शालिकराम पाण्डे ‘शिला’
(दैनकीमा एकान्तबासका अनुभूतिहरु)
१२ चैत्र २०७६(बुधबार)
अफिस जान नपर्ने भएपछि ओछ्यानबाट आज ८.०० बजे मात्र उठें । घरबाट बूढीको फोन आयो । के हुंदैछ ? के गर्दै हो ? दिन बिताउन गाह्रो पो होला जस्तो छ । मैले किताबहरु पढ्न सल्लाह दिएँ । पढ्ने लेख्ने बानीको फाईदा यो बेला हुँदो रैछ ।
आज कोठा सरसफाई गरें । सामग्री ब्यवस्थापनको पुर्नसंरचना गरें । खाना पकाएँ । खाएँ । मलाई खाना बनाउन जाँगर लाग्छ । कोठामा हुँदा पकाएर नै खाने गर्छु । आज अफिस गईन । आमासँंग फोनमा कुरा गरें । नातिहरु (भाञ्जी र भदाका छोराहरु) सँग कुरा भयो । ओशोको क्रान्तिबीजका केही अंश पढें । केही शून्यता, रिक्तता र एकाड्ढीपनले छोए जस्तो अनुभव भयो । त्यसैमाथि बूढीले फेरि फोन गरिन् । उनको चाहना म घरमै भएको भए हुने भन्ने थियो ।
दिन बिताउन गाह्रो भएको कुरा भयो । मैले केही ढाडस दिएँ । एकाड्ढीपन अनुभव गर्ने कुरा हो । मान्छे भित्र हुर्किएका पूर्व ब्यवहारहरुले त्यसलाई कसरी लिन्छ भन्ने कुरा महत्वपूर्ण हुन्छ । हामी भित्र विभिन्न रुपमा कमजोर र सबल पक्षहरु हुन्छन् । हाम्रा सबल पक्षहरु कमजोर हुनेबित्तिकै कमजोर पक्षहरु सबल भएर आउँछन् । पटक–पटक यस्तो अनुभव हुँदै गयो भने मानसिक समस्या सिर्जना हुनसक्छ । हामीभित्र सुसुप्त अवस्थामा रहेका कमजोर पक्षहरुलाई यो अवस्थाले अनावृत गर्दिने मात्र हो । आंफूभित्रका बलिया सोंचहरु, क्षमताहरु र बानीहरुलाई यो बेला बाहिर उपस्थित गराईरहनु पर्छ । त्यसैले यस्तो बेलामा आंफूलाई ब्यस्त राख्नुपर्छ । सिर्जनात्मक कामहरु गर्दा हामीलाई त्यस्तो अनभूति आउन दिंदैन । सबैभन्दा राम्रो काम किताव पढ्ने र लेख्ने हो । करेसाबारी हुनेले त्यहाँ काम गर्न सकिन्छ । झ्यालहरु पुछ्ने, घर सफा गर्ने, युट्युब र टेलिभिजनमा राम्रा कार्यक्रमहरु हेर्ने पनि गर्न सकिन्छ ।
आफ्न्तहरुसँग फोन वा अनलाइन कुरा गर्दा पनि रमाइलो अनुभव हुन्छ । हामी त आफ्नै घरमा कोठामा छौं । वी.पी.कोईराला पहिले सिंहदरवार र पछि सुन्दरीजलको कालकोठरीमा कसरी बस्नुभयो होला ? सांघुरो कोठा । हात र खुट्टामा हतकडी र नेल । शौच गर्ने र खाना पकाउने एकै ठाउंँ । बाहिरको उज्यालोको नाम मात्र । कुन महिना ? कति गते ? कति बजेको हो ? थाहा छैन । कहिलेसम्म यस्तो अवस्थामा रहने त्यो पनि थाहा छैन । कति ठूलो आत्मविश्वास र साहसले वी.पी. बस्नुभयो । उहाँको आत्मबृतान्त मलाई फेरि पढ्न मन लाग्यो । यसले यस्तो बेला झन् बलियो बनाउंछ । आज पनि राम्रो खबर सुनिएन । अमेरिकामा बुलेट टेनझै कोभिड १९(कोरोना भाईरस) फैलिंदैछ । धादिङका एक युवा पनि संक्रमित भेटिए । समाचार यस्तै थियो । अझ उच्च सकर्तता आवश्यक देखिन्छ । लकडाउन बढ्न सक्छ । यो त प्रारम्भ हो । हामी कोरोनासँग मात्र होईन, लकडाउनले निम्त्याउने परिणामहरुसँग पनि जुध्न तयार हुनुपर्नेछ । अर्थतन्त्र ओरालो लाग्दा त्यसले सिर्जना गर्ने परिणाम पनि कम भयावह हुने छैन । खै, पहिला बाँच्न त प¥यो । आजको रात्रिविश्राम यही चिन्तासँगै भयो ।