पाल्पा, पाल्पामा थप ३० जना संक्रमितले कोरोना जितेका छन् । जिल्ला स्वास्थ्य कार्यालयलाई गत माघ १८ गतेदेखि माघ २४ गतेसम्मको प्राप्त विवरण अनुसार जिल्लाका विभिन्न स्थानीय तहका ३० जना संक्रमितले कोरोना जितेका हुन् ।
स्वास्थ्य कार्यालयका अनुसार शनिबार तानसेन नगरपालिका भित्रका २० जना संक्रमितले कोरोना जितेका छन् । यस्तै माथागढी गाउँपालिकाका, रिब्दीकोट गाउँपालिकाका १÷१ जना, रम्भा गाउँपालिकाका २ जना, बगनासकाली गाउँपालिकाका ६ जना संक्रमितले कोरोना जितेका हुन् । यो संगै पाल्पामा कोरोना जित्नेको संख्या एक हजार ८ सय ६९ पुगेको स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताए । अहिलेसम्म जिल्लाको माथागढी गाउँपालिकाका ९८ जना,रामपुर नगरपालिकाका २ सय ५९ जना, पूर्वखोला गाउँपालिकाका २ सय ५९ जना, रैनादेवी छहरा गाउँपालिकाका एक सय दुई जना, रम्भा गाउँपालिकाका ९३ जना, बगनासकाली गाउँपालिकाका १ सय ४२ जना, तिनाउ गाउँपालिकाका ७२ जना,रिब्दीकोट गाउँपालिकाका ७३ जना, निस्दी गाउँपालिकाका १ सय १७ जना र तानसेन नगरपालिकाका ६ सय ५४ जना कोरोनामुक्त भएका छन् ।
यस्तै शनिबार पछिल्लो एक हप्तामा पाल्पाका थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २ महिला र ६ जना पुरुषमा संक्रमण देखिएको हो । तानसेन नगरपालिकाका ५ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । यस्तै रैनादेवी छहराका २ जना, बगनासकालीका १ जनामा संक्रमण देखिएको छ । योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या एक हजार ९ सय २८ पुगेको छ ।
अहिलेसम्म जिल्लामा १३ हजार २ सय ९३ जनाको पिसीआर परीक्षण गरिएको छ । जसमा ११ हजार ३ सय ६५ जनामा नेगेटिभ र एक हजार ९ सय २८ जनामा पोजेटिभ देखिएको छ । कोरोनाका कारण अहिलेसम्म ३५ जनाको मृत्यु भएको छ । अहिले कुल सक्रिय संक्रमितको संख्या २४ पुगेको छ । जिल्लामा अहिलेसम्म १ हजार १ सय १९ जना समुदायस्तरका व्यक्तिहरुमा कोरोना संक्रमण देखिएको छ । ति मध्ये महामारीको अग्रभागमा रहेर काम गर्दै आएका ८५ जना स्वास्थ्यकर्मी रहेका छन् ।