मानव विकाससँगै वन्यजन्तु संकटमा परेका छन् । मानिस जंगलको आडमा र त्यसमा आश्रित हुँदै जीवन चलाइरहेका हुन्छन् । उनीहरु आफ्नो जीविकोपार्जन, ओखती र इन्धनका निम्ति जंगलसँग आश्रित हुनुपर्दछ । जसले गर्दा वन्यजन्तुलाई ठूलो हानी हुने गरेको छ । त्यत्ति मात्र होइन मानिसले वन्यजन्तुको सिकार गरेका कारण पनि अहिले वन्यजन्तु लोप हुँदै गएका छन् । केही समययता चितवन राष्ट्रिय निकुञ्जमा रहेका संरक्षित गैंडाहरू ठूलो संख्यामा मारिन थालेको खबर दुःखदायी छ । सन् १९८४ मा विश्व सम्पदा क्षेत्रका रूपमा सूचीकृत भएको चितवन राष्ट्रिय निकुञ्ज हाल ‘तस्कर सिकारीहरूका निम्ति स्वर्ग’ सावित भइरहेको बारेमा बारम्बार समाचार आइरहेका छन् । निकुञ्जमा हुने चोरी सिकारीलाई नियन्त्रण गर्न नेपाल सरकारका विभिन्न निकायहरूले काम गरिरहेका छन् । तर, चोरी समस्याको कारक तत्व नै सर्वप्रथम ठम्याउनु आवश्यक छ । वन्यजन्तुको संरक्षण भनेको मानवका दीर्घकालीन अवस्थितिको मुख्य आधार हो ।
विश्वमा पाइने सम्पूर्ण जंगली जनावर र रुख–बिरुवाहरुबारे सचेतना जगाउन अनि तिनको संरक्षण सम्वद्र्धन गर्न हरेक वर्ष विश्व समुदायले मार्च–३ तारिखका दिनलाई विश्व वन्यजन्तु दिवस मनाउँछ । बुधबार पनि विविध कार्यक्रमहरु गरी यो दिवस मनाइएको छ । तर पनि दिवसले सार्थक रुप भने लिएको पाइदैन । दिवसका दिन वन्यजन्तुहरुको अवस्था के कस्तो छ, वन्यजन्तु ऐन तथा तिनीहरुको कार्यान्वयनको स्थिति कत्तिको भरपर्दो र विश्वसनीय छ भन्ने बारेमा व्यापक बहस हुन सकेको छैन । यो अत्यन्त दुखको कुरा हो । वन्यजन्तु संरक्षणले पर्या–पर्यटनको विकासमा समेत ठोस योगदान पु¥याउने कुरालाई कसैले पनि भुल्न हुँदैन । विश्वमै सबैभन्दा बढी सिकारको पीडा भोगिरहेका वन्यजन्तु प्रकृतिका लागिमात्रै नभएर मानवमात्रका निम्तिसमेत हितकर छन् । यसर्थ प्राणी र रुखबिरूवाहरुको अवस्थितिले मात्र पनि इकोसिस्टम गतिशील हुने हुनाले तिनीहरुको संरक्षण र संवद्र्धनका लागि सबैले ध्यान दिन जरुरी छ ।