रामचन्द्र रायमाझी
पाल्पा, पाल्पाको तानसेनास्थित प्रयोगशालामा किट अभावका कारण कोभिड–१९ को पीसीआर जाँच रोकिएको छ । कोरोना भाइरस जाँचका लागि आवश्यक पर्ने ‘एक्स्ट्रयाक्सन’ किट सकिएपछि बिहीबारदेखि पिसिआर टेष्ट रोकिएको हो । परीक्षण नभएपछि अहिले प्रयोगशाला बन्द रहेको छ ।
प्रयोगशाला सञ्चालनका लागि संघीय सरकारले ४ महिना अघि पाल्पा अस्पताललाई जिम्मा दिएको थियो । अस्पताल प्रशासनसँग कोरोना भाइरस परीक्षण गर्ने किट माग गर्दै आए पनि हालसम्म उपलब्ध हुन नसक्दा प्रयोगशालाको काम नै रोकिएको प्रयोगशालाका इञ्चार्ज सन्दिप कंडेलले बताए । उनले भने ‘तीन हप्ता अघिदेखि नै प्रशासनलाई किट उपलब्ध गराउन भनेका थियौ, तर अन्तिम समयमा आउँदा समेत किट उपलब्ध नभएपछि प्रयोगशाला नै बन्द गर्न बाध्य भएका हौं ।’ तानसेनमा गत असोज २२ गतेदेखि सो प्रयोगशाला सञ्चालनमा आएको हो । तर किट अभाव भएपछि पाल्पाबाट संकलन भएका नमूना परीक्षणको लागि बाहिरी जिल्ला पठाउनु परेको छ ।
शुक्रबार मात्रै मिसन अस्पताल, जिल्लाका विभिन्न विद्यालयका विद्यार्थी र विदेश जान तयारी अवस्थामा रहेका युवाहरु परीक्षणका लागि प्रयोगशाला पुगे पनि परीक्षण बन्द भएकाले त्यत्तिकै फर्किनु परेको थियो । प्रयोगशाला बन्द रहे पनि दैनिक ४०/५० जनाको हाराहारीमा परीक्षणका लागि प्रयोगशालामा आउने गरेको प्रयोगशालाका इञ्चार्ज कंडेलले बताए । उनका अनुसार केही मात्रामा पिसिआर किट भएपनि ‘एक्स्ट्रयाक्सन’ किट सकिएकाले पिसिआर जाँच बन्द भएको हो । इञ्चार्ज कंडेलले भने, ‘हामीले स्टक छदै माथि जानकारी गराएका थियौं, तर प्रशासनले कतैबाट अनुदान आएमा किट पठाउने भन्ने जवाफ मात्रै दिने गरेको छ ।’ अस्पतालका अध्यक्ष नेत्रप्रसाद पाण्डेय कोभिड भएपछि आइसोलेशन रहेका बेला अस्पताल प्रशासनले त्यसतर्फ चासो नदेखाएको ल्यावका कर्मचारीहरुको गुनासो छ । यस विषयमा अस्पतालका अध्यक्ष पाण्डेयसँग बुझ्दा आफु कोभिड भएका कारण उपचारमै रहेको र शुक्रबार मात्र प्रयोगशाला बन्द भएको जानकारी प्राप्त भएको बताए । अध्यक्ष पाण्डेयले भने ‘यि स–साना कुराको व्यवस्थापन प्रति प्रशासनका कर्मचारीहरुले ध्यान नदिँदा समस्या आएको हो ।’ उनले आफु छिट्टै निको भएर आएपछि किटको व्यवस्था गरी प्रयोगशाला सञ्चालनमा ल्याइने बताए ।
प्रयोगशाला स्थापना भएपछि पाल्पामा ४ हजार किट आएको थियो । यहाँ दैनिक सरदर ४० देखि ५० वटा किट खपत हुने गरेको प्रयोगशालाले जनाएको छ । अहिलेसम्म ३ हजार ९ सय ९२ जनाको पिसिआर परीक्षण गरिएको छ । अस्पताल प्रशासनले प्रयोगशाला सञ्चालनमा ध्यान नदिएको गुनासो आएपछि एनजेडीले यस विषयमा अस्पतालका मेसु डा.जगदीश कुंवरसँग पनि बुझ्दा उनले प्रदेश सरकार र संघीय सरकार समक्ष किट माग गरेको बताए । किट खरिदका लागि ठूलो रकम आवश्यक पर्ने भएकाले अस्पतालले रकम जुटाउन नसक्दा समस्या उत्पन्न भएको डा. कुंवरको भनाई छ । चार महिनासम्म परीक्षण गर्दा प्राप्त भएको रकमबाट नै किट खरिद गर्न सकिने भएपनि मेसु कुंवरले भने त्यो रकमबाट किट खरिद गर्न नसकिने बताए ।