका अनुसार एक हजार १५ जना स्वास्थ्यकर्मी, ५ सय ७६ जना स्वास्थ्य संस्थाका अन्य कर्मचारी, ५ सय ४६ जना महिला स्वास्थ्य स्वयसेवीका, २७ जना पालिकाका सरसफाईकर्मी, ३७ जना एम्वुलेन्स/शववाहन चालक, ४६ जना शव व्यवस्थापन कर्मचारी र २ सय ९४ जना कारागारका कैदीसँगै संरक्षकहरुलाई खोप लगाइएको हो । पहिलो खोप लगाउन पाउँदा जिल्लाका स्वास्थ्यकर्मीहरु खुशी भएका छन् । उनीहरुले आफूलाई कुनै पनि समस्या नभएको र निर्धक्क भएर सबैले खोप लगाउन आग्रह गर्दै आएका छन् । खोप लगाइसकेपछि कोरोना भाइरस संक्रमण हुने सम्भावना न्यून हुने र यदि संक्रमण भइहाले पनि कडा लक्षण नदेखिने उनीहरुको भनाई छ । जिल्ला अस्पताल, लुम्बिनी मेडिकल कलेज, प्रभास, युनाईटेड मिसन अस्पताल र रामपुर अस्पतालबाट खोप लगाइएको छ । अस्पतालका स्वास्थ्यकर्मी, कर्मचारी, एम्बुलेन्स चालक, नगरपालिकाका सरसफाईकर्मी लगाएतले खोप लगाएका छन् ।
देशभर एक लाख बढीले लगाए
यस्तै कोरोना भाइरस (कोभिड १९) विरुद्धको खोप अभियान अन्तर्गत बिहीबारसम्म देशभर एक लाख ५८ हजारभन्दा बढीले खोप लगाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै ७७ जिल्लाका २ सय १ खोप केन्द्रबाट कुल १ लाख ५८ हजार ४ सय ८७ जना लक्षित वर्गले खोप लगाएको जानकारी दिएको छ । प्रदेश १ मा २१ हजार ७ सय ५४, प्रदेश २ मा २१ हजार १ सय ८५, बागमती प्रदेशमा ५५ हजार ५सय ४, गण्डकी प्रदेशमा १७ हजार २ सय ६७, लुम्बिनी प्रदेशमा २३ हजार ७ सय ९८, कर्णाली प्रदेशमा ८ हजार ७२ र सुदूरपश्चिम प्रदेशमा १० हजार ९सय ७ जनाले खोप लगाएको मन्त्रालयले जनाएको छ । माघ १४ गतेबाट सुरु भएको खोप अभियान शनिबारसम्म चल्ने भन्दै मन्त्रालयले सूचना प्रणालीमा दर्ता नभएका कारण खोप सेवा लिनबाट वञ्चित हुन नदिन नेपाल मेडिकल काउन्सिल, नेपाल नर्सिङ काउन्सिल, नेपाल स्वास्थ्य व्यवसायी परिषद्, नेपाल अयुर्वेद मेडिकल काउन्सिल र नेपाल फार्मेसी काउन्सिलको दर्ता प्रमाण पत्र र फोटोसहितको परिचयपत्र लिई आएमा सम्बन्धित खोप केन्द्रले खोप लगाउने व्यवस्था मिलाउन समेत सूचित गरेको छ ।