रामचन्द्र रायमाझी/प्रकाश नेपाल
पाल्पा, तीन वर्ष अघि जै घाँस व्यवसाय थाल्दा रामपुर नगरपालिका ६ की भगवती आचार्यलाई घाँसै बेचेर उतिसाह्रो प्रगति गरौंला भन्ने कल्पनासम्म थिएन । तर घाँस बेचेर आफूले सिर्जना गरेको साम्राज्य देख्दा उनी पुलकित छिन् । अथकको मेहनतले उनलाई जिल्लामै नमुना घाँस उत्पादक किसानको परिचय दिलाएको छ । नामसँगै उनी घाँस बेचेरै लखपतिको लाइनमा छिन् ।
आचार्यले जै घाँसका बेर्ना वितरणको व्यवसाय थाल्दासम्म पशुपालन फस्टाउँदै गरेको पाल्पामा निजीस्तरमा बेर्नाको स्रोत जिल्लासम्म थिएन । वार्षिक लाखौं रुपैयाँको बेर्ना आवश्यक पर्ने भए पनि त्यसलाई पूर्ति गर्न सरकारी निकायलाई हम्मेहम्मे थियो । त्यस्तो अवस्थामा खेतबारीको कामले कष्टकर जीविका धान्दै आएकी आचार्यलाई कसैले घाँस व्यवसाय गर्न सुझाइदियो । तीन वर्षअघि पाएको त्यो सुझाव नै निम्न आयस्रोत भएकी आचार्यका लागि वरदान सावित भइदियो । अहिले उनी घाँसको बेर्न बेचेरै वार्षिक ३ लाखसम्म कमाउँछिन् । व्यवसायिक रुपमा पशुपालन, कुखुरा पालन तरकारी खेतीबाट आम्दानी गर्ने माध्यम भन्ने सुनेकी भगवती पोखरेलाई पनि परम्परागत रुपमा मकै खेती गर्ने खेतमा सहकारीले उन्नत जातको जै घाँस लगाउन भन्दा पत्यारै लागेको थिएन । जब विउ विक्रीबाट दुई लाख हात प¥यो खुसीको कुनै सीमा नरहेको भण्डारीले आफ्नो अनुभव सुनाईन् । आचार्य र भण्डारी मात्र होइनन् पाल्पाको दोस्रो व्यापारिक केन्द्रका रुपमा रहेको रामपुरका अधिकांस किसानहरु व्यावसायिक ‘जै’ घाँस खेतीतर्फ आकर्षित बन्दै गएका छन् । कृषि उत्पादन गरेरभन्दा व्यावसायिक पशुपालन गर्दा मनग्य आम्दानी हुने भएपछि यहाँका किसानहरूले आफ्नो धेरै जस्तो जग्गामा जै घाँस उत्पादन गर्न थालेका छन् ।
आफ्नै खेतवारीमा उत्पादन गरेको घाँस बढी पोषिलो पनि हुने भएकाले आफूहरूको आकर्षण त्यसतर्फ बढेको किसानाहरूको भनाइ छ । पशुका लागि आवश्यक पोषक तत्व सबै पाइने, दुग्ध उत्पादनमा बृद्धि हुने, पशुलाई खुवाएर बाँकी रहेको खण्डमा बिउ बनाएर सहकारी सस्थाले प्रति के.जी ७० रुपैयाँका दरले खरिद गर्ने भएकाले यतिखेर रामपुरमा व्यवसायिक घाँस खेतीतर्फ कृषकको आकर्षण बढेको हो । व्यवसायिक पशुपालन गर्ने कृषकहरुलाई अन्य घाँसको तुलनामा जै घास अत्यन्त उपयोगी हुन्छ । कात्तिकमा लगाएपछि फागुन चैतसम्मको अवधिमा तीन÷तीन पटकसम्म काट्न सकिने त्यसै माथि पशुका लागि आवश्यक पोषक तत्व पाइने भएकाले यस खेतीतर्फ आकर्षण बढेको कृषक बासुदेव ढुगांनाले आफनो अनुभव सुनाए । पशुपालन व्यवसाय परम्परागत नै थियो जब सहकारीले व्यवसायिकतर्फ कोल्टो फेर्न पर्दछ भन्ने अवधारणा ल्यायो यसले नै कृषकहरुलाई व्यवसायिक पशु फर्मतर्फ आर्कषित गरेको उनको भनाई छ । पशुको भन्दा घाँसको व्यवस्थापन पहिले गर्नु पर्दछ भन्ने लागेर व्यवसायिक घाँस खेतीतर्फ कृषलाई आकर्षित गरेको सहकारीका अध्यक्ष कृष्ण कुमार अर्याल बताउन्छन् । उनी भन्छन्, ‘किसानलाई पहिला–पहिला बुझाउन कठिन भएको थियो, अहिले भने सबै उत्साहित छन् ।’ यहाँ उत्पादित घाँसको बिउ नेपालगञ्ज, दा·, प्युठान निर्यात गरिन्छ । सहकारीमार्फत बिउको व्यपार वार्षिक रुपमा ३० देखि ४० लाखको हुने गरेको अध्यक्ष अर्यालले बताए । गोठमा भएका पशुलाई खुवाएर बिउ मात्र ७ हजारको बिक्री गरेका नारायण भट्टराई भन्छन्, ‘परम्परागत खेती भन्दा जै घासबाट दोहोरो फाइदा भएको छ ।’ अन्न बालीले भन्दा बढी उत्पादन लिन सकिने हरियो घाँस पनि बिक्री गर्न पनि सकिने बिउ त भयो नै त्यसले व्यवसायिक पशु फर्म सञ्चालकहरुका लागि अत्यन्त उपयोगी भएको उनले बताए । रामपुर तथा गण्डकी बेशीमा मात्र यसको ५ सय रोपनी क्षेत्रफलमा व्यवसायिक रुपमा खेती गरिएको छ ।