रामचन्द्र रायमाझी
पाल्पा । जिल्लाको माथागढी गाउँपालिका ५ हात्तिलुङ्गको तारुक खोलमा झोलुङ्गे पूलको निर्माण कार्य सुरु भएपछि स्थानीय खुसी भएका छन् । तारुक खोला स्थित भर्लेघाटमा झोलुङ्गे पुलको एक कार्यक्रमका बीच शिलान्यास गरी निर्माण कार्य सुरु भएपछि यस क्षेत्रका स्थानीयमा खुसीयाली छाएको हो ।
यस क्षेत्रमा पुल नहुँदा स्थानीय र विद्यार्थीहरुले समस्या झेल्दै आएका छन् । वर्खाको समयमा तारुक खोलामा पानीको वाहफ धेरै हुँदा विद्यार्थीहरुलाई विद्यालय आवत जावत गर्न र स्थानीयलाई खेतीपातीसँगै घाँसदाउरा गर्न समस्या हुँदै आएको बेला पुल निर्माणको कार्य अगाडि बढेपछि विद्यार्थी र स्थानीयमा खुसीयाली छाएको हो । पुल नहुँदा सिर्जना प्राविमा अध्ययन गर्न जाने बालबालिकाहरुले सास्ती खेप्दै आएका छन् । वर्खाको समयमा बालबालिकाहरुलाई अभिभावकले विद्यालय लैजाने र ल्याउने गर्दछन् । त्यति मात्र होइन हात्तिलुङ्गका स्थानीयहरुको खोलापारी खेतबारी र घाँस दाउराका लागि जंगल रहेकाले खोला तरेर जानुपर्ने बाध्यता रहेको छ । बर्षोदेखि जोखिम मोलेर खोलावारपार गर्न बाध्य भएका यस क्षेत्रका स्थानीयहरु पुल निर्माण कार्य सुरु भएपछि बर्षौ देखिको पुलबाट वारपार गर्ने सपना पुरा हुने भन्दै हर्षित भएका हुन् । स्थानीय नरबहादुर सारुले पुल निर्माणको काम सुरु भएपछि निकै खुसी लागेको बताए । उनले भने, ‘पुल नहुँदा हात्तिलुङ्गका स्थानीयले निकै दुख पाएका थियौ तर अब पुलको निर्माण कार्य अगाडि बढेकाले हामी सबै खुसी छौं ।’ खोलामा पुल नहुँदा सास्ती खेप्दै आएका यस क्षेत्रका जनताहरुको समस्यालाई मध्यनजर गर्दै गाउँपालिकाले उपभोक्ता समिति मार्फत पुल निर्माणको कार्यलाई अगाडि बढाएको छ ।
निर्माणधिन पुल ४३ मिटर लामो रहने छ । २३ लाख ३६ हजार २ सय ३० रुपैयाँ लागतमा निर्माण हुन लागेको पुल एक वर्ष भित्र सक्ने गरी गाउँपालिका र उपभोक्ता समितिबीच सम्झौता भएको छ । २०७६ मंसिर २६ गते सम्झौता भई २०७७ मंसिर २५ मा सक्ने गरी पुल निर्माणको सम्झौता भएको हो । गाउँपालिकालाई प्राप्त संघीय सरकार अन्तर्गतको शर्सत अनुदानवापत १९ लाख ७० हजार ४ सय ७६ रुपैयाँ नगद, १ लाख ८७ हजार ८ सय ५५ बराबरको जिन्सी, गाउँपालिकाको १ लाख ४० हजार १ सय ७३ र ४६ हजार २ सय २४ बराबरको स्थानीयको श्रमदानमार्फत पुल निर्माणको कार्य अगाडि बढेको छ ।
पुलको औपचारिक रुपमा गाउँपालिकाका अध्यक्ष सन्तोष थापा मगरले शिलान्यास गरी भर्लेघाट झोलुङ्गे पुल निर्माण उपभोक्ता समितिले निर्माण कार्य सुरु गरेको हो । पुलको शिलान्यास गर्दै गाउँपालिकाका अध्यक्ष थापाले यस क्षेत्रका विद्यार्थी र स्थानीयहरुको समस्यालाई ध्यानमा राख्दै पुल निर्माण गर्न लागिएको बताए । पूल निर्माणको काम यसै वर्ष सकिने गरी अगाडि बढेकाले आउदो वर्खामा स्थानीयहरुलाई आवात जावतमा सहज हुने अध्यक्ष थापाले विश्वास व्यक्त गरे । उनले भने ‘पुलको निर्माण कार्य सुरु भएको सन्देशले स्थानीयमा खुसी छाएको छ । यसै बर्ष गाउँपालिकाका दुई स्थानमा पुल निर्माण गरिने छ ।’ जिल्लाका अरु पुलका ठेकेदार जस्तै लापरबाही गरेर कामको ढिलासुस्ती नगर्न उपभोक्ता समितिलाई अध्यक्ष थापाले आग्रह गरे । उनले भने,‘पुलको निर्माण कार्यका लागि कडा निगरानी गरी छिटो भन्दा छिटो निर्माण गर्न पहल गर्ने छौ ।’
कार्यक्रममा गाउँपालिकाका प्रवक्ता मधु पराजली, वडा अध्यक्ष बेल बहादुर ढेंगा, इन्द्रेणी समाजका प्राविधिक यम बहादुर राना लगायतले पुल निर्माण कार्य छिटो सम्पन्न गरी जनतालाई सहज बनाउन उपभोक्ता समितिलाई आग्रह गरे । भर्लेघाट झोलुङ्गे पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष बुद्धसिं घर्तीको अध्यक्षता, सचिव कालुराम सारुको सञ्चालनमा शिलान्यास कार्यक्रम भएको थियो । पुलनिर्माणमा इन्द्रेणी समाज पाल्पाको प्राविधिक सहयोग रहने छ ।