हाम्रा संवाददाता
पाल्पा, जिल्लामा स्वास्थ्य बिमाका विरामीहरुले सास्ती खेप्नु परेको छ । बिमा गरेका व्यक्तिले पहिलो पटक सरकारी अस्पतालमा जानुपर्ने र त्यहाँ उपचार नभए मात्र अन्य अस्पतालमा रिफर दिने सरकारको प्रावधानले बिरामीले सास्ती पाएका छन् ।
उनीहरुले रिफर लिनकै लागि दिनभर जिल्ला अस्पतालमा लाईन बसेर मात्र रिफर लेटर पाउनेको गुनासो गरेपछि जिल्लाका मानव अधिकारकर्मीहरुले सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् । इन्सेकको पहलमा गठनभएको जिल्लास्तरीय मानवअधिकार रक्षक सञ्जाल पाल्पाले प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र बुझाएको छ । ठूलो संख्यामा पाल्पा अस्पतालमा रिफर कार्ड बनाउनेहरुको भिड लाग्ने गरेको छ । जसका कारण बिरामीहरुले रेफर लेटर बनाउनकै लागि दिन बिताउनुपर्ने बाध्यता रहेको छ । यस क्षेत्रमा नाम चलेका युनाइटेड मिसन अस्पताल र लुम्बिनी मेडिकल कलेज रहेकाले यी अस्पतालमा उपचारका लागि जाने बिरामीहरुलाई रेफर लेटर अनिवार्य गरिदा बिरामीले दुःख पाएका हुन् । नेपाल सरकारले स्वास्थ्य बिमा गरेकाहरूका लागि पहिलो स्वास्थ्य परीक्षण केन्द्र जिल्ला अस्पाताललाई निर्धारण गरेपछि थप झन्झट उत्पन्न भएको हो । स्वास्थ्य बीमा गरेपछि एक लाखसम्मको औषधी उपचारमा सहुलियत पाइन्छ भनेर बिमा गरेका विरामीहरुले उल्टै सास्ती खेप्नु परेको गुनासो आए पछि सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको मानवअधिकार रक्षक सञ्जालका ससंयोजक भगवान भण्डारीले बताए । ‘कोरोना महामारीको समयमा बिरामी सिधै सम्बन्धित अस्पतालमा जान पाउने ब्यवस्था भए पनि पुनः सुरु भएको रेफर लेटर अनिवार्य सहितको निर्णय बिरामी मैत्री छैन । त्यसैले तत्काल यसबारे छलफल गरि बिरामीहरुलाई सिधै सम्बन्धित अस्पतालमा गएर उपचार गर्न पाउने ब्यवहारिक व्यवस्था मिलाउन माग गर्दछौं’ संयोजक भण्डारीले भने । ध्यानाकर्षणपत्र मार्फत मानव अधिकारकर्मीहरुले लोक कल्याणकारी कार्य गर्ने अस्पताललाई तत्काल सुविधा दिन र बिमा ऐन नियमावली संसोधनको समेत माग गरेका छन् । ध्यानाकर्षणपत्रमा जिल्लास्तरीय मानवअधिकार रक्षक सञ्जालका संयोजक भगवानभण्डारी, सह–संयोजक गीताशर्मा र इन्सेक जिल्ला प्रतिनिधि यज्ञमूर्ति तिमिल्सिनाको हस्ताक्षर रहेको छ । सो अवसरमा बरिष्ठ पत्रकार मेघराज शर्माले यसप्रकारको झण्झटले बिरामीहरुले दुःख पाएकोले तत्काल समस्या समाधानका लागि पहल गर्न आग्रह गरे । ध्यानाकर्षणपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेले जिल्ला अस्पताललाई सुविधा सम्पन्न बनाई प्रभावकारी सेवाप्रदान गर्नेमा सबैको ध्यान जानुपर्ने यो नै दीर्घकालिन निकास भएको बताए । उनले बिमाबोर्डबाटै सोही बमोजिम निर्णय भएकाले यसमा संघीय सरकारमार्फत ब्यवस्थापन गर्न सबैले पहल गर्नुपर्ने बताए । दैनिक जसो जिल्ला अस्पातालमा अहिले झण्डै तीन सय बिरामीहरु रिफर लिन जाने गरेको पाइन्छ । अस्पतालमा रिफर गर्ने छुट्टै डेस्क समेत नहुँदा रिफरमा समस्या भएको छ । अस्पतालमा विशेषज्ञ सेवा नहुँदा बिरामीहरुलाई रिफर दिनु परेको अस्पतालले जनाएको छ ।
स्वास्थ्य बिमा जिल्लाको रामपुर अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र ताहुँ, खस्यौली, पाल्पा अस्पताल, युनाइटेड मिसन अस्पताल र लुम्बिनी मेडिकल कलेजमा लागु गरे पनि स्वास्थ्य बिमा गरेकाहरुको छनौट र रोजाईमा मिसन अस्पताल र लुम्बिनी मेडिकल कलेज पर्ने गरेका छन् । नेपाल सरकारले आमजनताको आधारभूत स्वास्थ्य सेवालाई सर्वसुलभ गर्ने गरी लागु गरेको स्वास्थ्य बिमा कार्यक्रम रिफर कै कारण झन्झटीलो बनेको हो । सरकारले फागुनको १ गतेबाट लागु हुने गरी सरकारी स्वास्थ्य संस्थाको रिफर अनिवार्य गराएका कारण विरामीले समस्या झेल्नु परेको छ । स्वास्थ्य उपचारमा सबैको सहज र समान पहँुचका लागि स्वास्थ्य बिमा कार्यक्रम लागु गरिए पनि वर्तमान सरकारले आम जनतालाई स्वास्थ्य बिमा कार्यक्रम प्रति वितृष्णा उत्पन्न गराउन रिफर कार्ड अनिवार्य गराएको सरोकारवालाहरुको भनाइ रहेको छ ।