पवन तनय संकट हरण मंगलमूर्ति रुप,राम लखन सीता सहित बसही सूर भुप
प्रत्येक वर्ष चैत्र शुक्लपक्ष पूर्णिमाका दिन संकटमोचन वजरंगवली श्री हनुमान जयन्ती मनाइन्छ । आज हनुमान जयन्ती । हनुमानलाई विभिन्न नामले पनि सम्बोधन गरिन्छ जस्तै हनुमान, मारुती, बजरंगवली, रामभक्त, पवनपुत्र, अञ्जनी सुत, अञ्जनेय आदि आदि । संकटको बेला हामी सबैको मुखबाट स्वतः भगवानको सम्झछना आइहाल्छ । यस्तै संकट परको बेला संकटमोचन श्री हनुमानको आराधना गर्ने गरिन्छ । त्यसैले होला हाम्रा पूर्खाहरुले हाम्रा घर वरपर हनुमानको मूर्ति स्थापना गरी मन्दिर बनाई सन्तान दर सन्तानले अद्यापि नियमित पुजा आजा गर्ने गरेको पाइन्छ । हनुमानलाई भगवान शिवको एउटा अवतारको रुपमा पनि मानिन्छ । यो वास्तवमा राम रावण युद्धमा रामलाई मददत गर्नुृ थियो । रामायण अनुसार यदि हनुमान तथा अन्य बाँदरहरुको सहयोग नभएको भए रावणसंगको युद्धमा रामको विजय सम्भव थिएन । वास्तवमा उनी अञ्जना र वानरराज केशरीका पुत्र हुन । अन्जना ब्रम्हदेवको दरबारको अत्यन्त राम्री अप्सरा थिइन । एकपटक ब्रम्हदेवको दरबारमा एकजना ऋषिलाई अपमानित गरेको अपराधमा ऋृषिले उनीलाई कसैसंग प्रेममा लागेको बेला उनको अनुहार बाँदरको हुनेछ भनी श्राप दिएका थिए । तर पनि ब्रम्हदेवको आश्वासन पछि उनी पृथ्वीमा जन्म लिइन । यौवन अवस्थामा पुगे पछि उन्को केशरी नामक बाँदरहरुका राजासंग प्रेम भयो र दुबैले विवाह गरे । बाल्मीकी रामायण अनुसार केशरी देवताहरुका गुरु बृहस्पतिका छोरा थिए जो सुमेरु पर्वत भन्ने ठाउँका राजा थिए । अञ्जना भगवान शिवको परम भक्त थिइन । उन्ले सन्तानको लागि भगवान शिबको अत्यन्त घनघोर तपस्या गरेकी थिइन । जसबाट भगवान शिब प्रशन्न भई उनलाई सन्तान हुने बरदान दिएका थिए । भगवान शिवको निर्देशन अनुसार नै वायुले आफ्नो पुरुस्त्व शक्ति उनको पाठेघरमा सारिदिए जसबाट हनुमानको जन्म भयको थियो त्यसैले पनि उनलाई वायुपुत्र भनिएको पनि भनिन्छ । त्यस्तै अर्को किंवदन्ति अनुसार एकपटक अयोध्याका राजा दशरथ सन्तानको लागि पुत्रकामना यज्ञ गर्दै थिए । यज्ञबाट उन्ले अत्यन्त पवित्र रोटी प्राप्त गरे जुन उन्ले आफनी तीनवटी रानीहरुलाई बाँडे जसबाट राम, लक्ष्मण, भरत तथा शत्रुघनको जन्म भयो । त्यसै मध्येको सो रोटीको एक टुक्रा चीलले उडाएर लिएर गए तथा उडदै जाँदा एउटा जंगलमा खसाले जहाँ अञ्जना भगवान शिवको तपस्यारत थिइन । त्यसै अवसरमा भगवान शिवको आदेशानुसार वायु देवताले सो रोटीको टुक्रालाई अञ्जनाले फैलाई रहेको हातमा राखि दिए जुन उन्ले भगवानले दिएको प्रसाद भनेर खाइन तथा यसबाट उनी गर्भवती भइन र पवनपुत्रको अवतारको रुपमा उनीबाट अंजेरी भन्ने पहाडमा जन्म भयो । त्यसैले हनुमानलाई वायुपुत्र पनि भन्ने गरिन्छ । पौराणिक कथा अनुसार हनुमान सानो उमेरमा अत्यन्त चकचके थिए । आकाशमा रहेको सुर्यलाई पाकेको आँप भनी टीप्न गएका थिए । बाटोमा उन्को भेट राहुसंग भयो जसलाई उन्ले पञ्छाई सूर्यलाई मुखमा हाली निल्न तयार भए । यो देखि राहुले देवताका राजा इन्द्रलाई यस्को जानकारी गराए । यो सुनेर इन्द्रले आफ्नो बज्र अञ्जनेय (अञ्जनाको पुत्र भएकोले हनुमानलाई अञ्जनेय पनि भनिन्छ ।) माथि प्रहार गरे सो बज्र हनुमानको मुखमा लाग्यो उनी बेहोश भई पृथ्वीमा खसे । बज्रको कारण उन्को मुख विरुप भयो । संस्कृत शब्द अनुसार हनुको अर्थ बंगारा तथा मानको अर्थ विरुप अर्थात विरुप बंगारा हुन्छ ।
