इमान सिं राना
पाल्पा (रामपुर) । रामपुर नगरपालिका वडा ४ ले वडाका विद्यालयहरुलाई विरुवा सहितको गमला वितरण गरेको छ । विद्यालय कोठाको वातावरणलाई हराभरा सहित व्यवस्थित बनाउन प्रेरित गर्ने उद्देश्यले वडाका ५ विद्यालयलाई गमला वितरण गरेको हो ।
सीताराम माध्यमिक विद्यालय, कालिका आधारभूत विद्यालय, लक्ष्मी आधारभूत विद्यालय, मदरसा नुरुल हुदा अहले सुन्न प्राथमिक विद्यालय र मदरसा नुरुल हँुदा आधारभूत विद्यालयलाई एक कार्यक्रम गरी वडा कार्यालयले गमला वितरण गरेको हो । गमला हस्तान्तरण गर्दै वडा ४ का वडा अध्यक्ष एकबहादुर नेपालीले विद्यार्थीहरुलाई विरुवाको महत्वको बारेमा सचेत गराउनुका साथै विद्यालयको हरभरा वातावरण निर्माणमा प्रेरित गर्न गमला वितरण गरिएको बताए ।
कार्यक्रममा नेपाली कांग्रेस वडा सभापति वसन्तराम ठाडा, सीताराम माविका प्रधानाध्यापक हरिप्रसाद अधिकारीले वातावरण हराभरा मात्र नभई शैक्षिक वातावरणमा यसले राम्रो प्रभाव पार्ने बताएका थिए । नगरको एक घर दुई विरुवा कार्यक्रम अन्तर्गत वडाले यस पटक वडा भित्रका विद्यालयहरुलाई मात्र विरुवा सहितको गमला वितरण गरेको हो । जसमध्ये माध्यमिक तहका विद्यालयलाई २० वटा, आधारभूत तहका विद्यालयलाई १५ वटा र प्राथमिक तहका विद्यालयलाई १० वटा गमला हस्तान्तरण गरिएको थियो । गमलामा विरुवा रोप्ने प्रविधि, सिंचाई र रेखदेखका सम्बन्धमा पुष्प व्यवसायी दिलबहादुर थापाले जानकारी दिएका थिए । त्यस्तै वडाले दलित वर्ग लक्षित कार्यक्रम अन्तर्गत आरन व्यवसायलाई संरक्षण तथा प्रवद्र्धन गर्न तीन जनालाई आरन पंखा र दुई जनालाई आरन व्यवस्थापनको लागि छानो छाउन जस्तापाता वितरण गरेको छ । साथै सुन्दरटोल बाजा समूहलाई पोशाक समेत प्रदान गरिएको छ । वडा अध्यक्ष एकबहादुर नेपालीको अध्यक्षतामा भएको कार्यक्रम वडा सदस्य मकबुल मियाँको स्वागत र वडा सचिव रजनी भण्डारीको सञ्चालनमा भएको हो । सोही कार्यक्रमको अवसरमा रामपुर नगरपालिका वडा ४ मा एक वडा एक प्राविधिकमा छनौटमा भई आएका कर्मचारी युवराज नेपालीलाई स्वागत गरिएको थियो ।