पाल्पा,जिल्लामा सञ्चालित कोभिड १९ विरुद्धको खोप अभियान अन्तगर्त शनिबारसम्म २७ सय बढीले कोरोना खोप लगाएका छन् । जिल्लाका ४ खोप केन्द्रबाट शनिबार ५० जनाले लगाएसँगै कोरोना विरुद्धको खोप लगाउनेको संख्या दुई हजार ७ सय १२ पुगेको हो ।
माघ १५ गतेदेखि सुरु गरिएको खोप अभियानमा शनिबारसम्म आउँदा खोप लगाउने व्यक्ति बढेको देखिन्छ । पाल्पामा जिल्ला अस्पताल, लुम्बिनी मेडिकल कलेज, प्रभास, युनाईटेड मिसन अस्पताल तानसेन र रामपुर अस्पताल रामपुरका केन्द्रबाट कोरोना खोप दिइएको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रका पन्थीले जानकारी दिए । उनका अनुसार अहिलेसम्म जिल्लामा एक हजार ५१ जना स्वास्थ्यकर्मी, ५ सय ९५ जना स्वास्थ्य संस्थाका अन्य कर्मचारी, ५ सय ४८ जना महिला स्वास्थ्य स्वयसेवीका, २७ जना पालिकाका सरसफाईकर्मी, ३८ जना एम्वुलेन्स/शववाहन चालक, १ सय ८ जना शव व्यवस्थापन कर्मचारी, ५० जना वृद्धाश्रमका आश्रित तथा हेरालु,२ सय ९४ जना कारागारका कैदीसँगै संरक्षक र १ जना अन्य व्यक्तिलाई खोप लगाइएको हो ।
पहिलो खोप लगाउन पाउँदा जिल्लाका स्वास्थ्यकर्मीहरु खुशी भएका छन् । उनीहरुले आफूलाई कुनै पनि समस्या नभएको र निर्धक्क भएर सबैले खोप लगाउन आग्रह गर्दै आएका छन् । खोप लगाइसकेपछि कोरोना भाइरस संक्रमण हुने सम्भावना न्यून हुने र यदि संक्रमण भइहाले पनि कडा लक्षण नदेखिने उनीहरुको भनाई छ । जिल्ला अस्पताल, लुम्बिनी मेडिकल कलेज, प्रभास, युनाईटेड मिसन अस्पताल र रामपुर अस्पतालबाट खोप लगाइएको छ । अस्पतालका स्वास्थ्यकर्मी, कर्मचारी, एम्बुलेन्स चालक, नगरपालिकाका सरसफाईकर्मी लगाएतले खोप लगाएका छन् ।