रमेश विश्वकर्मा, गुल्मी, मानव अधिकार तथा शान्ति समाज गुल्मी शाखाद्वारा लोकतन्त्र दिवस मनाइएको छ । मानव अधिकार, शान्ति, लोकतन्त्र, अहिंसा र सुशासनको क्षेत्रमा काम गर्दै आइरहेको समाजले जिल्लाको सदरमुकाम तम्घासमा रहेको सिद्धबाबा माध्यमिक विद्यालयको सभाहलमा अन्तरक्रिया तथा जलपान कार्यक्रमको आयोजना गरि दिवस मनाइएको हो । कार्यक्रममा समाजका सभापति ढुण्डीराज पोखरेलले लोकतन्त्र सुदृढीकरण र जनतालाई सुशासनको प्रत्याभूति दिलाउन सरकारको प्रमुख जिम्मेवारी रहेको बताए ।
सरकार अलोकतान्त्रिक भयो भने देश विकृती र विसंगतितर्फ जाने उल्लेख गर्दै उनले भने,‘हामीले नागरिकको आवाज बुलन्द गर्ने हो । हामीले सरकारलाई सहि बाटोमा हिड्न प्रेरणा गर्छौ । यदि सरकार पक्ष एवम् समाजमा कहिँ कतै नराम्रो काम भयो भने त्यसको विरुद्धमा बोल्ने हाम्रो प्रमुख जिम्मेवारी हो ।’ लोकतन्त्र सुदृढ गर्ने कार्यमा लाग्न सम्पूर्ण सरोकारवालाहरुलाई आग्रह उनले आग्रह गरे । समाजका जिल्ला सदस्य एवम् अधिवक्ता विनोद पाण्डेले संवैधानिक निकायले स्वतन्त्र रुपमा काम गरेमा मात्र लोकतन्त्र बलियो हुने बताए । उनले लोकतन्त्र बलियो भएमा मात्र जनताका आवश्यकता पुरा हुने उल्लेख गरे । राजनीतिक दलहरुबाट जनताले गरेका अपेक्षा पूरा हुन नसेको उनले भने,‘जनताले वास्तविक लोकतन्त्रको अनुभुती गर्न सकेका छैनन् । परिवर्तनका हरेक आन्दोलनमा जनताले साथ दिंदा पनि नेतृत्व तहले आफुमा रहेका विकृतिहरुलाई सच्याउन सकेन ।’ त्यस्तै सुशासन अभियान गुल्मीका अध्यक्ष एवम् समाजका जिल्ला सदस्य श्याम कुमार पाण्डेले जिल्लामा मानव अधिकार तथा शान्ति समाजको गठन भएर सामाजिक रुपमा काम गर्ने संस्था थप भएको भन्दै खुसी व्यक्त गरे । उनले सबै मिलेर काम गरे सबै सफल हुने उल्लेख गरे । जिल्ला शाखाका पदाधिकारी एवम् सदस्यहरुको उपस्थित रहेको कार्यक्रममा उपाध्यक्ष डोर विक्रम श्रीसको स्वागत मन्तव्य एवम् सन्चालन सचिव गणेशबहादुर अधिकारीले गरे ।