Shittalpati
मिया क्लवद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री

पाल्पा । तानसेनमा रहेको सेन्ट कपितानियो स्कुलमा स्थापित मिया क्लवले विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ । सिस्टर्स अफ च्यारिटीका संस्थापक इटलीकी सान्ट बार्थाेलो मियाको नामबाट स्कूलमा स्थापित मिया क्लवले कालीगण्डकी गाउँपालिका –३ लसर्घा, स्याङ्जामा रहेको अमरदिप आधारभूत विद्यालयका ७६ जना विद्यार्थीहरुलाई एक कार्यक्रमका बीच शैक्षिक सामग्री वितरण गरेको हो । सेवा नै धर्म हो भन्ने अभिप्रायका साथ क्लवले विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामग्री सहित स्कुल ब्याग वितरण गरेको छ ।

वितरण कार्यक्रममा सेन्ट कपितानियोकी शिक्षिका अप्सरा न्यौपाने बस्यालले कार्यक्रमको औचित्य माथि प्रकाश पार्दै सानो सहयोगले विद्यार्थीहरुमा केही राहत मिल्ने बताईन । कार्यक्रम संयोजक तथा स्कुलकी सह– प्रधानाध्यापक सिस्टर लिलियन पिरेरुले सहयोगले सामाजिक दायित्व बहन गर्ने धारणा व्यक्त गरिन । उनले भनिन् ‘ सामाजिक उत्तरदायित्व भन्ने कुरा शिक्षा सँगसँगै आउने र विद्यार्थीहरुमा यस किसिमका कार्यक्रमले गरिव तथा असाहायहरुलाई आफ्नो समय, श्रोत र साधनले पुगेसम्म अरुको सहयोग गर्नुपर्छ भन्ने किसिमको भावना विकास गर्न मद्दत पुग्दछ ।’ कार्यक्रममा अमरदिप आधारभूत विद्यालयका प्रधानाध्यापक चन्द्रसिहं रानाले क्लवले विद्यार्थीप्रति देखाएको सहयोग र सद्भावको प्रसंसा गरे । विद्यालय व्यवस्थापन समितीका अध्यक्ष राम बहादुर आलेको अध्यक्षतामा कार्यक्रम भएको थियो । क्लवले विभिन्न समयमा विपन्न विद्यार्थीहरुका लागि शैक्षिक सामग्री वितरण गर्दै आएको छ । गत बर्ष क्लवले मदनपोखरा स्थित दमकडा उच्च माविमा पेन ड्राइभ वितरण गरेको थियो ।

प्रकाशित मिति: सोमबार, फागुन ५, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update