Shittalpati
गुल्मीमा पनि राखियो एमालेको बोर्ड

गुल्मी, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गुल्मीको पार्टी कार्यालयमा नेपाल कम्युनिष्ट पार्टी एमाले लेखिएको बोर्ड राखिएको छ । जिल्ला सदरमुकाम तम्घास स्थित मदन आश्रीत भवनमा पार्टीका जिल्लास्तरका नेता तथा कार्य कर्ताहरुको उपस्थितीमा बोर्ड राखिएको अनेरास्ववियूका केन्द्रीय सचिवालय सदस्य काशीराम पाण्डेयले जानकारी दिए ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लेखिएको ठाउँमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) लेखिएको हो । सर्बोच्च अदातलको फैसलाबाट पुनःस्थापित नेकपा एमाले भएपछि जिल्ला पार्टी कार्यालयमा एमालेका नेता तथा कार्यकर्ताहरुले खुसियालीका साथ दिपावली समेत गरेका थिए । नेकपा माओवादी केन्द्र र नेकपा एमाले मिलेपछि गुल्मीमा एमालेको पार्टी कार्यालयलाई मुख्य कार्यालय मानेर कार्यक्रमहरु सञ्चालन गर्दै आएका थिए । सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेकपा (माओवादी केन्द्र) लाई एकता पहिलेकै अवस्थामा ब्यूँताइदिएपछि पार्टी कार्यालय पनि पहिलेकै अवस्थामा फर्किन थालेका छन् । सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रबीच एकता भई बनेको पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई मान्यता नदिएपछि दुई पार्टी ब्यूँतिएका हुन् । सर्वोच्च अदालतले गत आइतबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आधिकारिकता ऋषिराम कट्टेलले दर्ता गरेको दलले पाउने निर्णय गरेको थियो । यसले नेकपाको एकीकरणलाई खारेज गर्दै नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) लाई पूर्ववत् रूपमा जगाएको छ । २०७५ साल जेठ ३ गते तत्कालीन एमाले र माओवादी केन्द्र मिली नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का गठन भएको थियो ।

प्रकाशित मिति: बुधबार, फागुन २६, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update