शालिकराम पाण्डे ‘शिला’
बिहान बाहिर खलबल सुनियो । उठेर बाहिर गएँ । घरका छतछतबाट छिमेकीहरुको गफगाफ रहेछ । गुनासो थियो समय कसरी कटाउने ? उकुसमुकुस पो भयो । घरको काम पनि सकियो । घाममा लुगा सुकाएर पनि सकियो ।
मलाई गफ सुन्दा रमाईलो लाग्यो । गफमा म पनि सरिक भएँ । कितावका कुरा गरेँ । आत्मबल बढाउने कुरा गरँे । मैले पढ्दै गरेको ओशोको क्रान्तिबीज पुस्तक आदानप्रदान गर्ने कुरा भयो । बजार सबै सुनसान छ । बिहान पूर्ण खाँण (वडा अध्यक्ष, निस्दी (१) ले वडाभित्र ४१ जना मान्छेहरु बाहिरबाट आएको र एकान्तबासमा नबसेको गुनासो गर्दै थिए । गाउँपालिकाले मित्यालमा बनाउने भनेको क्वारेन्टाईन अहिलेसम्म बनेको रहेनछ । तैपनि बाकामला·का त्यहाँसम्म जाने कुरा ब्यवहारिक रहेन । वडामै बनाउने कि ? बेसको भवन र कपडा दिन सकिन्छ मैले भनेँ, सल्लाह गर्ने कुरा भयो । बिहान घरमा भिडियो कल भयो । आमाछोरी आरामै छन् । मन ढुक्क भयो । तर बच्चाहरुलाई कसरी मानसिक तनावबाट मुक्त गर्ने ? चिन्ता बढ्यो । केही नयाँ कामहरु भएन भने बयश्कहरु पनि समस्यामा पर्न सक्ने देखिन्छ । पहिलो कुरो संक्रमणबाट जोगिनुप¥यो । दोश्रो कुरो यो एकान्तबासबाट मान्छेहरुमा मनोसामाजिक समस्याहरु पनि आउन भएन । अहिले सबैको ध्यान संक्रमणबाट कसरी जोगिने भन्नेमै छ । अब बिस्तारै मान्छेमा आउन सक्ने मानसिक समस्यालाई पनि सम्बोधन गरेर सामग्रीहरु तयार गर्न जरुरी देखिन्छ ।
क्रान्तिबीज पढेर सकाएँं । प्रकाशनका लागि तयार हँुदै गरेका कथा र यात्रा निवन्धहरुको प्रारम्भिक सम्पादनका कामहरु गरेँ । केही फिल्डका कर्मचारी साथीहरुसँग भलाकुसारी भयो । फेसबुक र इमेलहरु चेक गरियो । मामाघर जाँदाका रमाईला पलहरु(यात्रा निवन्ध) लेखेर सकियो । बजार पुरै बन्द छ । साँझ यसो वी.पी.चोकसम्म पुगें । ठप्प देखेपछि दौडदैं कोठामा फर्कें । खाना पकाएँ । खाएँ । राति युट्युबका केही भिडियोहरु हेरेँ । विशेषत ः इन्द्रेणीको दोहोरी मन पर्छ । प्रदिप गिरीको महाभारतका पात्रहरु शीर्षकको मन्तव्य सुनें । मनमा घरीघरी छट्पटी भएझैं हुन्छ । कति दिन यसरी बस्नु पर्ने ? महिना दिन यस्तै भयो भने ? संक्रमित बढेर मान्छेको भागभाग भयो भने ? खान नपाएर हाहाकार भयो भने ? आ ¤ नचाहिने कुरा । मनले पनि चाहिने नचाहिने सबै सोंच्छ । कोठाबाट बाहिर निस्कें । टहटह जुन लागिरहेको थियो । सितल रात ।
सधैंको जस्तो कुनै परिवर्तन छैन । रात उस्तै छ दिन भने फरक । दिन गतिशिल छैन । मान्छेहरु सन्त्रास बोकेर घरघरमा संकुचित भएका छन् । ब्यापार, ब्यवसाय, यातायात सबै बन्द भएको छ । देश किंकर्तव्यविमुढ भएर एक ठाउं टक्क अडिएको छ । संक्रमणबाट जोगिन प्रारम्भिक दिनमा गर्नुपर्ने कामहरु अहिले भएका समाचार आईरहेका छन् । ढिलो भएको हो काम त भएको छ । आंफूले आंफैलाई ढाडस दिनुपर्ने । अब त सुत्न पर्ला ।