Shittalpati
१ सय ६२ जनामा कोरोना हुँदा ५९ जना डिस्चार्ज

पाल्पा, पछिल्लो २४ घण्टामा नेपालमा १ सय ६२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा तीन हजार ९ सय १९ मा पिसिआर परीक्षण गर्दा १ सय ६२ मा संक्रमण देखिएको जानकारी दिए । मन्त्रालय अनुसार बुधबार थपिएका १ सय ६२ संक्रमितसँगै नेपालमा संक्रमितको संख्या २ लाख ७७ हजार ३ सय ९ पुगेको हो । यस्तै, २४ घण्टामा ५९ जना कोरोनाबाट मुक्त भएका छन् । हालसम्म २ लाख ७२ हजार ७ सय ८६ जना संक्रमणमुक्त भएको मन्त्रालयको तथ्यांक छ । यो निको हुने दर ९८.४ प्रतिशत रहेको छ । बुधबार कुनै पनि संक्रमितको निधन भएको छैन । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ३० छ । यस्तै आइसोलेशनमा एक हजार ४ सय ९३ र क्वारेन्टिनमा ५९ रहेका छन् ।

हालसम्म नेपालमा २२ लाख ७१ हजार ३ सय २७ पीसीआर परीक्षण भएका छन् । मुलुकमा केही सातायता कोभिड–१९ को संक्रमण दरमा दिनहुँ उल्लेख्य वृद्धि भइरहेको छ । भारतमा कोभिड संक्रमण व्यापक भएको केही साताभित्रै नेपालमा समेत संक्रमण दर माथि उक्लिन थालेको हो । दिनहुँ संक्रमण दर बढेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयले सामाजिक भौतिक दूरी, मास्कको अनिवार्य प्रयोगलगायत जनस्वास्थ्यका मापदण्ड पालना गर्न आमनागरिकमा अनुरोध समेत गर्दै आएको छ ।

प्रकाशित मिति: बिहीबार, चैत १९, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update