Shittalpati
नवलपुरमा भेटिए १४ कुष्ठरोगी

नवलपरासी,नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा १४ कुष्ठरोगी भेटिएका छन् । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार पहाडी क्षेत्रमा पर्ने तीन गाउँपालिका बाहेक सबै स्थानीय तहमा कुष्ठरोगका बिरामी भेटिएका हुन् ।

स्वास्थ्य कार्यालयका कुष्ठरोग स्रोत व्यक्ति वीरबहादुर श्रेष्ठका अनुसार साउनदेखि फागुनसम्ममा १४ कुष्ठरोगी भेटिएका छन् । मध्यविन्दु नगरपालिकामा दुई महिलासहित पाँच, गैँडाकोट नगरपालिकामा दुई महिलासहित चार र देवचुली नगरपालिकामा एक महिलासहित तीन कुष्ठरोगी भेटिएका हुन् । यस्तै कावासोती नगरपालिका र विनयी त्रिवेणी गाउँपालिकाका एक/एक पुरुषमा कुष्ठरोग देखिएको छ । हुप्सेकोट, बुलिङटार र बौदिकाली गाउँपालिकामा भने कुष्ठरोगी फेला परेका छैनन् । यसअघि नवलपुरमा १६ कुष्ठरोगी सम्पर्कमा आएकामा उनीहरुको उपचार गरिएको श्रेष्ठले बताए । कतिपय कुष्ठरोगी सामाजिक विभेदका कारण थाहै नदिई घरमा बस्ने गरेका श्रेष्ठले बताए । नवलपुरलाई कुष्ठरोग मुक्त जिल्ला बनाउने अभियान सञ्चालन गर्ने तयारी भइरहेको छ । छालामा रातो फुस्रो दाग देखिने, छाला नदुख्ने, गिर्खाहरु आउने, अनुहारको छाला रातो र चम्किलो हुने, कानको लोती बाक्लो हुने, आँखा झिम्काउन नसकिने, शरीरको कुनै भागमा छोएको थाहा नहुने, हातखुट्टा लत्रिने जस्ता कुष्ठरोगका लक्षण हुन ।

                                                                                                               –रासस

प्रकाशित मिति: बुधबार, चैत १८, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update