.jpg)
पाल्पा, नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधान नै नरहे चुनाव हुन नसक्ने बताएका छन् । शुक्रबार पाल्पाको रामपुरमा नेपाली काँग्रेस रामपुर नगर र नेपाल प्रेस युनियन रामपुरले आयोजना गरेका छुट्टाछुट्टै कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री केपी शर्मा ओली संविधानको मर्म विपरित प्रतिनिधिसभाको विघटन गरी निर्वाचनको मिति घोषण गरी अगाडि बढेको विषयतर्फ संकेत गर्दै संविधान नै मासेर चुनाव हुन नसक्ने बताएका हुन् ।
पौडेलले संविधानमा टेकेर मात्र चुनाव गर्न सकिने भन्दै संविधानलाई पहिला बचाएर मात्र चुनावमा जान सकिने धारण व्यक्त गरे । उनले भने,‘संविधान नै नरहे चुनाव कसरी हुन्छ ? चुनाव संविधानमा टेकेर मात्र हुन्छ । संविधानलाई पहिला बचाएर, असंवैधानिक कदमलाई सच्याएर मात्र चुनावमा जान सकिन्छ ।’ उनले संविधान नै गएपछि चुनाव लड्नुको औचित्य नरहेको बताए । नेपाली काँग्रेस लोकतान्त्रिक पार्टी भएकाले संविधानलाई टेकेर मात्र चुनावमा जाने भन्दै असंवैधानिक कदमलाई सच्याउनु पर्नेमा जोड दिए । वर्तमामन अवस्थामा काँग्रेसलाई चुनावमा जाँदा फाईदा हुने भएपनि काँग्रेस फाईदाको लागि मात्रै हिड्ने पार्टी नभएको नेता पौडेलले प्रष्ट पारे । ‘चुनावको आफ्नै विधि, प्रक्रिया छन् सोही अनुसार चुनाव हुनु पर्छ भन्ने हाम्रो धारणा हो । काँग्रेस चुनावबाट कहिल्यै भाग्दैन’उनले भने ।
नेता पौडेलले नेपाली जनताले नेकपालाई बहुमतले जनमत दिएर पठाए पनि जनमतको रक्षा गर्न नसकेको आरोप लगाउँदै प्रतिनिधिसभा विघटनले देशमा अन्यन्तै ठूलो विषम परिस्थिति सिर्जना भएको बताए । बहुमतको प्रधानमन्त्रीबाट प्रतिनिधिसभा विघटनको प्रावधान संविधानमा नभएको जिकिर गर्दै उनले विश्वासको मत लिन नसकेका अवस्थामा मात्र विघटन गर्ने अधिकार रहेको धारण व्यक्त गरे ।
नेता पौडेलले संविधान विपरीत अध्यादेश ल्याएर संसदीय सुनुवाइलाई समेत छलेर गरिएका संवैधानिक नियुक्तिहरु घोर आपत्तिजनक रहेको बताए । उनले भने ‘ओली सरकारले संविधान विपरीत अध्यादेश ल्याएर संसदीय सुनुवाइलाई समेत छलेर गरिएका संवैधानिक नियुक्तिहरु घोर आपत्तिजनक मात्र हैन लोकतान्त्रिक मूल्य मान्यता विपरीत छन् ।’
नेपाली काँग्रेस रामपुरले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा नेपाली काँग्रेस पाल्पाका सभापति तथा प्रदेश सांसद वीर बहादुर रानाले नेकपा सरकारले पार्टीभित्रको आन्तरिक द्धन्द र दुई तिहाईको दम्भका कारण संविधानलाई विखण्डित गर्ने काम गरेको आरोप लगाए । उनले संविधानका मूल्य र मान्यतालाई नै कुल्चिएर संविधान माथि नै सिधै प्रहार गर्ने काम प्रधानमन्त्रीबाटै भएको भन्दै अब चुप लागेर बस्ने अवस्था नरहेको धारणा व्यक्त गरे ।