Shittalpati
पाल्पा महोत्सवको दोस्रो दिन, पाँच हजार बढी दर्शक सहभागी

पाल्पा । पाल्पा व्यापार संघद्वारा आयोजित पाल्पा महोत्सवको दोस्रो दिन शुक्रबार ५ हजार बढी दर्शकले मेलाको अवलोकन गरेका छन् । तानसेन ९, माडीफाँट दमकडामा जारी महोत्सवमा शुक्रबार चर्चित लोक तथा दोहोरी गायक तेजस रेग्मी, हास्य कलाकार विष्णु जी पाण्डेय (माइला बा), दोहोरी गायिका रेखा बुढाथोकी र आधुनिक गायिका जमुना बिसी, लोक गायक सुमन गैरेले प्रस्तुति दिएका थिए ।

महोत्सवको पहिलो र दोस्रो दिन गरी करिब ९० लाखको कारोबार भएको आयोजकले जनाएको छ । महोत्सवमा कृषि सम्बन्धी २५, पर्यटन सम्बन्धी दश, लत्ताकपडा सम्बन्धी ५०, घरेलु तथा साना उद्योागका दश, बैंक तथा संघसंस्थाका २०, तथा अन्य राष्ट्रिय तथा बहुराष्ट्रिय कम्पनीका स्टल रहेको स्टल संयोजक कमल ढकालले जानकारी दिए । उनका अनुसार स्टलमा दमकडा माविका विद्यार्थीहरुले तयार गरेको भावी माडीको रुपरेखा दर्शकका लागि आकर्षक बनेको छ । यस्तैगरी पाल्पाका घरेलु उद्योगको रुपमा बिस्तार भएका फलामका औजार, तरकारी, मौरीका स्टलमा समेत सहभागीको भीड लागेको छ । ग्रामीण क्षेत्रमा पनि मेला महोत्सवको सम्भावना भएकाले यो पटक सहर उन्मूख क्षेत्र माडीको दमकडामा पाल्पा महोत्सव गरिएको आयोजकले जनाएको छ । महोत्सव मूल आयोजक समितिका संयोजक एवं पाल्पा व्यापार संघका अध्यक्ष चिरन्जीवि पोखरेलले ग्रामीण क्षेत्रमा गरिएको महोत्सवले बजारमा पुगेका मानिसलाई गाउँमा फर्काउन सहयोग गर्ने बताए ।


कार्यक्रममा शुक्रबार छमछम कला केन्द्र, साइनिङ् स्टार डान्स एकाडेमीको नृत्य तथा कर्णाधार माध्यमिक विद्यालय र विक्रम आधारभूत विद्यालयको नृत्य प्रस्तुत गरिएको साँस्कृतिक उपसमितिका संयोजक थानेश्वर गैरेले जानकारी दिए । उनका अनुसार आज (शनिबार) गायिका ज्योति मगर, लोकपप गायक अर्जुन कौशल, लोकदोहोरी गायक मोहन खड्का, पाल्पा लोक आइडल धनमाया दिशुवा मगरको प्रस्तुति रहनेछ । यस्तैगरी हाँस्य कलाकार नारायण खड्का, दमकडा समूहको झ्यारे, शौभाग्य कला केन्द्र चिदीपानी र संगीता एण्ड द ग्रुप व्याण्डको समेत नृत्य र विद्यालय स्तरीय प्रतियोगितात्मक प्रस्तुति हुने संयोजक गैरेले जानकारी दिए ।

प्रकाशित मिति: शनिबार, फागुन ३, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update