आफ्नो पुत्रको हालत हनुमानका पिता वायुदेवले थाहा पाए । उनले रिसाएर सारा ठाउँमा हवा चल्न नै बन्द गरी दिए फलस्वरुप जता ततै हाहाकार मच्चियो तब इन्द्रले वायुदेवसंग अञ्जानमा गल्ती भएको भनी माफी मागे पछि वायुदेवले आफ्नो शक्ति फिर्ता लिए तथा पुन हवा चल्न थाले । सबै यथावत भयो । त्यसपछि सारा देवताहरुले हनुमानलाई आफ्ना विभिन्न शक्तिहरुको वरदान दिए । हनुमानलाई साहस, बल, बुद्धिको देवताको रुपमा पुजिन्छ । गुरु सूर्यसँग विद्या सिक्न हनुमान दिनभरी सूर्य संगसंगै लागेको पनि भनिन्छ । गुरु दक्षिणा बापत उन्ले सूर्य पुत्र सुग्रिभलाई सहयोग गर्नुपर्ने थियो । यसप्रकार सुग्रिभ राजा भएको बेला उनी सुग्रिभका अत्यन्त प्रिय मन्त्री बनि गुरु दक्षिणा पूरा गरे । श्री रामको चौध वर्षको वनवासमा हनुमानको भेट भएको थियो । त्यसबेला देखि हनुमान श्रीरामका भक्त बनेका थिए । लंकापति रावणले सीतामातालाई अपहरण गरेर लगे पछि हनुमान आफ्नो अदभूत शक्तिको माध्यमबाट लंका पुगि माता सीताको खबर ल्याउनुका साथै स्वर्णिम लंका नै जलाई दिएका थिए । वास्तवमा हनुमानलाई आफुसंग अपार शक्ति रहेको भन्ने कुरा उन्ले श्रापका कारण विर्सेका थिए तर यो कुरा राजा सुग्रिभका भालु मन्त्रि जाम्बवन्तलाई थाहा थियो र उन्ले यो कुरा बताई सके पछि मात्र थाहा पाई विशाल समुद्र पार गर्न तथा वाटोमा भेटिएको सुरसा नामक समुद्री राक्षसबाट बच्दै लंका पुगेका थिए । लंका पुगेर सीतालाई खोजी रामको सन्देश दिएका थिए तथा रावणको धेरै सैनिकहरुलाई हराएका थिएपछि रावणका पुत्र इन्द्रजीतले प्रहार गरेको ब्रम्हास्त्रको सम्मान गर्दै उनी ब्रम्हास्त्रबाट बाँधिई रावण दरबारमा उपस्थित गराइयो र उनलाई दण्ड स्वरुप उनको पुच्छरमा आगो लगाई छोडिदिएका थिए । तर उन्ले सोही आगो लागेको पुच्छरले लंका दहन गरेका थिए । जब हनुमान सम्र्पूण लंका दहन गरी सके पछि लंकाबाट फर्कने क्रममा आफ्नो शरिर चिसो गर्नको लागि उनले आफ्नो पुच्छर समुद्रमा डुबाएका थिए भनिन्छ । यसो गर्दा उनको शरिरबाट निस्केको पसिना समुद्रमा खसेको थियो र एउटा माछाले सो पसिना निलेको थियो । सोही हनुमानको पसिनाबाट मकरध्वजको जन्म भएको थियो जुन कुरा स्वयं हनुमानलाई पनि थाहा थिएन । वास्तवमा हनुमानलाई बाल ब्रम्हचारी भनिन्छ । राम रावण युद्धमा एक पटक मायावी राक्षसहरु महिरावण र अहिरावणले राम र लक्ष्मणलाई अपहरण गरेर पाताल लोक पुयाएका थिए । राम लक्ष्मणको खोजीमा हनुमान पाताल पुगे जहाँ उनको भेट मकरध्वज संग भयो जो उन्को आफनै छोरा थियो भन्ने थाहा पाए । ती दुई राक्षसहरु महिरावण र अहिरावण अत्यन्त मायावी थिए त्यसैले उनीहरुलाई युद्धमा हराउन त्यतिको सजिलो