Shittalpati
बगनासकाली गाउँपालिकाद्वारा नेपालकै पहिलो बालमैत्री नगरको अध्ययन, अवलोकन

रामचन्द्र रायमाझी
पाल्पा । नेपालकै दोस्रो र प्रदेश पाँचमा पहिलो बालमैत्री गाउँपालिका घोषणाको अन्तिम चरणमा रहेको जिल्लाको बगनासकाली गाउँपालिकाले नेपालकै पहिलो बालमैत्री नगरको अध्ययन, अवलोकन गरेको छ ।

बालमैत्री स्थानीय शासनका ८० प्रतिशत सुचकांङ्क पूरा गरी गाउँपालिका भित्रका सबै विद्यालय बालमैत्री घोषणा गरिसकेको गाउँपालिकाको एक टोलीले पश्चिम नवलपरासीमा रहेको नेपालकै पहिलो बालमैत्री नगर सुनवल नगरपालिकाको अध्ययन, अवलोकन गरेको हो । बालमैत्री भइसकेका स्थानीय तहबाट आवश्यक विषयहरुको ज्ञान हासिल गरी गाउँपालिकालाई बालमैत्री घोषणामा टेवा पुग्ने उद्देश्यले बालमैत्री स्थानीय शासन कार्यक्रम अन्तर्गत पालिकास्तरीय समितिका पदाधिकारी, बालसञ्जाल, बालसंरक्षण तथा सम्वद्र्धन समितिका पदाधिकारी, सहयोग समिति, पत्रकार लगायतको टोलीले सुनवल नगरपालिका भित्र रहेका बालमैत्री विद्यालय र त्यहाँको अवस्थाको विषयमा अध्ययन, अवलोकन गरेको छ । टोलीले नगरभित्र रहेको पहिलो बालमैत्री विद्यालय भगवती माविको शैक्षिक, भौतिक, सामाजिक अवस्थाको अध्ययन गरेको हो ।

अध्ययनका क्रममा विद्यालयमा अपाड्ढमैत्री शैचालय निर्माण गरेको, विद्यालयका हरेक गतिविधि तथा क्रियाकलापहरुमा बालबालिकाको सहभागिता सुनिश्चित गरेको, विद्यालयमा बाल क्लव गठन गरेको लगायतका विषयहरु पाइएको बगनासकाली गाउँपालिकाका बालमैत्री स्थानीय शासनका फोकलपर्सन मनोज आचार्यले बताए । उनले भने ‘अध्ययनबाट आफुहरुलाई बालमैत्री गाउँपालिका घोषणाका लागि महत्वपूर्ण टेवा पुग्ने छ ।’ विद्यालयहरुको अध्ययन अवलोकन पछि अध्ययनटोली र सुनवल नगरपालिकाको बालमैत्री स्थानीय शासनका पदाधिकारीहरु बीच अन्तक्र्रिया कार्यक्रम समेत भएको थियो ।

कार्यक्रममा बालमैत्री घोषणाको विगत र वर्तमान अवस्था, चुनौती, अवसरका विषयमा अन्तक्र्रिया भएको थियो । कार्यक्रममा बगनासकाली गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्यालले गाउँपालिकाले ८० प्रतिशत सुचकांङ्क पूरा गरिसकेको र थप सूचकाड्ढहरु पूरा गर्नका लागि आवश्यक ज्ञान लिन अध्ययन, अवलोकन गरिएको बताए । उनले भने ‘अध्ययन अवलोकनबाट देखेका र सिकेका विषयहरुलाई तत्कालै कार्यान्वयन गरी गाउँपालिकालाई फागुन महिना भित्रमै बालमैत्री घोषणा गछौं ।’

कार्यक्रममा सुनवल नगरपालिकाका बालमैत्री फोकल पर्सन चुरामणी नेपालले असल नागरिक उत्पादन गर्न जनप्रतिनिधि, कर्मचारी, बालसञ्जाल प्रतिवद्ध भएर लाग्न सके बालमैत्री घोषणाले सार्थकता पाउने बताए । बालमैत्री घोषणाका लागि केही महत्वपूर्ण सुचकांङ्क हरु पूरा गरी घोषणा गर्ने र बाँकी सुचकांङ्कहरु क्रमशः पूरा गर्दै जान सकिने फोकल पर्सन नेपालले जनाए । घोषणाको चरणमा रहेका बेला अध्ययन, अवलोकन र अन्तक्र्रियाले थप हौसला र उत्प्रेरणा जगाएको बगनासकाली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुन्दरप्रसाद श्रेष्ठले बताए । उनले भने ‘अवलोकनका क्रममा धेरै विषयहरुको ज्ञान हासिल गर्न सफल भएका छौं, अध्ययनबाट सिकेका कुराहरुलाई व्यवहारमा उतारी छिट्टै नै बालमैत्री गाउँपालिका घोषणा गर्छौ ।’

पूर्णसंस्थागत सुत्केरी गाउँपालिका घोषणा गरिसकेको गाउँपालिका नेपालकै दोस्रो र प्रदेश पाँचमा पहिलो बालमैत्री गाउँपालिका घोषणा गर्ने अन्तिम तयारीमा जुटेको हो । बालमैत्री विद्यालयका निश्चित मापदण्ड पूरा गरेको बगनासकाली गाउँपालिकाले पालिका भित्रका ३७ वटा सामुदायिक तथा संस्थागत विद्यालयहरुलाई निर्धारण गरिएका सूचकहरुको उपलब्धिको आधारमा बालमैत्री घोषणा गरिसकेको छ । २८ हजार २ सय ६० जना बालबालिका रहेको सुनवल नगरपालिका २०७५ साल भाद्र ३ गते नेपालको पहिलो बालमैत्री नगर घोषणा भएको थियो ।

प्रकाशित मिति: शनिबार, फागुन ३, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update