नयाँदिल्ली, भारतमा कोरोना भाइरस संक्रमणबाट एकै दिनमा ४ सय ५९ जनाको मृत्यु भएको छ । एकै दिनमा कोरोनाबाट ४ सय ५९ जनाको मृत्यु हुनु यसवर्ष शुरु भएयताको नै सबै भन्दा धेरै संख्या भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बिहीबार जानकारी दिएको छ । बुधबार कोरोनाबाट ४ सय ५९ जनाको मृत्यु भएपछि यहाँ यस प्रकोपको कारण ज्यान गुमाउनेको संख्या एक लाख ६२ हजार ९ सय २७ जना पुगेको उक्त मन्त्रालयले जनाएको छ ।
गत जनवरीमा कोरोना संक्रमितको दैनिक संख्या १० हजार भन्दा कम भएको थियो । जनावरी २५ र २६ का दिनमा भारतमा २४ घण्टामा कोरोना भाइरस संक्रमित संख्या करिब ९ हजार १ सय भएको थियो । कोरोना संक्रमितको उक्त संख्या यसअघिका २ सय ३७ दिनहरुका सब भन्दा कम थियो । हालका केही दिनयता भारतमा कोरोना संक्रमित र सक्रमणबाट मृत्यु हुने व्यक्तिको सख्या बढ्न थालेको भारतीय सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । गत २४ घण्टामा ७२ हजार भन्दा बढी व्यक्तिमा कोरोना संक्रमण देखिएपछि कूल संक्रमितको संख्या एक करोड २२ लाख २१ हजार भन्दा बढी पुगेको छ ।
कूल संक्रमितमध्ये पाँच लाख ८४ हजार ५ सय ६६ जना अहिले पनि संक्रमित अवस्थामै रहेका छन् भने एक करोड १४ लाख ७४ हजार भन्दा बढी संक्रमणमुक्त भएका छन् । भारतमा जनवरी १६ बाट कोरोना भाइरसविरुद्धको खोप अभियान शुरु भएको थियो । सो समयदेखि हालसम्म ६ करोड ५० लाख भन्दा बढीले खोप लगाइसकेका छन् । त्यसैगरी कोरोना परीक्षण गर्ने क्रम पनि चलिरहेको भारतीय चिकित्सा अनुसन्धान परिषद्ले जनाएको छ । परिषद्का अनुसार सोमबारसम्म भारतमा २४ करोड ४६ लाख हजारभन्दा बढी व्यक्तिको कोरोना परीक्षण गरिएको छ । बुधबार एकै दिनमा दश लाख भन्दा बढीको कोरोना परीक्षण गरिएको जनाइएको छ ।–(रासस/सिन्ह्वा)