पाल्पा,नेपाल पत्रकार महासंघ पाल्पा शाखाले जिल्लाका क्रियाशिल १८ जना पत्रकारलाई सम्मान गरेको छ । बुधबार महासंघले आफ्नो बाह्रौं वार्षिक साधारणसभाको अवसरमा जिल्लामा क्रियाशील पत्रकारलाई विभिन्न विधामा सम्मान गरेको हो ।
महासंघले दुई जनालाई १५ हजार राशिको उत्कृष्ट पत्रकारिता पुरस्कार प्रदान गरेको छ । यो पुरस्कारबाट रेडियो रामपुरका पत्रकार बासुदेव ढकाल र श्रीनगर रेडियोका देव पचभैया पुरस्कृत भएका छन् । यस्तै, १० हजार राशिकै ग्रामीण पत्रकारिता पुरस्कार रेडियो रामपुरका बन्दना पोखरेल, पाल्पा एफएमका इमान सिं रानाले पाएका छन् । यसैगरी ७ हजार ५ सय राशिको सिर्जनशील पत्रकारिता पुरस्कार सन्तोष बस्याल, रमादेवी अर्याल, भुवन रायमाझी र विजयकुमार बौडेललाई दिइएको छ ।
५ हजार राशिको मानवअधिकार पत्रकारिता पुरस्कार विरेन्द्र घिमिरे, ५ हजार राशिको देवीभक्त चोलकुमारी सामाजिक पत्रकारिता पुरस्कार अनिल लिगल, ३ हजार ५ सय राशिको सामाजिक जागरण पत्रकारिता पुरस्कार तुल बहादुर थापालाई प्रदान गरिएको महासंघले जनाएको छ । त्यस्तै महासंघले ३ हजार राशिको लेखनवृत्ति प्रोत्साहनबाट यज्ञमुर्ति तिमिल्सिना, मुक्तिप्रसाद न्यौपाने, डोल बहादुर विक, दिपक भट्टराई, दयाराज न्यौपाने, विष्णु प्रसाद घिमिरे र भोजराज तिमिल्सिनालाई पुरस्कृत गरेको हो ।
पुरस्कृत पत्रकारहरुलाई पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले नगद र प्रमाणपत्रले सम्मान गरेका थिए । सम्मान गर्दै अध्यक्ष आचार्यले पत्रकारिता क्षेत्रलाई थप सशक्त बनाएर लैजानका लागि सम्मान कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।