थिएन । यस्को लागि हनुमानले पंचमुखको अवतार लिए । जसअनुसार उत्तरको मुख बाराही, दक्षिणको मुख नरसिम्हा, पश्चिमको मुन गरुडा र पुर्बको मुख आफ्नो स्वयं तथा माथिको मुख हयग्रीभा थियो । यसरी पंचमुखी अवतार लिएका हनुमानले आफ्ना पुत्र मकरध्वजको सहायताले ती दुष्ट राक्षसहरुको बध गरी राम लक्ष्मणको उद्धार गरेको भनिन्छ । त्यसपछि रामको आज्ञा अनुसार मकरध्वजलाई पातालको राजा बनाएका थिए । राम रावण युद्धमा लंकापति रावण पुत्र मेघनाथ (इन्द्रजीत)को बाण प्रहारबाट लक्ष्मण मुक्र्षित भएका थिए । अब उनलाई बचाउन संजिवनी बुटीको आवश्यक्ता थियो जुन केवल द्रोनगीरि पहाडमा मात्र उपलव्ध थियो । बैद्यहरुको सल्लाह बमोजिम हनुमान सो संजिवनी बुटी लिन गए तर उन्ले खास बुटी पाउन सकेनन किनकी सबै बुटी एउटै जस्तो देखिन्थ्यो त्यसैले उन्ले सो बुटी भएको पहाड नै उचालेर ल्याइ दिए र लक्ष्मणको ज्यान बचाएका थिए । राम रावण युद्धको समाप्ति पछि अयोध्यामा राम राजा भएको अवसरमा आफुलाई विभिन्न प्रकारले सहयोग गर्ने सबैलाई अभिनन्दन गर्ने कार्यक्रम गरिएको थियो जसमा सबैले अमूल्य उपहारहरु प्राप्त गरे तर हनुमानलाई दिनु पर्ने विर्सिएछन । सो कुरा माता सीताले थाहा पाई आफुले लगाएको अत्यन्त बहुमूल्य हिराको हार नै दिए । उपहार पाई सके पछि एउटा कुनामा गई हनुमानले सो हिराको हारको सबै दाना एक एक गर्दै टोक्दै फयाक्न थालेको लक्ष्मणले देखे पछि उनी संग किन यसो गरको भनि सोधेछन । हनुमानले त्यस हिराको हारमा आफ्ना प्रभु राम सीता खोजेको बताएछन र नदेखे पछि त्यसो गरेको भनेछन र आफ्नो छाति चिरेर रामसीता देखाएछन । महाभारतको युद्धमा हनुमान भीमको दाजुको रुपमा देखिन्छ किनकी दुबैजना बायु पुत्र थिए । पाण्डवहरुको बनबासको समयमा आफु अत्यन्त बलशाली भन्ने भीमको घमण्डलाई तोडन हनुमान अत्यन्त कमजोर बाँदरको भेषमा बाटो छेकेर लम्पसार भै सुतेका थिए । भीम त्यही बाटो हिडदै थिए र बाटोमा यसरी सुतेको बाँदरलाई देखेर बाटो छोडन भने । सो बाँदरले आफ्नो कमजोरीको कारण पुच्छर हटाउन नसक्ने भएकोले भीमलाइ नेै पुच्छर हटाई जान भने । घमण्डले चुर भएको भीमले सो पुच्छर हटाउन खोजे तर आफ्नो भएभरको बल प्रयोग गरेर पनि सो पुच्छर उचाल्नै सकेनन । अन्तमा थकित भएर भीमले सो बाँदरलाई आफ्नो बास्तविक परिचय दिन आग्रह गरे । तब हनुमानले आफ्नो वास्तविक परिचय दिए तथा भीमलाई घमण्ड नगर्न सल्लाह दिए । महाभारतको कुरुक्षेत्रको लडाइमा हनुमान अर्जुनको रथको झण्डमा रहे । कुरुक्षेत्रको युद्ध समाप्ति पछि कृष्णले अर्जुनलाई रथबाट तल ओर्लन भने । त्यसपछि कृष्णले युद्धको अवधिभर आफ्नो साथमा रहेकोमा हनुमानलाई धन्यबाद दिए । हनुमान कृष्णको पाउ परे । जब हनुमान झण्डाबाट ओर्ले सो रथमा अचानक आगो लाग्यो र रथ भष्म भयो । यो देखेर चकित अर्जुनलाई कृष्णले भने यो रथमा हामी दुई म र हनुमान भएकोले मात्र बाकी रहेको थियो नत्र पहिले नै जलेर भष्म भैसक्ने थियो । यसरी महाभारत युद्धमा श्री कृष्णले अर्जुनलाइ बचाएका थिए । हनुमान भगवान रामको अत्यन्त ठूलो