Shittalpati
शिक्षकहरुलाई स्थानीय सरकारप्रति जिम्मेवार भएर काम गर्न आग्रह

कृष्ण पोखरेल

पाल्पा, माथागढी गाउँपालिकाका अध्यक्ष सन्तोष कुमार थापाले स्थानीय सरकारप्रति जिम्मेवार भएर काम गर्न शिक्षकहरुलाई आग्रह गरेका छन् । पालिका भित्रका विद्यालयका प्रधानाध्यापकहरुको लागि आयोजना गरिएको दुई दिने कार्यशाला गोष्टीलाई सम्बोधन गर्दै अध्यक्ष थापाले संविधानले माध्यमिक तहसम्मको शिक्षाको सम्पूर्ण जिम्मेवारी स्थानीय सरकारलाई दिएकाले १२ कक्षासम्मका प्रत्येक विद्यालयका शिक्षकहरुलाई स्थानीय सरकारप्रति जिम्मेवार भई काम गर्न आग्रह गरेका हुन् ।

सरकारले सबै सुविधा विद्यालय र शिक्षकहरुलाई प्रदान गरेकाले सोही अनुसार जिम्मेवार भएर काम गर्नुपर्नेमा उनले जोड दिए । अध्यक्ष थापाले सबै विद्यालयहरुलाई बार्षिक कार्यक्रम सहितको कार्ययोजना पेश गरी काम गर्न निर्देशन समेत दिएका छन । विद्यालयको व्वस्थापन पक्ष चुस्त दुस्त हुनु पर्ने, गुणस्तरीय शिक्षा प्रदान गर्नुपर्ने, सबै पक्षले नियम कानुन तथा अनुशासनको पालना गर्नुपर्ने, विद्यालयको राम्रो नराम्रो सम्पूर्ण जिम्मेवारी प्रधानाध्यापकको काधमा रहेकाले जिम्मेवार भएर काम काम गर्न अध्यक्ष थापाले उनीहरुलाई आग्रह गरेका छन् ।

पालिकाले आगामी दिनमा कार्ययोजनाको आधारमा राम्रो विद्यालयका प्रअ, शिक्षकहरुलाई पुरस्कृत गर्ने, कार्ययोजना अनुसार काम नगर्ने विद्यालय, शिक्षकहरुलाई दण्डित गर्ने पनि उनले बताए । पालिकाले स्थानीय पाठ्यक्रम बनाएर बालवालिकाले आफ्नो गाउँ ठाउँको भूगोल, ईतिहास कला संस्कृति रहन सहनको बारेमा जानकारी पाएकाले आउदो शैक्षिक सत्रमा कक्षा एक देखी आठ कक्षासम्म स्थानीय पाठ्यक्रम लागु गर्ने अध्यक्ष थापाले जानकारी दिए ।

कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजु नेपालले विद्यालयलाई राम्रो वा नराम्रो बनाउने भूमिका प्रधानाध्यापकको रहेको बताए । प्रधानाध्यापकले विद्यालयमा आफै पठन–पाठनमा सहभागी नभई व्यस्थापन पक्षमा निरन्तर खटे मात्र विद्यालयको शैक्षिक गुणस्तरमा सुधार हुने प्रमुख प्रशासकिय अधिकृत नेपालले जोड दिए । विद्यालयका प्रधानाध्यापकहरुले विद्यालयको गुणस्तर सुधार गर्छु भनेर मनै देखी काम गरेमा केही बर्ष भित्रै विद्यालय नमुना विद्यालयको रुपमा परिणत हुने उनले बताए ।

कार्यक्रममा गाउँपालिकाका फोकल पर्सन अशेष भट्टराईले माथागढीका विद्यालयको गुणस्तरीयतामा सुधार ल्याउन, व्यवस्थापकिय पक्षमा सुधार ल्याउन, विद्यालयहरुलाई प्रविधीमैत्री बनाउन, समग्र रुपमा जिल्लाको शैक्षिक स्थितीलाई माथि उठाउन कार्यशालाको आयोजना गरिएको बताए । कार्यशालामा विज्ञ प्रशिक्षक घनश्याम पाठक र प्रविधीतर्फ युवराज तिवारीले सहजीकरण गरेका छन् । कार्यशालामा माथागढी गाउँपालिका भित्रका ४५ वटा विद्यालयका प्रधानाध्यापकहरुको सहभागिता रहेको छ । कार्यशाला विहिवारसम्म चल्ने छ । पालिकाका प्रमुख प्रशासकिय अधिकृत राजु नेपालको अध्यक्षता, शिक्षा शाखाका सम्पर्क व्यक्ति गजेन्द्र पन्थीले सञ्चालनमा गोष्ठी कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: बुधबार, चैत ११, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update