गुल्मी,प्यूठानमा बुधबार जीप दुर्घटना हुँदा मृत्यु भएका पाँच जनाकै शव परिवारको जिम्मा लगाइएको छ । प्राथमिक स्वास्थ्य केन्द्र भिङ्ग्रीमा शव परीक्षणपछि विहीबार परिवारको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
स्याङ्जा घर भई हाल जिल्ला प्रशासन कार्यालय गुल्मीमा प्रशासकिय अधिकृत पदमा कार्यरत ३९ वर्षीय श्याम न्यौपाने, प्रशासनकै खरिदार यमलाल पन्थी, ३६ वर्षीय कम्प्युटर अपरेटर सूर्य पन्थी, मुद्दा शाखाका ३६ वर्षीय ईश्वर भण्डारी, चालक गुल्मी मुसिकोट नगरपालिका .–३ का २२ वर्षीय केशव कार्कीको शव परिवारको जिम्मा लगाइएको हो ।
बुधबार विहान गुल्मीबाट प्युठानको स्वर्गद्वारी दर्शनका लागि हिडेको लु १ ज १६५५ नं.को जीप प्युठानको रुमाले भन्ने स्थानमा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको थियो । नयाँ वर्षको अवसर पारेर जिल्ला प्रशासन कार्यालय गुल्मीका १४ जना कर्मचारी स्वर्गद्वारी दर्शनका लागि गएका थिए । घटनामा १२ जना घाइते छन् । घाइतेमध्ये ६ जनाको काठमाडौंमा उपचार भइरहेको छ ।
गम्भीर घाइते भएकी अर्घाखाँचीकी २८ वर्षीया मुना पाण्डे, प्यूठान माण्डवी गाउँपालिका ३ का ३७ वर्षीय सञ्जिव परियार, गुल्मीकी ३० वर्षीया गिता बोहोरा, गुल्मी रेसुङ्गा नगरपालिका.–४ की २३ वर्षीया सुनिता कडेल, सोही स्थानका १० वर्षीय अनिष मुखिया, गुल्मी मुसिकोट नगरपालिका ६ की २७ वर्षीया कमला पन्थी (ज्ञावली) र सोही स्थानका १२ वर्षीय सार्थक ज्ञावलीको काठमाडौंमा उपचार भइरहेको छ । उनीहरुलाई नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौंमा लगिएको थियो । दुर्घटनामा परी घाईते भएका अन्य ५ जना भने सामान्य उपचारपछि घर फर्किएका छन् ।