भक्त थिए । एक पटक सीतामाताले टाउकोमा सिन्दुर लगाउँदै थिइन । हनुमानले किन लगाएको भनेर सोधे । तब सीतामाताले उनी रामको धर्मपत्नी तथा परमप्रिय भएकीले लगाएकी किनकी सिन्दुर उनको असिमित प्रेम तथा आदरको प्रतिक मानिन्छ भनिन । त्यसपछि हनुमानले भगवान राम प्रति आफ्नो पूर्ण आदर तथा भक्ति भएको देखाउन आफ्नो सम्पूर्ण शरिर भरि सिन्दुर लगाए । हनुमानको यस्तो भक्तिभाव देखेर भगवान राम अत्यन्त प्रभावित हुनु भयो तथा जस्ले भविष्यमा हनुमानको सिन्दुरले सेवा आराधना गर्नेछ उनको सम्पूर्ण संकट नाश हुनेछ भनी बरदान दिए । त्यसैले आज पनि हनुमानको मूर्तिमा सिन्दुर लेपन गर्ने गरिन्छ । तानसेनको विभिन्न टोलहरुमा गरी सातवटा हनुमानका मूर्तिहरु रहेका छन । नारायणटोल, अमरनारायण फूलवारी परिसर भित्र, टक्सारटोल, शितलपाटी भगवतीटोल, विशालबजार, श्री रण उजीरेश्वरी भगवती मन्दिर परिसर भित्र तथा श्रीनगरडाँडामा रहेका छन । यस मध्ये टक्सारटोलमा रहेको हनुमानको मात्र रथ यात्रा गरिन्छ । प्रत्येक वर्ष चैत्र शुक्ल पूर्णिमाका दिन हनुमान जयन्ति मनाउने गरिन्छ । गाजाबाजा भजन मण्डलीसहितको टोलीले रथयात्रा बजार परिक्रमा गरी धूमधामका साथ मनाउँछन । यो टक्सारटोलमा रहेको हनुमानको मूर्ति पहिले एउटा सानो ढुंगालाई हनुमानको प्रतीक मानि पूजा गरिन्थ्यो रे पछि भगवतीटोल निवासी मणिध्वज मास्केले सानो मन्दिर निर्माण गरी हनुमानको मूर्ति प्रतिस्थापना गरेको अग्रजहरु बताउनु हुन्छ । त्यस्तै गरी भगवतीटोल शितलपाटीमा रहेको भीमसेन मन्दिर पछाडि एउटा सानो खोपामा सानो हनुमानको मूर्ति राखिएको छ । यो के को मूर्ति भन्ने धेरैलाइृ थाहा छैन । यो मूर्ति विसं १९७२ तिर बाल प्रसाद श्रेष्ठले चढाएको भनेर लेखिएको छ । अमरनारायण फूलवारी भित्र रहेको हनुमानको मन्दिर मेहलधाराका सनातन ब्राÞमणहरुले आफ्नो कूल देवता भनि चढाएको भनिन्छ । अहिले यो मूर्ति भएको क्षेत्र तानसेन गुठीको पहल र गठीका अध्यक्ष सरजु लिगलको सक्रियता तथा वडा नम्बर २ र सो सम्बन्धि समितिका सदस्यहरुको सहयोगमा चिटिकक बनाइएको छ नयाँ मूर्ति राखिएको छ । विशालबजारमा सत्यसाई मन्दिर परिसर भित्र राखिएको छ ।
यस मूर्तिलाई विसं २०४७ तिर लहरेपिपलका कृष्ण प्रसाद शर्माले चढाएको लेखिएकोछ । श्रीनगरमा रहेको हनुमानको मूर्ति पनि सनातन धर्मावलम्वीहरुले बनाएको भनिन्छ । रण उजीरेश्वरी भगवती मन्दिर परिसर भित्र तहविल गणेश मन्दिरसँगै रहेको हनुमान मन्दिर कस्ले बनाएको केही उल्लेख गरेको छैन । हनुमान बाँदर देवता हुन । उनी भगवान रामका परम भक्त हुन । उनलार्ई साहस, आशा, ज्ञान, बुद्धिको देवता भनिन्छ । हातमा बहादुरीको प्रतिक गडा लिएको तथा छातीमा भगवान रामको मूर्ति भएको एक हटठा कटठा स्वस्थ बाँदरको रुपमा हनुमानलाई चित्रण गरिएको हुन्छ । आफ्नो क्षेत्र वरपर हनुमानको मन्दिर बनाउनाले सो क्षेत्र भूतप्रेत पिशाच आदि बाह्य शक्तिबाट हनुमानले रक्षा गर्दछ भन्ने विश्वास गरिन्छ । अस्तु ।
(लेखक देउराली सास्कृतिक अध्ययन प्रतिष्ठान पाल्पाका अध्यक्ष समेत हुन् ।)