पाल्पा,रजस्वलाका बेलामा पनि नियमित रुपमा विद्यालय जान प्रोत्साहन गर्ने उद्देश्यले सामुदायिक विद्यालयका छात्राहरुलाई ‘स्यानिटरी प्याड’ वितरण गरिएको छ । श्रीनगर युवा रेडक्रस सर्कल तानसेनले पाल्पाको रैनादेवी छहरा गाउँपालिकामा रहेको एक सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरुलाई एक औपचापिरक कार्यक्रमका बिच स्यानिटरी प्याड वितरण गरेको हो ।
युवा रेडक्रस सर्कलले रैनादेवी माध्यमिक विद्यालयमा अध्ययनरत १ सय ८० जना छात्राहरुलाई प्याड दिएको छ । सर्कलमा आवद्ध व्यक्तिहरुले विद्यालयमै पुगेर कक्षा छ देखि १० सम्म अध्ययन गर्ने छात्रालाई स्यानिटरी प्याड दिएको हो । सर्कलका अध्यक्ष सुवास गैरेले विद्यालयका प्रध्यानाध्यापक ऋषिराम पोखरेलमार्फत छात्राहरुलाई प्याड हस्तान्तरण गरेका हुन् ।
प्याड हस्तान्तरण गर्दै सर्कलका गैरेले रजस्वला हुँदा विद्यालय नआउने र आए पनि बीचमै कक्षा छाडेर घर जाने समस्या देखिएपछि त्यसलाई केही हदसम्म भए पनि रोक्नका लागि सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरुलाई प्याड वितरण गरिएको बताए । कतिपय छात्राले पुराना कपडा प्रयोग गर्ने र त्यसबाट संक्रमणसमेत हुन सक्ने भएकाले पनि स्यानिटरी प्याड उपलब्ध गराइएको अध्यक्ष गैरेको भनाइ छ । विद्यालयका प्रध्यानाध्यापक पोखरेलले स्यानिटरी प्याडको उपलब्धताले छात्राहरु ढुक्कसँग विद्यालय आउने वातावरण सिर्जना हुनेमा आफु विश्वस्त रहेको बताए । उनले यस्ता कार्यक्रम हामी खोज्दै आउनुपर्ने ठाउँमा युवा रेडक्रस आफैँ आएर कार्यक्रम गरेकोमा सर्कल टिमलाई विशेष धन्यवाद दिदै खुशी व्यक्त गरे ।
सर्कलले किशोरावस्थाका छात्राहरुलाई महिनावारीको समयमा भोग्नुपरेको दुख,पिडालाई थप सहजीकरण गर्न आवश्यक सचेतनामूलक विषयमा समेत जानकारी गराएको छ । प्याड वितरण कार्यक्रममा लुम्बिनी मेडिकल कलेजमा कार्यरत अमन कार्की र सिर्जना न्यौपानेले रजस्वलाका बेला हुन सक्ने असहजता र त्यसको समधानका विषयमा छात्राहरुलाई जानकारी गराएका थिए ।
रेडक्रस सर्कलले ग्रामीण क्षेत्रका अन्य सामुदायिक विद्यालयहरुमा समेत स्यानिटरी प्याड वितरण गर्दै आएको जनाएको छ । कार्यक्रममा सर्कलका तिर्थराज लम्साल,सचिन सिलवाल, सिर्जना न्यौपाने, अमन कार्की, विजय बस्याल, मिना बस्याल,सुशिल बस्याल लगायतको सहभागिता रहेको थियो । सर्कलका अध्यक्ष सुवास गैरेको अध्यक्षता,सर्कलकी मीना बस्यालको स्वागत,वर्षा पाण्डेको सञ्चालनमा कार्यक्रम भएको थियो ।